एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह

भक्तपुर/बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भोलि चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिँदै भन्नुभयो, “परीक्षाको सम्पूर्ण तयारी पूरा गरेका छौँ, सबै जिल्लाबाट परीक्षाको तयारी पूरा भएको र कुनै पनि केन्द्रमा कुनै समस्या नभएको जानकारी आएको छ । त्यसैले सबै परीक्षार्थीले भोलि बिहान ८ बजेदेखि आफ्नो परीक्षा केन्द्रमा पुगेर निर्धक्क भएर परीक्षा दिन सबैमा आह्वान गर्दछु ।”

बोर्डले एसइई परीक्षाका लागि आवश्यक प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा यसअघि नै पुर्याइसकेको छ ।

उहाँले यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिने जानकारी दिनुभयो । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको छ ।

नियन्त्रक पौडेलले प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको बताउँदै उहाँले देशभर परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन सरोकारवाला सबैमा आह्वान गर्नुभयो ।

परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराख्ने भएको छ ।

यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थीले एसइई परीक्षा दिने र काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआइभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् ।

यस वर्ष सबैभन्दा बढी काठमाडौँमा ३९ हजार छ सय विद्यार्थी र सबैभन्दा कम मनाङ्मा ४३ जनाले परीक्षा दिने भएका छन् ।

यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अङ्ग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अङ्ग्रेजी (इलेक्टिभ इङ्लिस)को परीक्षा हुनेछ ।

चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ ।

१३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ ।

बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् ।

लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।


एसइई परीक्षा धैर्यताका साथ दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी भोलिदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गर्नुभएको हो ।

“विद्यार्थी भाइबहिनीहरू यही चैत ७ गतेदेखि एसइईको परीक्षा सुरू हुँदैछ । तपाईंहरू त्यसैको तयारीमा जुट्नु भएको छ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “त्यसकारण तपाईंहरूसँग खेर फाल्ने समय छैन । राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुहोस् । मेरो धेरै धेरै शुभकामना छ ।”

Lahachhap

प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गार्‍हो हुने भएकाले त्यसबाट जोगिनसमेत आग्रह गर्नुभएको छ । उहाँले विद्यार्थीले धेरै परीक्षा उत्तीर्ण गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिनु पनि आग्रह गर्नुभएको छ ।

“पहिले पहिले एसएसलीलाई फलामे ढोका भन्थ्ये । त्यो शब्दले पनि विद्यार्थीमा अलिकति त्रास पैदा हुन्थ्यो । तपाईंहरू परीक्षासँग नतर्सिनुहोस्,” प्रधानमन्त्रीले भन्नुभएको छ, “परीक्षा जीवनका कदमकदम मोडमोडमा आइरहने चीज हो । धेरै परीक्षा उत्तीर्ण गरेर तपाईहरू यहाँ आइसक्नुभएको छ ।”

प्रधानमन्त्री ओलीले अघिल्ला वर्ष एसइईको नतिजा त्यति राम्रो नभएको भन्दै यसपटक आफूले विद्यार्थीसँग राम्रो नतिजाको अपेक्षा गरेको समेत बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments