राजदूत पौडेलले सम्हाल्नुभयो कार्यभार

लिस्बन (पोर्चुगल)/पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल कार्यभार सम्हाल्नुभएको छ ।

उहाँले बिहीबार राजधानी लिस्बनस्थित अल्कान्त्रामा रहेको नेपाली दूतावासमा पुगेर आफ्नो पदभार ग्रहण गर्नुभएको हो ।

यसअघि बिहीबार पोर्चुगल आइपुग्नुभएका पौडेललाई लिस्बनस्थित अन्तरराष्ट्रिय विमानस्थलमा पोर्चुगलको विदेश मन्त्रालयका शिष्टाचार विभागका अधिकारी लुइस सान्तोस र लिस्बनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रामबाबु नेपालले स्वागत गर्नुभएको थियो ।

पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना गरिएको हो भने पौडेल पोर्चुगलका लागि नेपाली राजदूतका रूपमा जिम्मेवारी सम्हाल्ने पहिलो राजदूत बन्नुभएको छ ।

यसअघि पोर्चुगलका लागि राजदूत सिफारिस हुनुभएका शनिल नेपाल भने पोर्चुगल आउन नपाई फिर्ता बोलाइएको थियो । हाल उहाँ स्पेनका लागि राजदूत नियुक्त हुनुभएको छ ।

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव पौडेललाई गत साउनमा पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिरमा उहाँलाई पोर्चुगलका राजदूत नियुक्त गर्नुभएको थियो ।

दुई साताअघि स्थापना गरिएको दूतावासले अस्थायी कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको छ । दूतावासको स्थायी कार्यालयका लागि भवन भाडामा लिइसकिएको र कार्यालय सञ्चालनका लागि तयारी भइरहेको कार्यवाहक राजदूत नेपालले राससलाई जानकारी दिनुभयो ।

नयाँ दूतावास भएकाले कार्यालय सञ्चालनको स्वीकृतिका लागि आवश्यक प्रक्रियाका साथै आन्तरिक तयारी भइरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments