पत्रकार अधिकारीले पुरस्कारको रकममा त्यति नै रकम थपेर श्री भैरब माविको शैक्षिक गतिबिधिमा सहयोगका लागि प्रदान गरे
काभ्रेपलाञ्चोक/ नेपाल प्रेस युनियन काभ्रेपलान्चोकद्वारा प्रदान गरिने “उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार’ बाट पत्रकार शुभराज अधिकारी पुरस्कृत भएका छन्।
बेथान्चोक गाउँपालिका-१ झिङ्गेस्थित भैरव माविमा आज आयोजित पुरस्कार वितरण समारोहमा उनलाई नगद ५ हजार ५ सय ५५ रुपैयासहित सम्मान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका बेथान्चोक गाउँपालिका प्रमुख भगवान अधिकारी र प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष इश्वरी ओझाले अधिकारीलाई खादा सहित नगद र प्रमाणपत्रले सम्मान गरेका हुन्। वर्षभरि डाँडापारी भेगलाई समेटेर समाचार लेखेकोमा उनलाई पुरस्कृत गरिएको हो ।
उच्च शिक्षा हासिलका लागि १५ वर्ष अघि बेथानचोक–१, झिङ्गेबाट ललितपुरको गोटिखेलस्थित क्याम्पस अध्ययन जाने क्रममा बस दुर्घटनामा मृत्युवरण गरेकी स्वर्गीय उर्मिला सापकोटाको स्मरणमा परिवारले स्थापना गरेको पुरस्कार नेपाल प्रेस युनियन काभ्रे शाखाले व्यवस्थापन गर्दै आएको छ ।
स्वर्गीय उर्मिलाका पिता गोपालकृष्ण सापकोटाले पुरस्कार कोषको स्थापना गर्नुका साथै संरक्षकत्व प्रदान गर्दै आएका छन् । वर्षभरि डाँडापारीभेगका समाचारहरु प्रकाशन/प्रसारण भएका आधारमा युनियन काभ्रेले पुरस्कृत हुने पत्रकारको छनौट गर्दै आएको छ । सो पुरस्कारबाट हालसम्म १३ जना पत्रकार सम्मानित भइसकेका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि एवं वडा नं १ का वडा अध्यक्ष मधुसूदन तिमिल्सनाले तत्कालीन अवस्थामा पत्रकारका रुपमा काम गर्दा यो पुरस्कार पाएको स्मरण गरे । उनले भने, ‘म मध्यमार्ग साप्ताहिकमा कार्यरत रहँदा यो पुरस्कार पाएको थिएँ । विकट डाँडापारीभेगको समाचार लेखनवापत मलाई पुरस्कृत गरिएको थियो । यही प्रेरणाले म देशकै पुरानो गोरखापत्र दैनिकमा संवाददाताका रुपमा क्रियाशील हुने अवसर मिलेको थियो’, तिमल्सिनाले थपे ।
कार्यक्रममा प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष एवं लाहाछाप डटकमका सम्पादक इश्वरी ओझाले संघीयता कार्यान्वयनपश्चात बेथानचोक गाउँपालिकाले विकास निर्माणका कामहरुमा प्रगति गर्दै गएको बताए ।
‘स्वर्गीय उर्मिलाकै गाउँमा आएर पुरस्कार वितरण गर्न हिजोका दिन सहज थिएन । आज बनेपाबाट सरर्र आएर कार्यक्रम सकेर गाउँघर घुमेर बेलैमा बनेपा फर्कन सहज भएको छ । हिजो यहाँका पीडाका कुराहरु पत्रकारले उजागर गरेको हुँदा यसतर्फ सरोकारवालाको ध्यान पुग्दा विकासनिर्माणले गति लिन सम्भव भयो’, उनले थपे ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आफू पनि प्रेस युनियनकर्मी भएर पत्रकारिता गरेको स्मरण गरे । युनियन काभ्रेले पुरस्कार स्थापना गर्ने परिवारकै गाउँमा पुरस्कार वितरणको चाँजो मिलाएकोमा खुशी व्यक्त गरे ।
‘आज यहाँ आइपुग्नु भएका पत्रकारहरुले बेथानचोक वडा नं १ को अवस्था र सम्भावनाका कुराहरुलाई महसूस गर्नु भएको छ । यसलाई सबै सामु पुर्याउनमा यहाँहरुको मुख्य भूमिका रहन्छ । हामीले खोजेको ग्रामीण पत्रकारिता यस्तै यस्तै हो’, अध्यक्ष अधिकारीले थपे ।
कार्यक्रमका अध्यक्ष एवं प्रेस युनियन काभ्रेका सभापति नगेन्द्र अधिकारीले गत वर्षको पुरस्कार वितरणकै क्रममा २०८१ को पुरस्कार स्वर्गीय उर्मिलाकै गाउँमा पुगेर वितरण गर्ने भन्ने घोषणाअनुरुप कार्यक्रम सम्पन्न गर्न पाउँदा खुशी लागेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष एवं प्रेस युनियनका सल्लाहकारहरु महेशराज पौडेल, बद्रिराज तिमल्सिना, युनियनका केन्द्रिय सदस्य कपिल कोइराला, संचारिका समुह काभ्रेकी अध्यक्ष सुनिता सापकोटा, युनियनका सहसचिव इन्द्रबहादुर थापा, कोषाध्यक्ष सरोज अधिकारी एवं पुरस्कारका संरक्षक गोपालकृष्ण सापकोटाले स्वर्गीय उर्मिलाको स्मरण गर्दै डाँडापारी क्षेत्रको विकास निर्माणको निम्ति जिल्लाका मिडियाले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।
आज पुरस्कृत अधिकारीले सम्मानसहित आफुले पाएको नगद ५ हजार ५ सय ५५ रुपैँयामा सोही बराबरको रकम थप गरि झिङ्गेस्थित श्री भैरब माविको शैक्षिक गतिबिधिमा सहयोग गर्ने गरी बिद्यालयलाइ हस्तान्तरण गरे।
प्रधानाध्यापक, शिक्षक, स्थानीय समाजसेवी एवं विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा युनियनले विद्यार्थीहरुका लागि पाठ्यपुस्तक र खेलकुदका सामाग्री समेत हस्तान्तरण गरेको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित