पर्सा/ सर्वोच्च अदालतले वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारविरुद्धको रिट खारेज गरेसँगै वीरगञ्ज महानगरले थप काम अगाडि बढाउने विषयमा छलफल सुरु गरेको छ ।
आज सडक क्षेत्रमा पर्ने सम्बन्धित सरकारी कार्यालयका प्रमुखसँग छलफल गरी सडक विस्तार कार्यमा सहयोग गर्न महानगरले आग्रह गरेको छ ।
महानगर प्रमुख राजेशमान सिंहले सर्वाेच्च अदालतले सडक विस्तारविरुद्ध परेको रिट लामो समयपछि खारेज गरेकामा खुसी व्यक्त गर्दै सडक डिभिजन कार्यालय हेटौँडाको पहलमा सडक विस्तार अभियानलाई सघाउन महानगर तयार रहेको बताउनुभयो ।
“पहिलो चरणमा सरकारी कार्यालयले आफ्ना संरचना हटाइदिए सर्वोच्चको फैसला कार्यान्वयनमा सहज हुने थियो । महागरले सडक चौडा गर्ने अभियानलाई अघि बढाउन सम्पूर्ण रूपमा सहयोग गर्छ, यहाँहरूबाट पनि सोही अपेक्षा छ”, उहाँले भन्नुभयो ।
महानगरले सडक विस्तार अघि बढाउने विषयमा छलफल अघि बढाए पनि सर्वोच्च अदालतको पूर्णपाठ नआइकन काम अगाडि बढाउँदा समस्या हुनसक्ने विषयमा पनि छलफल भएको छ ।
सर्वोच्चका अदालतका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत बुधबार रिट निवेदकहरूका पाँच वटै रिट खारेज गरेसँगै डिभिजन सडक कार्यालय हेटौँडालाई यहाँको मुख्य सडक दायाँबायाँ २५–२५ मिटर चौडा गर्ने बाटो खुलेको छ ।
वीरगञ्जका छुट्टाछुट्टै पाँच घरधनी निवेदकले विभिन्न मितिमा वीरगञ्जको सडक विस्तार गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
वीरगञ्ज महानगरका लक्ष्मण साह रौनियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर २०७६ सालमा सडक विस्तार रोक्नुपर्ने माग राख्दै रिट दायर गर्नुभएको थियो ।
अन्य निवेदकहरूले पनि फरक–फरक मितिमा सडक विस्तारविरुद्धमा रिट दायर गरेका थिए । त्यसपछि त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डाकचोकदेखि पावर हाउसचोक, घण्टाघरचोकदेखि आर्दशनगर, रजतजयन्तीचोक, शङ्कराचार्यगेट हुदैँ मितेरी पुलसम्मको मुख्य सडक विस्तारको काम रोकिएको थियो ।
आजको बैठकमा उपस्थित सरोकार भएका निकायका प्रतिनिधिले क्षेत्राधिकारभित्र पर्ने दायाँबायाँ २५÷२५ मिटरभित्र पर्ने आफ्ना संरचना हटाउन समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसअघि वीरगञ्ज भन्सार कार्यालय, नारायणी सिँचाइ कार्यालय र नेपाल बैंक लिमिटेड सिटी अफिस वीरगञ्जले सडक क्षेत्राधिकार छाडेर आफ्ना संरचना निर्माण गरिसकेका छन् । अन्य सरकारी कार्यालयले पनि आफ्ना संरचना हटाउने प्रतिबद्धता जनाएका छन् ।
बैठकमा सडक सीमा निर्धारण, संरचना हटाउने प्रक्रिया, सार्वजनिक सेवा प्रवाहमा अवरोध हुन नदिन र अन्य प्राविधिक विषयमा व्यापक छलफल भएको थियो । नेपाल टेलिकमका प्रतिनिधि रामप्रसाद शर्माले टेलिकमका संवेदनशील उपकरण तथा नेटवर्किङ तार व्यवस्थापनका लागि थप केही समय लाग्ने बताउनुभयो ।
डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले बैठकले अति संवेदनशील कार्यालयबाहेक अन्य कार्यालयले तत्कालै स्वःस्फूर्त रूपमा सडक सीमाभित्रपर्ने संरचना स्थानान्तरण गरी बाटो विस्तारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित