बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकका पुराना तीन नगर बनेपा, पनौती र धुलिखेलमा सञ्चालित खानेपानी आयोजना पुनर्निर्माणका विषयमा एशियाली विकास बैंक (एडिबी) ले चासो दिएको विषयमा मन्त्रालयले ताकेता गरी छिटो निर्माण कार्य अघि बढाइने
काभ्रेपलाञ्चोक / उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डगमगाउन दिन नहुने बताउनुभएको छ ।
बनेपा नगरपालिकाको ४४औं स्थापना दिनवस समारोहलाई सम्बोधन गर्दै उहाँले जनताको अधिकार खुम्च्याउन कसैले भाषण गरेकै भरमा डगमगाउन दिन नहुने बताउनुभएको हो।
“सङ्घीय लोकतान्त्रिक-गणतान्त्रिक संविधान कार्यान्वयन तथा अभ्यासका क्रममा केही कमीकमजोरी देखापरे यसका बिधि-नीति परिवर्तन गर्न सकिन्छ, यसबाहेक कुनै विकल्प छैन, जनताको अधिकार खुम्च्याउन कसैले भाषण गरेकै भरमा व्यवस्था डगमगाउन दिन हुँदैन, सिंहले भन्नुभयो ।
उहाँले अहिलेको कसैको दानमा नआएको उल्लेख गर्दै वर्तमान संविधानमा मरिमार्जन गर्नुपरे सबै पक्षसँग छलफल गरेर मात्रै अघि बढ्ने बताउनुभयो । मन्त्री सिंहले लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात ‘केही भएको छैन’ भन्ने भाष्य स्थापित गर्दै दुष्प्रचारमा लागेकाप्रति नागरिकहरु पनि चनाखो हुनुपर्ने बताउनुभयो ।
“के भएको छ के भएको छैन, सबै नागरिकले देख्नुभएको छ, भएको र नभएको कुरा गर्न हिच्किचाउन हुन्न, जे देखेको हो त्यही भन्नुस्”, उहाँको आग्रह थियो।
स्थानीय तहका विकास-निर्माण आयोजनाका काममा स्थानीय नागरिकलाई सहभागिता गराउन उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘योजनाको नीति-विधिअनुसार योजना कार्यान्वयन गर्नुस्, अनि ती योजनामा स्थानीयलाई सहभागिता गराउनुभयो भने योजनाको बारेमा थाहा हुन्छ, समस्या तथा चुनौतिबारे पनि उहाँहरुले थाहा पाउनुहुन्छ, अनि कसरी विरोध हुन्छ !’
मन्त्री सिंहले स्मार्ट सिटी निर्माणको प्रसङ्गमा नेपालको सन्दर्भमा कस्तो बनाउने भन्नेबारे ‘ग्लोबल, रिजनल र इन्टरनेशनल’ अभ्यासका ‘सूचक’ बारे बुझेर मात्रै अघि बढ्ने बताउनुभयो । “सबै बुझेर एक प्रकारको सूचक बनाउँछौं, यसपछि मन्त्रीपरिषदबाट पारित भएपछि मात्रै कार्यान्वयनमा जानेछौं, उहाँले भन्नुभयो ।
बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकका पुराना तीन नगर बनेपा, पनौती र धुलिखेलमा सञ्चालित खानेपानी आयोजना पुनर्निर्माणका विषयमा एशियाली विकास बैंक (एडिबी) ले चासो दिएको विषयमा मन्त्रालयले ताकेता गरी छिटो निर्माण कार्य अघि बढाइने उहाँले बताउनुभयो ।
सो अवसरमा नगरप्रमुख शान्तिरत्न शाक्यले नगरको विकास निर्माणका काममा सबै पक्षसँग हातेमालो गर्दै अघि बढेको बताउँदै हाल नगरको १४ वटा वडामा करिब एक हजार पाँच सय योजना सञ्चालन भएको जानकारी गराउनुभयो ।
नगरको स्थापना दिवसकै अवसरमा नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गरेको छ। नगरका कर्मचारी, शिक्षामा योगदान दिने व्यक्तित्वहरू, खेलकुद तथा कृषिमा उत्कृष्ट कार्य गर्ने किसानहरू, साथै एसईईदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
सो अवसरमा हालैमात्र काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका प्रा. डा. अच्युतप्रसाद वाग्लेलाई विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्राडा अच्युतप्रसाद वाग्ले, बाग्मती प्रदेशसभा सदस्यत्रय कञ्चनचन्द्र बादे, तिर्थ लामा र रुकु चौँलागाई, नेपाल उद्योग बाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्य, नेपाली कांग्रेस बनेपा नगर समिति सभापति महेश कर्माचार्य, नेकपा एमालेका नगर अध्यक्ष नवराज मानन्धर, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष सिताराम दाहाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित