काठमाडौँ/सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।
इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।
इस्लाम धर्मावलम्बीहरूको लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले ईद उल फित्र अर्थात ईद मनाउने तयारी गरिरहेका छन्। रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइको आदान–प्रदानसहित उत्सवको रूपमा मनाइन्छ।
तर यस वर्ष विश्वका अरु राष्ट्रहरुमा मात्र नभई नेपाल तथा नेपालका छिमेकी मूलूक भारत, बंगलादेश लगायतका देशहरुमा इदको खुसीको बीचमा पिडा आएको छ। नेपालमा ईदकै अघिल्लो दिन राजाबादीको आन्दोलन हुँदा दुई जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घाइते भएका छन्। अर्कोतर्फ, संचारगृह, अस्पताल, व्यवसायिक प्रतिष्ठान तथा बिभिन्न कार्यालयहरुमा तोडफोड तथा आगजनी भएको छ।
जसकारण, नेपाल सरकारले पनि अवस्थालाई नियन्त्रणमा राख्ने उदेश्यले आन्दोलनको दिन काठमाण्डौको केहि क्षेत्रमा कर्फ्यु घोषणा गर्नुपरेको छ। भने, सरकारले राजाबादी आन्दोलनको नेतृत्त्वकर्ता तथा सहभागीहरुलाई पक्राउ गरिरहेको छ। जसले गर्दा परिस्थिति प्रतिकुल बन्दै गएको छ। त्यसैले नेपालमा सोमबार हुन सक्ने ईद समेत प्रभावित हुने देखिन्छ।
यस वर्षको ईद नेपालमा मात्रै नभई विश्वका कतिपय मुस्लिम समुदायका लागि खुसीभन्दा बढी पीडा र परिवर्तनको बीच आएको छ। गाजामा दोस्रोपटक ईद युद्धको छायाँमा आएको छ। इजरायल–हमास युद्ध पुनः सुरु भएसँगै गाजामा एकैपटक गरिएका आक्रमणमा सयौं प्यालेस्टैनी नागरिकको मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, युद्ध सुरु भएदेखि हालसम्म ५०,००० भन्दा बढी प्यालेस्टैनी मारिएका छन्। जसमा सर्वसाधारण तथा महिला बालबालिकाको संख्या ठुलो छ।
सिरियामा, बशर अल–असदको सत्ताबाट बहिर्गमनपछि पहिलो पटक ईद संक्रमणकालीन अवस्थाबीच मनाइँदैछ, जहाँ एकातर्फ राहतको अनुभूति भए पनि अर्कोतर्फ हिंसा र अस्थिरता कायम छ।
संयुक्त राज्य अमेरिकामा भने प्रवासी मुस्लिम समुदायले विविधतापूर्ण संस्कृतिका साथ ईद मनाउँदैछन्। यद्यपि, त्यहाँ पनि आप्रवासीहरूप्रति ट्रम्प प्रशासनद्वारा गरिएको निगरानी तथा कारबाहीका घटनाले माहोल प्रभावित भएको छ।
ईदको परम्पराअनुसार, इनडोनेसियामा “मुदिक” भनिने पारिवारिक भेटघाटको लागि लाखौं मानिस शहर छोडेर गाउँ फर्कन्छन्। मलेसियामा “ओपन हाउस” संस्कृति अन्तर्गत मिठा परिकारको साथ एकअर्कालाई स्वागत गरिन्छ। मिस्रमा ‘ईदिया’ नामक नगद उपहार र चिनीको धुलो छरिएका कुकीज बनाउने चलन छ। अमेरिका लगायत अन्य देशमा सामूहिक नमाज, खेलकुद तथा बालबालिकाका लागि विशेष कार्यक्रमहरू आयोजना गरिन्छ।
ईद अल–फित्र इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने भएकाले यस वर्ष यो पर्व खाडी तथा अन्य देशहरुमा मार्च ३० आसपास पर्ने अनुमान गरिएको छ भने नेपाल लगायतका दक्षिण एशियाका देशमा सोमबार इद पर्ने अनुमान गरिएको छ। मुस्लिम समुदायबीच ईद मुबारक वा Happy Eid भन्ने शुभकामना आदान–प्रदान गरिन्छ।
ईद अल–फित्र भनेको के हो?
ईद अल–फित्र इस्लाम धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो, जुन रमजान महिनाको समाप्तिको संकेतस्वरूप मनाइन्छ। रमजानको अवधिमा धर्मनिष्ठ मुस्लिमहरूले प्रत्येक दिन बिहानको भोरदेखि साँझको सुर्यास्तसम्म रोजा (उपवास) राख्ने गर्छन्। यो महिना ईबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ। यस अवधिमा रोजा खोलेर परिवार र मित्रसँग रमाइलो गर्ने परम्परा पनि रहिआएको छ भने आफ्नो गक्षअनुसार दान दक्षिणा गरेर पुन्य कमाउने काम पनि अधिक हुन्छ।
सामान्यतया इद को अर्थ खुसि खुसी हो। एक महिना रमजानको व्रत बसेको र यस महिनामा आफुलाई इस्लाम धर्मले बर्जित गरेको कामबाट अलग राख्न सकेको तथा धेरै भन्दा भन्दा धेरै पुन्यको काम गरेको खुसिमा ईदको खुसियाली मनाउने गर्दछन। विशेषगरि विहान ईदको नियतले नुहाएर सफा र पवित्र भएर मानिसहरु नजिकैको खुला मैदान वा तोकिएको खुला स्थानमा पुगेर ईदको नमाज पढ्ने गर्दछन।
ईदको नमाज पढ्नुअघि गक्ष भएकाहरुले तोकिएको निश्चित रकम (जकात फित्रा) अर्थात दानको रुपमा छुट्याउने गर्दछन र यस्तो रकम आफु निकटको सबै भन्दा बढी गरिबमाझ वितरण हुने गर्दछ।
त्यस्तै ईदको नमाज पढेपश्चात मानिसहरु एक आपसमा गला मिलाएर एक अर्कालाई ईदको शुभकामना दिने गर्दछन भने एक अर्कासंग माफी लिने दिने गर्दछन। त्यस्तै समुहमा वा निश्चित सदस्यहरुको एउटा समुह बनाएर सबै मानिसहरु एक अर्काको घरमा पुगेर ईदको शुभकामना दिने लिने गर्दछन। र यसरी ईदको शुभकामना दिन आउनेलाई प्रत्येक घरले मिठो मसिनो जे उपलब्ध छ त्यो खुवाएर सत्कार गर्ने गर्दछन।
भाषा र पोशाक देशअनुसारको हुने भएपनि सामान्यतया विश्वका प्रत्येक मुसलमानहरुको लागि रमजान महिना र ईदमा गरिने अभ्यास करिब करिब उस्तै हुने गर्दछ। –मोहम्मद अज्मत अलि
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित