पत्रकार महासङ्घका कार्यबाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो
काठमाडौँ / पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
नेपाल पत्रकार महासङ्घको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आज बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।
शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो ।
पत्रकार महासङ्घका कार्यबाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासङ्घ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विरोध प्रदर्शनमा पत्रकार महासङ्घका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँलेलगायतको उपस्थिती रहेको थियो । विरोधका कार्यक्रममा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपालका नेताहरूले पत्रकार रजकलाई न्याय दिन र उहाँका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो ।
बदलिएको परिस्थितिका कारण महासङ्घ स्थापना दिवसका अवसरमा गर्न लागिएका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको महासङ्घका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजै पत्रकार महासङ्घको उपलब्ध केन्द्रीय सदस्यहरूको आकस्मिक बैठक बसेर थप सङ्घर्षका कार्यक्रम तय गर्ने र सञ्चार तथा सूचनाप्रविधिमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउनेलगायका कार्यक्रम महासङ्घले गर्नेछ ।
काभ्रेपलान्चोक। पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनी लगायतका ज्यादतीविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाले बनेपामा बिरोध सभा गरेको छ ।
काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा भएको पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध महासङ्घले बनेपामा सभा गरेको हो ।
विरोध र्याली बनेपाको चारदोवाटो हुँदै चाँदनीचोक पुगेर सभामा परिणत भएको थियो ।
सभामा महासंघका पुर्व अध्यक्षहरु भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौडेल, मोतीराम तिमल्सिना, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका पुर्व अध्यक्ष रोजन तामाङ, फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, सन्चारिका समुह काभ्रेका अध्यक्ष सुनिता सापकोटा, राष्ट्रिय फोटो पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष केशवराज पौडेल, सामुदायिक रेडियो प्रशारक मन्चका जिल्ला संयोजक रमेशप्रसाद न्यौपाने, नेपाल तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष लोकबहादुर तामाङ लगायतले प्रेस माथी भएका आक्रमण र हत्याको भत्सर्ना गर्दै स्वतन्त्रतापुर्वक सञ्चारकर्म गर्ने अवस्था सृजना गर्न अनुरोध गरेका थिए ।
अध्यक्ष विनोद कुमार न्यौपानेले पत्रकार सुरेश रजकप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सञ्चारकर्मीको आवाज जति दबाउने कोसिस गरेपनि संचारकर्मीका कलम नरोकिने बरु आवाज अझै बुलन्द हुने बताए ।
विरोध प्रदर्शनमा सहभागीहरुले ‘पत्रकार सुरक्षाको ग्यारेन्टी गर’, ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘स्ट्याण्ड्स फर प्रेस फ्रिडम’ र ‘पत्रकारमाथिको दमन बन्द गर’ लेखिएका प्ले कार्ड बोकेका थिए
चितवन / नेपाल पत्रकार महासङ्घ चितवन शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथिको भएको आक्रमणमो विरोधमा प्रदर्शन गरेको छ ।
प्रदर्शनपछि आयोजित सभामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् चितवन शाखाका सल्लाहकार नारायण अधिकारीले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव एवम् चितवन शाखाका सल्लाहकार राधेश्याम खतिवडाले पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमण अक्षम्य अपराध भएको बताउनुभयो । त्यसअवसरमा चितवन शाखाका अध्यक्ष वसन्त पराजुली, प्रेस चौतारी नेपाल बागमती प्रदेशका अध्यक्ष तिलकराम रिमाल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष टीकादत्त तिमिल्सनालगायतले घटनाको विरोध गर्दै अराजक तत्वलाई कारबाहीको माग गर्नुभयो ।
विरोध प्रदर्शनमा सहभागीहरुले ‘पत्रकार सुरक्षाको ग्यारेन्टी गर’, ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘स्ट्याण्ड्स फर प्रेस फ्रिडम’ र ‘पत्रकारमाथिको दमन बन्द गर’ लेखिएका प्ले कार्ड बोकेका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित