चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.९८ प्रतिशत रहेकामा बर्खे धानको उत्पादकत्व प्रतिहेक्टर ४.१९ प्रतिशत छ
काठमाडौं/ सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रति क्विन्टल २८ सय रुपैँया ६९ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । यो मूल्य गत आर्थिक वर्षको भन्दा ९३ रुपैँया ४१ पैसा बढी हो ।
साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
अघिल्लाे आर्थिक वर्ष २०८०/८१ मा १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा तोकेको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०८१/८२ मा एक लाख नौ हजार ३०९ हेक्टर क्षेत्रफलमा पाँच लाख ४४ हजार ३९३ मेट्रिक टन चैते धान उत्पादन भएको छ ।
यस्तै आव २०८०/८१ एक लाख चार हजार ७१२ हेक्टर क्षेत्रफलमा पाँच लाख २० हजार ८०८, आव २०७९/८० मा एक लाख आठ हजार ६०७ हेक्टर क्षेत्रफलमा पाँच लाख ४० हजार ३३१ मेट्रिक टन उत्पादन भएको थियो ।
चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.९८ प्रतिशत रहेकामा बर्खे धानको उत्पादकत्व प्रतिहेक्टर ४.१९ प्रतिशत छ ।
पछिल्लो समय चैते धानको क्षेत्रफलसँगै उत्पादन पनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ । मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले बर्खे धानको तुुलनामा चैते धानको उत्पादकत्व बढी रहेकाले उत्पादन बढाउन सकिने बताउनुुभयो । बर्खे धानको क्षेत्र विस्तार गर्न कठिन रहेकाले चैते धानमा सिँचाइ सुविधा थपेर उत्पादन बढाउन सकिने उहाँको भनाइ छ ।
नेपालमा समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३०५० मिटर उचाइसम्म चैते धान खेती गरिन्छ । चालुु आवमा बर्खे र चैते गरेर ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।
मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धान आवश्यक पर्नेमा अझै ११ लाख मेट्रिक टन धान अपुुग रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
चैत धानको उत्पादन बढाएर धानमा आत्मनिर्भर बन्न खेती विस्तारमा जोड दिइएको मन्त्रालयले जनाएको छ ।
कुल गार्हस्थ उत्पादन (जिडिपी) मा २४.१ प्रतिशत योगदान कृषि क्षेत्रको छ ।
जिडिपीमा धानको १५ प्रतिशत योगदान छ । मुुलुकभर २६ लाख हेक्टर क्षेत्रफल कृषियोग्य भूूमि रहेको छ, जसमा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित