काठमाडौं/ रोटरी क्लब अफ मातृभूमि बालुवाटारले पानीपोखरीस्थित सडकमा राखेको डिजिटल डिस्प्ले
बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लेखिएको घटनाको अनुसन्धानका लागि प्रहरीलाई जानकारीसहित अनुरोध गरेको उल्लेख गरेको छ।
आज अपराह्न प्रधानमन्त्रीविरुद्ध ‘देश छोड’ भन्ने नारा डिजिटल बोर्डमा डिस्प्ले भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले सो भिडियो पोस्ट गरेका थिए । धेरै अनलाइनहरुले समाचारसमेत बनाएका थिए । घटनालगत्तै रोटरी क्लवले प्रहरीलाई जानकारी गराएको हो।
‘कसैले डिजिटल बोर्ड ह्याक गरेर उक्त नारा डिस्प्ले हुन पुगेको’ क्लबका पूर्वअध्यक्ष बिष्णुहरी दाहालले बताएका छन्। यस घटनाले रोटरी क्लबलाई दुःखी बनाएको समेत उनको भनाई छ ।
घटनालगत्तै बोर्डको पावर अफ गरिएको थियो भने महाराजगन्ज प्रहरी बृत्त, वडा कार्यालय र नेपाल प्रहरीको प्रधान कार्यालयको सुचना निर्देशनालयमा समेत निवेदन दर्ता गरेर घटनाको थप अनुसन्धानका लागि पहल गरिएको दाहालले जानकारी दिए ।
यसैवीच, क्लबका अध्यक्ष राजु श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत सो क्लब साइबर सुरक्षाका विषयामा गम्भीर रहेको र घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग सहकार्य गरिरहेको बताएका छन् ।
मुलुकभर यतिखेर १५७ वटा रोटरी क्लबहरु रहेका छन् । यीमध्ये धेरै क्लबहरु आफैंले र कतिपयले संघसंस्था तथा स्थानीय तहसँगको सहकार्यमा सर्भिस प्रोजेक्टका रुपमा डिजिटल बोर्ड स्थापना गरेका छन् ।
अधिकांश डिजिटल बोर्डहरुमा स्थापनाकालकै ‘डिफल्ट पासवर्ड’ ले काम चलाइएको हुन सक्ने र सजिलै ‘ह्याक’ हुन सक्ने जोखिमसमेत बढेको बताइन्छ ।
सहकार्यमा स्थापना भएका डिजिटल बोर्डहरु सर्भिस प्रोजेक्ट सम्पन्नसँगै सहकार्य गर्ने संघसंस्था तथा स्थानीय तहलाई हस्तान्तरण हुने प्रचलन रहेको हुँदा रोटरी भन्दा पनि ती निकायहरुको बढी जिम्मेवारी रहने बताइन्छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित