एनसिसी टोलीद्वारा नेपाल सम्बन्धको चर्चा

काठमाडौँ / युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भुटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) टोलीद्वारा नेपालसँग देशको सम्बन्ध, पर्यटन प्रवर्द्धन र आर्थिक सम्भावनाबारे जानकारी प्रस्तुत गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा टोलीले आ–आफ्नो देशका सांस्कृतिक, रहनसहन र वेषभूषा झल्कने गीत, सङ्गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा देशका राष्ट्र प्रमुख र प्रधानमन्त्रीको परिचयसँगै भौगोलिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षबारे पनि जानकारी दिइयो । ती देशका मुख्य–मुख्य सहर, पर्यटनसहित मुख्य पहिचान र आर्थिक सम्भावनाका क्षेत्र, जनसङ्ख्या, राष्ट्रिय सम्पदाबारे समेत प्रस्तुति गरियो ।

नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सव तथा महाशिवरात्रिका अवसरमा युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन एनसिसी टोली यहाँ आएको हो । नेपाली सेनाले छिमेकी राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउन ‘क्याडेट’बीच सीप, संस्कृति र परम्पराको आदानप्रदान गर्दै आएको छ ।

युवा आदानप्रदान कार्यक्रमले एकापसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको बुझाइमा सहयोग पुग्ने सेनाले विश्वास लिएको छ । यस्ता कार्यक्रमले आपसी सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन भूमिका निर्वाह गर्नेछ । राष्ट्रिय सेवा दल (एनसिसी)बाट प्रदान गरिने तालिम तथा प्रशिक्षणले युवालाई एकत्रित गरी बफादार, अनुशासित र जिम्मेवार नेतृत्वकर्ता तथा असल नागरिकका रूपमा रूपान्तरण गरिँदै आएको नेपाली सेनाले जनाएको छ ।

त्यस अवसरमा राष्ट्रिय सेवा दल (एनसिसी)बाट पनि सगरमाथा, बुद्धभूमि लुम्बिनी, राजधानी काठमाडौँ, मुख्य सम्पदाको परिचयसहित भौगोलिक, भाषिक, सांस्कृतिक, विविधताको जानकारी प्रस्तुत गरियो । एनसिसीले असल अभ्यासको आदान–प्रदानमार्फत युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ ।

कार्यक्रममा नेपाली सेनाका बलाध्यक्ष प्रदीपजङग केसी, राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक यामप्रसाद ढकाल, भारतको एनसिसीका महानिर्देशक गुरवीरपाल सिंह, भुटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन र माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायत सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments