महोत्सवमा ‘हिरादेखी जिरासम्म र सुनदेखी नुन’ सम्म रहने
पनौती / पनौतीमा चैत २१ गतेदेखि वैशाख ३ गतेसम्म सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ ।
राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजना तथा पनौती उद्योग वाणिज्य संघको सहकार्यमा महोत्सव आयोजना गरिएको हो । संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिले व्यवस्थापन गर्ने महोत्सवको संरक्षकमा पनौती वडा नं. ७ रहेको छ ।
पनौतीको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, साँस्कृतिक, औद्योगिक, हस्तकलालाई प्रबर्द्धन गर्ने, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले चैते दशैं तथा नव वर्ष २०८२ को पावन अवसरमा महोत्सव आयोजना गरिएको राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष नमराज ढुङ्गानाले जानकारी दिए ।
महोत्सवबारे जानकारी दिन सोमबार पनौतीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ढुङ्गानाले महोत्सवमा कृषि, घरेलु सामाग्री लगायतका ६० भन्दा बढी व्यापारिक स्टल रहने वताए । पनौतीका सबै वडाका लागि एक-एक वटा स्टल निःशुल्क उपलब्ध गराइने ढुङ्गानाले जानकारी दिए ।
बालबालिकाहरुको मनोरञ्जनको लागि बालउद्यानको समेत व्यवस्था गरिनुका साथै प्रत्येक दिन राष्ट्रिय स्तरको कलाकार सम्मिलित साँस्कृतिक कार्यक्रमको आयोजना हुनेछ । जिल्ला भित्रका नव प्रतिभावान् कलाकारहरुलाई विशेष प्राथमिकता दिइने उनले जानकारी दिए ।
महोत्सवमा ‘हिरादेखी जिरासम्म र सुनदेखी नुन’ सम्म रहने आयोजकले जनाएको छ । जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई प्रवेश निशुल्क हुनेछ भने अन्यका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ६० रुपैयाँको टिकट दर तोकिएको छ ।
पत्रकार सम्मेलनमा पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले पनौतीको प्रचार र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय काम हुन नसकेको अवस्थामा महोत्सवले पर्यटन प्रवर्द्धनका लागि सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले पनौतीको चहलपहल बाह्र बर्षे मकर मेलाको समयमा मात्रै हुने गरेकोमा यस्ता महोत्सवले पनौतीमा आर्थिक चहलपहल बढाउन, स्थानीय उत्पादनको बजारीकरण गर्न, स्थानीय कला संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न भूमिका खेल्ने वताए ।
वडा नं ७ का अध्यक्ष सविन ताम्राकारले पनौतीको कला सम्पदाको प्रचारमा महोत्सवले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित