काभ्रेपलाञ्चोक/तेमाल गाउँपालिकाको पोखरी नारायणस्थान खेलमैदानमा बुधबारदेखि प्रथम खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता तेमाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको हो ।
‘हाम्रो लक्ष्य राष्ट्रको सार, खेलकुद विकास स्वस्थ समाजको आधार’ भन्ने मुल नाराका साथ फागुन १० गतेसम्म हुने प्रतियोगितामा १८ वटा टिम प्रतिस्पर्धामा उत्रेका छन् ।
प्रतियोगिताको नेपाली काँग्रेस काभ्रेका सभापति, बागमती प्रदेश सभा सदस्य एवं पूर्व प्रदेश मन्त्री तीर्थ लामाले उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहनु भएका लामाले प्रतियोगिता तेमालमा ऐतिहासिक कार्यक्रम भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यस प्रतियोगिताले तेमालको विकास र समृद्धिका लागि युवा सिर्जनशीलताको विकास गराउनेमात्रै नभई तेमालका सबै तहतप्काका मानिसहरुलाई एउटै थलोमा भेट गराउन सफल भएको छ’, लामाले थप्नु भयो ।
गत असोज दोस्रो साताको बाढीपहिरोले तेमालमा पुर्याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै लामाले पुनःनिर्माण कार्यमा आफू प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले आह्वान गर्नुभयो, ‘विपदले तेमाललाई आक्रान्त पारेको छ । कुनै पनि राजनीतिक पार्टीको विचारभन्दा अलग रहेर समग्र तेमालको विकासमा एक हुन सबैमा अनुरोध गर्दछु ।’
तेमालको सडक पूर्वाधारको पहुँचका लागि तेमालवासीले बिर्सनै नहुने नाम स्वर्गीय सिद्धिमान लामा रहेको दृष्टान्तसहित लामाले भन्नुभयो, ‘काँग्रेसका नेता स्वर्गीय सिद्धिमान लामाले तेमालमा पहिलो पल्ट सडक पूर्वाधारको विकास थाल्नु भएको हो । अब उहाँकै सपना पुरा हुने गरी भकुण्डे–तेमाल हुँदै सुनकोसीसम्मको बाटोलाई बैकल्पिक विपी राजमार्गको रुपमा विकास गर्न म लाग्नेछु’, उहाँले थप्नु भयो ।
तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले धेरैभन्दा धेरै खेलाडीहरुलाई समेट्नका लागि यस पटक खुल्ला भलिबल प्रतियोगिता गरेको जानकारी दिनु भयो । गाउँपालिकाका उपाध्यक्ष एवं युवा तथा खेलकुद समितिका अध्यक्ष दलमान थोकर(डिएम) ले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता आयोजना गरेर तेमालका युवाहरुमा सकारात्मक सोच र उत्साह भर्न खोजिएको बताउनु भयो ।
कार्यक्रममा भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान लामा, तेमाल गाउँपालिकाका निवर्तमान अध्यक्ष सलामसिं लामाले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख २५ हजार रुपैँयाका साथै कप, शिल्ड, पदक र प्रमाणपत्र, द्वितिय हुने टिमले ७५ हजार रुपैँया साथै कप, शिल्ड, पदक र प्रमाणपत्र, तृतिय हुने टिमले ५० हजार रुपैँयाका साथै कप, शिल्ड, पदक र प्रमाणपत्र, चौथो हुने टिमले नगद २५ हजार रुपैँयाका साथै पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित