विचारः

मुलुकले बिर्सनै नहुने ऐतिहासिक पात्र– सरदार रुद्रराज

राणाशासन रहँदा र प्रजातन्त्र आएपछि पनि उहाँको दायित्वमा कुनै फरक परेन । उहाँले २००७ देखि २०१५ सालसम्म सक्रिय भई सरकारबाट प्राप्त भएका दायित्वहरू कुशलतापूर्वक निर्वाह गर्नुभयो । २०१५ सालको नेपालको प्रथम आमचुनावको समयमा निर्वाचन आयुक्त भई निर्वाचन सम्पन्न गराउन उहाँले खेलेका भूमिका सराहनीय रहेको छ । निर्वाचनप्रति जनचेतना बढाउने खालका नाटक नै मञ्चन गराउनुलाई त्यतिबेला प्रशंसनीय कार्य ठानिएको थियो ।

प्राडा तीर्थप्रसाद मिश्र

नेपाल गौरवपूर्ण अतीत भएको मुलुक हो । यस देशको वैभव तथा छवि उजिल्याउन इतिहासको कालखण्डमा धेरै व्यक्तित्वहरूको योगदान, त्याग, बलिदान, प्रतिबद्धता र समर्पण रहिआएको छ । यस्ता व्यक्तित्वहरूले हिजो गरेका कार्यहरूबाट भएका उपलब्धिहरू आजको पुस्तालाई जानकारी गराउनैपर्ने भएको छ । हामी सबैले हिजोलाई स्मरण गरी इतिहासलाई सम्मान गर्नैपर्ने हुन्छ । यस्तै तथ्यलाई आत्मसात् गरी सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा उहाँले नेपालको शैक्षिक, साहित्यिक तथा आध्यात्मिक क्षेत्रमा लगाएका गुणहरू स्मरण गर्नुपर्ने हुन्छ ।

पृथ्वीनारायण शाहकै एकीकरण अभियानमा पाण्डेहरू सरिक भएका थिए । गोरखालगायत केही चौबिसी राज्यहरूमा पाण्डेहरू राजगुरु रहेको इतिहासले बताउँछ । नवनेपाल निर्माण भएपछि शाह राजाका विश्वासपात्र गुरु हुन पुगेका रुद्रराज पाण्डेका पुर्खा तानसेनको धर्मपानीबाट राजधानीको मुटु प्युखामा स्थायी बसोबास गर्न थाल्नुभएको थियो । यसै वंशका पद्मराज पाण्डेका पुत्ररत्नका रूपमा १९५७ साल फागुन २६ गते रुद्रराज पाण्डेको जन्म भएको थियो । राजगुरु घराना खलकले संस्कृत शिक्षा आर्जन गर्ने तत्कालीन परम्पराअनुसार तीनधारा पाठशालामा रुद्रराज पाण्डेले अध्ययन प्रारम्भ गर्नुभयो ।

उतिबेला राणा परिवार र केही हुनेखाने वर्गका मानिस मात्र त्यतिबेलाको दरबार स्कुलमा अङ्ग्रेजी शिक्षा पढ्न आकर्षित हुन थालेका थिए । यसैअनुसार रुद्रराज पाण्डे दरबार स्कुलमा भर्ना भई १९७५ सालमा प्रथम श्रेणीमा ‘म्याट्रिक’ उत्तीर्ण गर्न सफल हुनुभयो । त्यतिबेला दरबार स्कुलले कलकत्ता विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको हुँदा परीक्षा दिन चाहिँ कलकत्ता नै जानुपर्ने थियो । उक्त समय म्याट्रिक पास गर्ने व्यक्ति औँलामा गन्न सकिने मात्र थिए । तसर्थ, म्याट्रिक उत्तीर्ण हुनेलाई ठूलो सम्मान गर्ने चलन थियो । राणा खलकले रु एक हजारको दोसल्ला पाउँथे भने अरूलाई रु ३०० को दोसल्लाबाट सम्मानित गरिन्थ्यो । यसबाट राणाशासन कालमा शासक र जनसाधारण बीचमा विभेदकारी नीति रहेको बुझ्न सकिन्छ । सरकारी छात्रवृत्तिमा नै पाण्डेले इलाहाबाद विश्वविद्यालयबाट १९८१ सालमा इतिहासमा स्नातकोत्तर उत्तीर्ण गरेपछि इतिहासमा एमए गर्ने पहिलो नेपाली व्यक्ति बन्नुभयो ।

विसं १९८२ देखि नै उहाँले त्रिचन्द्र कलेजमा इतिहास विषयको प्राध्यापक नियुक्त भई दरबार स्कुलमा समेत अध्यापन गर्न प्रारम्भ गर्नुभयो। कालान्तरमा उहाँ त्यही दरबार स्कुलको पहिलो नेपाली ‘हेडमास्टर’ बन्न पुग्नुभयो । पाण्डेकै अनवरत प्रयासबाट त्रिचन्द्र कलेजमा नेपाली विषयको पठनपाठन सुरु भयो । त्रिचन्द्र कलेजले सुरुमा कलकत्ता र पछि पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो । साथै, नेपालमा नै एसएलसी परीक्षा दिन पाउने व्यवस्था उहाँले नै प्रारम्भ गराउनुभएको थियो ।

१९९५ सालमा त्रिचन्द्र कलेजको प्राचार्य भई कला र विज्ञानका विभिन्न थप विषय अध्यापन प्रारम्भ गराउने कार्य पनि उहाँबाटै भएको देखिन्छ । हाइस्कुल र कलेज दुवैतिरको शिक्षालाई प्रभावकारी कार्यान्वयन गराउने कार्यमा उहाँले कहिल्यै कमी आउन दिनु भएन । एक कुशल शिक्षक, प्राध्यापक र शैक्षिक प्रशासकका रूपमा आफ्नो योग्यता देखाएकै कारण राणा शासकले पनि उहाँप्रति कहिल्यै वक्रदृष्टि राखेनन् । १९९७ सालको विद्यार्थी आन्दोलनको समयमा उहाँले खेलेको भूमिकाको मानिसले आजसम्म स्मरण गरिरहेका छन् । जयतु संस्कृतम् आन्दोलनका कारण परीक्षा दिन जान नपाएका विद्यार्थीहरूलाई नेपालमै परीक्षा दिने व्यवस्था मिलाउन उहाँ सफल हुनुभयो । २००७ सालको परिवर्तनपश्चात् शिक्षा सचिव र पुरातत्व विभागका निर्देशक भई उहाँले गरेको योगदान उल्लेख्य रहेको छ ।

राणाशासन रहँदा र प्रजातन्त्र आएपछि पनि उहाँको दायित्वमा कुनै फरक परेन । उहाँले २००७ देखि २०१५ सालसम्म सक्रिय भई सरकारबाट प्राप्त भएका दायित्वहरू कुशलतापूर्वक निर्वाह गर्नुभयो । २०१५ सालको नेपालको प्रथम आमचुनावको समयमा निर्वाचन आयुक्त भई निर्वाचन सम्पन्न गराउन उहाँले खेलेका भूमिका सराहनीय रहेको छ । निर्वाचनप्रति जनचेतना बढाउने खालका नाटक नै मञ्चन गराउनुलाई त्यतिबेला प्रशंसनीय कार्य ठानिएको थियो ।

विसं २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयको प्रभावकारी संरचना र शैक्षिक कार्यक्रमको उन्नयनका लागि राजा महेन्द्रले २०२२ सालमा रुद्रराज पाण्डेलाई उपकुलपति नियुक्त गरे । त्रिभुवन विश्वविद्यालयको शैक्षिक कार्यक्रम विस्तार र भौतिक पूर्वाधार सिर्जना गर्न उहाँको कार्यकाल कोसेढुङ्गा साबित भएको छ । उहाँले त्रिपुरेश्वरस्थित पाहुनाघरमा रहेको केन्द्रीय कार्यालय कीर्तिपुरस्थित स्मृति भवनमा स्थानान्तरण गरी व्यवस्थित गराउनुभयो ।

लालदरबारमा रहेको केन्द्रीय पुस्तकालय कीर्तिपुरमा नवनिर्मित भवनमा सार्नुभयो। नेपाल अध्ययन संस्थान (कालान्तरमा नेपाल र एसियाली अध्ययन संस्थान हुँदै हाल नेपाल र एसियाली अनुसन्धान केन्द्र भएको छ) र सेडाको गठन उहाँकै कार्यकालमा भएको तथ्य स्मरणीय छ । उहाँकै कार्यकालमा विज्ञान सङ्कायमा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमहरू थपिए । छात्रावास, गान्धीभवन, रोज गार्डेन आदि उहाँकै समयमा निर्माण भएका थिए । राजा महेन्द्रले चाहँदाचाहँदै पनि उहाँले पुनः त्रिविको उपकुलपति हुन अस्वीकार गर्नुभयो ।

रुद्रराज पाण्डेलाई लोकले एकजना मूर्धन्य साहित्यकारका रूपमा पनि प्रतिस्थापित गरेको छ । लेखनाथ पौडेल, शम्भुप्रसाद ढुङ्गेल, कृष्णलाल अधिकारी आदि साहित्यकारसँग उहाँको उठबस थियो । विद्यार्थीकालमा नै चन्द्रिका र सूक्तिसिन्धु जस्ता पत्रिकामा उहाँका कविताहरू प्रकाशित भएका थिए । उहाँले रचना गरेको रूपमती उपन्यास नेपालको इतिहासमा पहिलो मौलिक उपन्यास बन्न पुगेको छ । रूपमती उपन्यासले तत्कालीन नेपाली समाजको राम्रो चित्रण गर्न सफल भएको छ ।

अतः उक्त उपन्यासलाई इतिहासको स्रोतका रूपमा लिने पनि गरिन्छ । उक्त उपन्यास अङ्ग्रेजी र उर्दू भाषामा समेत अनुवाद हुनुले उनको उपन्यासकारितालाई प्रस्ट्याउन मद्दत पुगेको छ । चम्पाकाजी, प्रायश्चित र प्रेमजस्ता उपन्यास पनि नेपाली साहित्यानुरागीहरूले कोसेली पाएका छन् । नेपालको गौरवपूर्ण अतीतको परिचय गराउने हाम्रो गौरवः हाम्रो नेपाल र नवरत्न जस्ता कृतिहरूले पाठकको मन छोएका छन् ।

यसैगरी, बालबालिकाहरूका लागि बालरामायण, बालकृष्णचरित्र, नीतिकथा जस्ता कालजयी कृतिहरू प्रकाशन भएका छन् । त्रिचन्द्र कलेज र दरबार स्कुल दुवैतिर इतिहास विषयको पठनपाठन भए तापनि नेपाली भाषामा इतिहासका कुनै पुस्तक नै थिएनन् । यसैले पाठ्यपुस्तकहरूको अभाव हटाउन रुद्रराज पाण्डेले बेलायतको र भारतको इतिहास लेख्नुभएको थियो । यसबाट विद्यार्थीहरू मात्र होइन, इतिहासका शिक्षकसमेत लाभान्वित भएका थिए । गोरखा भाषा प्रकाशनी समिति (पछि नेपाली भाषा प्रकाशनी समिति भएको) यी दुवैमा रही नेपाली भाषाका विभिन्न विधाका पुस्तक प्रकाशन गर्न पनि उहाँको सहयोगी भूमिका रहेको थियो । उहाँ शारदा पत्रिकाको प्रकाशन कार्यमा तन, मन र धनले खटिनुभएको थियो ।

उहाँ एक आध्यात्मिक चिन्तक पनि हुनुहुन्थ्यो । प्युखास्थित भवनमा भजनकीर्तन दिनहुँजस्तो हुने गर्दथ्यो । त्यहाँ जोगी, साधुसन्त तथा महात्माहरूको सदैव भीड हुने गरेको चर्चा आज पनि छिमेकीहरूले गर्दछन् । प्युखाबाट कलङ्की बसाइँ सरेपछि पनि यस्ता धार्मिक अर्चनाका कार्यक्रमहरूले निरन्तरता पाउने गरेको छ ।

विसं १९८२ देखि २०४३ (महाप्रस्थान) को छ दशकसम्म नेपालको विभिन्न क्षेत्रमा सक्रिय सेवामा रहेका उहाँलाई तत्कालीन शासकले सम्मान गरेका दृष्टान्त पाइन्छन् । उहाँले गोर्खा दक्षिणबाहु प्रथम, श्री ३ जुद्धशमशेरबाट सरदार उपाधि, त्रिशक्ति पट्ट, राजा त्रिभुवनबाट रजतजयन्ती पदक तथा राजा महेन्द्र र वीरेन्द्रबाट शुभराज्याभिषेक पदकजस्ता अनेकौँ पदक र सम्मान प्राप्त गर्नुभएको थियो । आफू सम्मानित भएर मात्र सन्तुष्ट हुन नसक्ने र अरूलाई प्रोत्साहन र सम्मान गर्नुपर्छ भन्ने विचारधाराका पक्षपाती भएका हुँदा त्रिभुवन विश्वविद्यालयका विभिन्न तहमा सर्वोत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पद्मराज सुवर्ण पदक, टीकालक्ष्मी सुवर्ण पदक, त्रिभुवन विश्वविद्यालयमा र संस्कृत विश्वविद्यालयमा लीलाबल्लभ पन्त सुवर्ण पदक प्रदान गर्न अक्षयकोष नै स्थापना गराउनुभयो । १९९० सालको भूकम्पको समयमा स्वयंसेवी दल खडा गरी पीडितहरूको सेवा गरेको प्रसङ्ग ब्रह्मशेरले एक अन्तर्वार्तामा बताएका थिए । धेरै कुरामा पहिलो नेपाली बन्न पुगेका उहाँ इतिहासका प्राध्यापक मात्र नभई स्वयं नेपालकै इतिहास भएको निर्विवाद तथ्य जगजाहेर छ ।

रुद्रराज साहित्य समिति गठन गरी उहाँका स्वजनहरूले साहित्य, इतिहास, शिक्षा र अध्यात्म गरी चार विधामा प्रत्येक वर्ष एक विधामा उल्लेख्य योगदान गरेका व्यक्ति तथा संस्थालाई पुरस्कार दिने कार्यबाट उहाँको व्यक्तित्व र कृतित्व चिरस्मरणीय बनाउन गरेको कार्य स्तुत्य भएको छ । कुशल शिक्षक, कुशल प्राध्यापक, शैक्षिक प्रशासक, प्रशासनविद्, साहित्यकार, इतिहासकार, समाजसेवी, आध्यात्मिक चिन्तक जस्ता बहुमुखी विलक्षण प्रतिभासम्पन्न व्यक्ति देशमा मात्र होइन, विश्वमा नै कमै मात्र देखिन्छन् । यस्ता मानवताका सरल पात्र तथा नेपालआमाका धर्तीपुत्र, नेपालकै गहना, महामानव रुद्रराज पाण्डे नेपालीको मानसपटलमा सदासर्वदा अमर रहिरहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

अन्य न्यूजहरु

news

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

news

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

news

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

news

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels