सिन्धुपाल्चोकका महिलाको टोली ‘द ग्रेट हिमालयन ट्रेल’ पदयात्रामा

पदयात्रा टोलीका नेतृत्वकर्ता माया गुरुङले आज फक्ताङलुङ गाउँपालिका अध्यक्षसँग भेट गरी पर्यटन प्रवर्द्धनका सम्भावनाबारे छलफल गर्ने बताउनुभयो

ताप्लेजुङ / नेपाललाई साहसिक पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले सिन्धुपाल्चोकका महिलाको एक टोली ‘द ग्रेट हिमालयन ट्रेल’ (जिएचटी) को पद्यात्राका लागि ताप्लेजुङ आइपुगेको छ ।

कूल १३ सदस्यीय टोली सिन्धुपाल्चोकबाट यात्रा प्रारम्भ गर्न ताप्लेजुङ आइपुगेको हो । आइतबार पाथीभराको दर्शन गरेपछि टोली आज बिहान सदरमुकाम फुङ्लिङबाट फक्ताङलुङ गाउँपालिकातर्फ प्रस्थान गरेको छ । टोलीमा १९ वर्षीया सिन्धुपाल्चोककी प्रमिता सापकोटा र ६५ वर्षीय दाङका सुन्दरकुमार चौधरीसमेत सहभागी रहेका छन् । टोलीमा १२ जना महिला छन् ।

पदयात्रा टोलीका नेतृत्वकर्ता माया गुरुङले आज फक्ताङलुङ गाउँपालिका अध्यक्षसँग भेट गरी पर्यटन प्रवर्द्धनका सम्भावनाबारे छलफल गर्ने बताउनुभयो । नेपाली महिलाको साहसिक पर्यटनमा सहभागिता अभिवृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्यका साथ पदयात्रा सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

एक सय दिनको यात्रामा टोलीले हिमाली पदमार्ग पार गर्दै नेपालको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको प्रचार गर्नेछ । पदयात्राका लागि प्रत्येक सदस्यले अनुमानित रु १५ लाख खर्च गर्ने बताइएको छ । पदयात्रामा ११ जना सहयोगी छन् ।

पदयात्रामा सिन्धुपाल्चोककै सङ्गीता विश्वकर्मा, दीपा लामिछाने, शान्ति थिङ तामाङ, सरस्वती तामाङ, रञ्जिता लामा, वर्षा विक, सङ्गीता तामाङ, प्रमिता सापकोटा, सृष्टि तामाङ, मनमायामा तामाङ र अनिशा श्रेष्ठ छन् । टोलीलाई आज बिहान स्थानीय होटल व्यवसायीले स्वागत तथा बिदाइ गरेका थिए । नेपाललाई साहसिक पदयात्राको केन्द्रविन्दु बनाउन महिलाको सहभागितासहितको यस्तो पहल प्रेरणादायी कदम बन्ने होटल व्यवसायीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments