मैतीदेवीको गोदा वेणुगोपाल मन्दिरमा आजबाट विशेष धार्मिक अनुष्ठान

वैकुण्ठवासी रामशोभा रामानुजदासीले निःशुल्क प्रदान गर्नुभएको चार रोपनी चार आना क्षेत्रफलमा निर्माण भएको मन्दिरमा भगवान्, महालक्ष्मी र आलवार आचार्य गरी तीन सन्निधि रहेको छ ।

काठमाडौँ/ काठमाडौँ महानगरपालिका–२९ मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपाल भगवान्को नवनिर्मित मन्दिरमा आजदेखि विशेष धार्मिक अनुष्ठान आयोजना गरिने भएको छ ।

यही फागुन २६ गतेसम्म आयोजना हुने कार्यक्रमअन्तर्गत गोदा वेणुगोपाल भगवान्को प्राणप्रतिष्ठा एवं महासंप्रोक्षण अनुष्ठान गर्ने कार्यक्रम छ ।

फागुन २१ गते साँझ सभा प्रार्थना, २२ गते ध्वजकुम्भादि आराधना, अग्निप्रतिष्ठा, वेदादि पारायण, २३ गते शान्तिपाठ, तीर्थगोष्ठी, पूर्णाहूति, २४ गते अष्टाक्षरी वासुदेव–हवन, २५ गते तत्वन्यास हवनादिलगायत कार्यक्रम आयोजना गरिनेछ ।
साथै फागुन २६ गते मासबलि, महापूर्णाहूति महासंप्रोक्षणलगायत कार्यक्रम तय गरिएको मन्दिरका मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी दिनुभयो ।

अनुष्ठान तोताद्रिमठका पीठाधिपति श्री १००८ रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा सम्पन्न हुनेछ । कार्यक्रमअन्तर्गत साधारण अर्चनादेखि विशेष कर्ता बन्न मिल्ने सेवाक्रम तय गरिएको छ ।

रू एक हजार १०० मा साधारण अर्चनादेखि रू सात लाखमा अर्चनासहित विशेष कर्ता बन्न सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारीले बताउनुभयो । समारोहमा नेपाल र भारतका विभिन्न आचार्य, साधुसन्त एवं धर्मानुरागीलाई आमन्त्रण गरिएको जानकारी दिइएको छ ।

विसं २०२२ मा बैकुण्ठवासी श्री १००८ श्री निवासाचार्य स्वामीजीले स्थापना गर्नुभएको मन्दिर विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको थियो ।

भूकम्पले क्षति भएको मन्दिर सङ्घ, प्रदेश, स्थानीय तहका सरकार र भक्तजनको सहयोगमा करिब रू १६ करोडको लागतमा मन्दिर पुनःनिर्माण गरिएको थियो । मन्दिर पुनःनिर्माणका लागि यस क्षेत्रबाट निर्वाचित उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पनि सहयोग गर्नुभएको थियो ।

मन्दिरमा विसं २०२२ देखि वैष्णवीय दीक्षाका साथै वैदिक सनातन धर्मको प्रचारप्रसार हुँदै आएको छ । वैकुण्ठवासी रामशोभा रामानुजदासीले निःशुल्क प्रदान गर्नुभएको चार रोपनी चार आना क्षेत्रफलमा निर्माण भएको मन्दिरमा भगवान्, महालक्ष्मी र आलवार आचार्य गरी तीन सन्निधि रहेको छ ।

मन्दिरमा आठ सय जना बस्न मिल्ने धर्मशाला, गौशाला, यज्ञकुण्ड छ । आगामी शैक्षिक सत्रदेखि गुरूकूल पनि सञ्चालन गर्ने तयारी गरिएको मन्दिरका मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी गराउनुभयो ।

फागुन २१ गते साँझ सभाप्रार्थना, विष्वक्सेन आराधना, पुण्याहवाचन, रक्षाबन्धन, मृत्संग्रहण, अङ्कुरार्पणहवन, पूर्णाहूति, दिव्यप्रबन्ध सेवकालम र तीर्थगोष्ठी हुने छ ।

२२ गते यागशालाामा द्वारतोरण ध्वजकुम्भादि आराधना, अग्निप्रतिष्ठा, वेदादि पारायण हवन, पूर्णाहूति, वास्तुपूजा, पञ्चगव्य–प्राशन, नवकलशस्नपन, जलाधिवास, मूलमूर्तिहवन, पूर्णाहूति र तीर्थप्रसाद वितरण हुनेछ ।

फागुन २३ गते यागशालामा द्वारतोरण ध्वजकुम्भादि, महाकुम्भ उपकुम्भादि आराधना, शान्तिपाठ, तीर्थगोष्ठी, मूलमूर्ति हवन, पूर्णाहूति, सात्तुमुरै, तदीयाराधना, जलादुद्धरण, नवकलशस्नपन, धान्याधिवास र होमादि हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

यसैगरी फागुन २४ गते नित्य यागशाला आराधना, अष्टाक्षरी वासुवेव हवन, पूर्णाहुति र स्नपन, शय्याधिवास र फलपुष्पाधिवास हुनेछ ।

फागुन २५ गते नित्य यागशालामा हवन, छायाधिवास, २५ कलशस्नपन, तत्वन्यास हवनादि, यन्त्रस्थापन, विम्बप्रतिष्ठा, अष्टबन्धन, नित्यहोमादि, यन्त्रस्थापना, विम्बप्रतिष्ठा, नित्यहोमादि र तीर्थप्रसाद हुनेछ ।

अन्तिम दिन फागुन २६ गते यागशालामा आराधना हवन, मासबलि, महापूर्णाहुति, नेत्रोन्मीलन, महासंप्रोक्षण, प्रथम आराधना, सात्तुमुरै, मठाधीश पट्टाभिषेक, आचार्य सम्भावना र तदीयाराधना रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments