राष्ट्र बैंकद्वारा आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटका लागि सुझाव संकलन 

सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्ने घाटाको बजेट ल्याएर कुनै काम छैन

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि वीरगञ्जका उद्योगी/व्यवसायीसँग सुझाव संकलन गरेको छ । 

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज आगामी आवको लागि पूर्व बजेट कालिन अन्तरक्रिया गरी आगामी बजेटमा समावेश गर्नुपर्ने विषयका सन्दर्भमा सुझाव संकलन गरेको हो । 

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले पछिल्लो समय उद्योगी–व्यवसायीको मनोबल खस्किएकाले आगामी आवको बजेटमार्फत मनोबल उकास्ने खालको बजेट ल्याउन अनुरोध गरेका छन् । 

‘‘सरकारी निकायले बर्सेनि बजेट पूर्व र बजेटपछि यहाँका उद्योगी/व्यवसायीसँग सुझाव संकलन गर्न आउने भए पनि यहाँका उद्योगी/व्यवसायीका मुद्दालाई भने नसमेट्ने तितो यथार्थ छ’’, उनले भने, ‘‘नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार भएकाले पक्कै यसपालि दिएका सुझाव कार्यान्वयन हुने अपेक्षा राखेका छौँ ।’’ 

अध्यक्ष अग्रवालले सरकार र निजी क्षेत्रबीच विश्वासको अभाव भएकाले निजी क्षेत्रको मनोबल क्रमश: घट्दै गइरहेको बताए । ‘‘जब उद्योगी व्यवसायीको मनोबल खस्किन्छ । तब मुलुकको आर्थिक विकासको  परिकल्पना गर्न सकिँदैन’’, उनले भने, ‘‘सरकारले एकद्वार प्रणालीबाट राजस्व संकलन गर्ने प्रणालीको विकास गर्न जरुरत छ ।’’ 

अर्थशास्त्री दीपेन्द्रकुमार चौधरीले सरकारले घाटाको बजेट ल्याउनुभन्दा यथार्थपरक र वस्तुनिष्ठ बजेट ल्याउन सुझाव दिनुभयो । ‘‘सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्ने घाटाको बजेट ल्याएर कुनै काम छैन,’’ उनले भने ‘‘वस्तुपरक र यथार्थ बजेट ल्याएर कार्यान्वयन गर्न जरुरी छ ।’’ 

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले वीरगञ्ज महानगरसँग पर्याप्त कृषियोग्य जमिन भए पनि आवश्यक स्रोतको अभाव भइरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत कर्णले वीरगञ्जबाट मुलुकले सबैभन्दा धेरै राजस्व संकलन गर्ने भए पनि वीरगञ्जको पूर्वाधार र अन्य क्षेत्रको विकासमा संघीय सरकारले बेवास्ता गरेको आरोप लगाए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले सरकारले हचुवाको भरमा बजेट ल्याउने र कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको औँल्याए ।

नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका निर्देशक सत्येन्द्रराज सुवेदीले उद्योगी व्यवसायीले दिएका सुझावलाई लिपिबद्ध गरेर सरकारलाई हस्तान्तरण गर्ने बताए । ‘‘यहाँका उद्योगी–व्यवसायीले निकै व्यवहारिक खालका सल्लाह र सुझाव दिनुभएको छ । त्यसलाई हामीले आफ्नो प्रतिवेदनमा समावेश गरेर सरकारलाई हस्तान्तरण गर्नेछौँ’’, उनले भने। 

राष्ट्र बैंकका उपनिर्देशक विष्णुप्रसाद सुवेदीले बजेट सुझाव सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्र बैंकका वीरगञ्ज कार्यालय प्रमुख सुशील पौडेलले यस्ता छलफलमूलक कार्यक्रमले बजेट निर्माणमा मार्ग निर्देश गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments