धुलिखेल/आगामी चैत्र दोश्रो साता धुलिखेलमा आयोजना हुने बिश्व युवा महोत्सव (वर्ल्ड युथ फेस्टिवल) नेपालकै पहिलो ठुलो युवा भेला भनिएको छ। यो महोत्सव पहिलो र ठुलो हो वा होइन चर्चाको बिषय बन्ला, तर महोत्सवलाइ साँच्चिकै बृहत बनाउने तवरबाट तयारी थालिएको छ।
जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजनामा हुने महोत्सवमा ७५ देशका १० हजार प्रतिनिधि यस युवा महोत्सवमा आउने छन् । त्यसमा २ सयभन्दा बढी वक्ताहरू हुनेछन् ।
३ लाखभन्दा बढी युवा भेला हुने आशा गरिएको महोत्सवमा ५० भन्दा बढी विभिन्न गतिविधिका कार्यक्रमहरु हुनेछन् ।
आयोजकको दावी अनुसार कार्यक्रम सफल भए, वास्तवमै यो सम्मेलन नेपालको लागि ठुलो र नेपालको परिचय फराकिलो बनाउने अभियानमा “फेस्टिभल” कोशेढुंगा साबित हुनेछ।
महोत्सवमा आजको युवाहरू प्रभावित भएका गहन विषयमा वर्कशप गर्नुका साथै छलफल गरिने आयोजकले जनाएको छ ।
जलवायु परिवर्तन, लैंगिक एकता, महिला सशक्तीकरण, वाक स्वतन्त्रता, पर्यटन, राजनीति, लिडरसिप, स्थानीय खानालगायतका विषयमा यस युवा महोत्सवमा बहस हुने आयोजकले जनाएको छ ।
मार्च महिनाको २७ देखि ३१ तारिखसम्म काठमाडौं विश्वविद्यालय परिसरभित्र १ लाख युवाको सहभागितामा महोत्वसको उद्घाटन गरिने आयोजकले जानकारी दिएको छ ।
जिल्ला समन्वय समिति काभ्रेपलान्चोक र बिश्व युवा महोत्सव २०२५, मूल आयोजक समितिद्वारा गत शनिवार धुलिखेलमा महोत्सवबारे जानकारी दिने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गर्यो।
काठमाडौँ बिश्वबिद्यालयमा आयोजित कार्य्रक्रममा काभ्रेपलान्चोकबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेश सांसद एवं जनप्रतिनिधिसहितको उपस्थितिमा महोत्सवको औचित्यबारे जानकारी दिइएको छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वसंचारमन्त्री गोकुल बास्कोटा, प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री तीर्थ लामा, प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री रत्न ढकाल, धुलिखेल नगरपालिका प्रमुख अशोक बेन्जु, दि मिस ग्लोब २०२४ बिजेता कोलम्बियन सुन्दरी डाएना मोरेनो, मिस ग्लोबको आयोजक संस्थाका उपाध्यक्ष, फ्रेन्की बोजोलगायतको उपस्थिति रहेको थियो। महोत्सव संयोजक एवं समन्वय प्रमुख दिपक गौतमले हालसम्म गरेका कामका उपलब्धि र भैरहेका प्रयासबारे उपस्थितलाइ जानकारी गराए।
काठमाडौँ बिश्वबिधालय, जिल्लास्थित राजनीतिक दल र दलका युवा, बिधार्थीसहितका भातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधि, सामाजिक संघसंस्था, युवा क्लब, संचारकर्मी, सुरक्षाकर्मी, निजि तथा सामुदायिक बिद्यालय, पाब्सन, सहकारी र निजि क्षेत्रको सहभागितामा गरिएको अभिमुखीकरणमा करिब ३ हजार जनसहभागिता रहेको थियो।
देशबिदेशबाट महोत्सबमा आउन चाहनेले आफ्नो नाम दर्ता गराइरहेको र बिबिध क्षेत्रबाट नेपाल नियाल्नका लागि संसारभरिबाट युवाले बिशेष चासो दिएको जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका उपप्रमुख रिमबहादुर तामाङले बताएका छन्।
अभिमुखीकरण कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै उनले भने, ‘जिल्ला समन्वय आयोजक भएपनि जिल्लाका सबै स्थानीय तह र समग्र जिल्लावासीले अपनत्व गर्न सके यो सम्मेलन सोचे अनुसार सफल हुनेछ।‘
वर्ल्ड युथ फेस्टिवललाइ संसारभर गरिएका अभ्यास सरह तयारी गर्न सुझाव दिंदै उपस्थित सांसदहरुले कार्यक्रमको सफलताको शुभकामना सहित आफ्ना धारणा राखेका छन्।
प्रतिनिधि सभा सदस्य एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संसारको परिर्वतनको नेत्तृत्व युवा चेतनाले गर्ने बताए। अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बास्कोटाले चेतनशील युवाको नेत्तृत्वले संसार परिवर्तन सम्भव हुने बताएका हुन् ।
समन्वय समितिका प्रमुख एवं महोत्सवका संयोजक दिपक गौतमको नेतृत्वमा रहेका आयोजक सबैलाई शुभकामना दिंदै उनले भने, ‘युवाहरुमा विद्रोह मात्र भएर हुदैन, युवा चेतनशील हुनुपर्छ, युवामा नेत्तृत्व हुनुपर्छ, रचनात्मक भाव हुनुपर्छ, यस विश्व सम्मलेन यिनै कुरालाई समेटेको छ, यस कार्यक्रमले युवाहरुको लागि निकै लाभदायी हुनेछ, यस कार्यक्रमले युवाहरुमा नेत्तृत्व विकासमा बृद्धि गर्नेछ ।’
उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तिर्थ लामाले विश्व युवा महोत्सव ऐतिहासिक सम्मेलन भएको र यसले काभ्रेको मात्रै नभएर देशकै पहिचान बोकेको बताए ।
उनका अनुसार, यस प्रकारको कार्यक्रमले युवाहरुमा नया उर्जा थप्न मद्दत पुग्नेछ । संसारभरका युवा सहभागी हुने यस सम्मेलनलाइ काभ्रेको विकास निर्माण, यहाको भाषा संस्कृति र भूगोलको पहिचान उजागर गर्ने अवसरका रुपमा लिंदै लामाले सूचना प्रविधिको बढ्दो विकासले संसार साँघुरो बन्दै गएको परिप्रेक्षमा ‘युवालाई आय आर्जनसहित डिजिटल युगसँग’ जोड्न पर्ने बताए।
त्यस्तै, बागमती प्रदेश सभा सदस्य एवं रत्न ढकालले देशका उर्जाशील युवा विदेश पलायन हुदैं गएको, स्वदेशमै भएका युवाहरुमा निराशा छाएको जस्ता युवाका विविध समस्या समाधान गर्नको लागि तीन तहकै सरकार अग्रसर हुनुपर्छ ।
संघारमै रहेको यस महोत्सवले पनि युवाहरुका विविध विषयलाई समेट्ने भएकाले कार्यक्रम युवाका लागि फलदायी हुने उनले बताए ।
नेपालमा भएका अवसर, दक्षता, चुनौतीदेखि युवाहरूलाई स्वदेशमै भएका सम्भावनाहरु बारे परिचित गराउदै हौसला प्रदान गर्ने विश्वासका साथ काभ्रेमा विश्व युवा महोत्सव (वर्ल्ड युथ फेस्टिभल) आयोजना हुन लागेको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बताए ।
२०२५ मार्च २७ देखि ३१ सम्म ४ दिनसम्म चल्ने फेस्टिभल आवाशीय हुनेछ । ७५ देशका १ हजार युवा र बाँकी नेपालका युवा सहभागी हुँदैछन् । देश विदेशका युवा र अन्य पाहुनाहरु गरी १० हजार जनाको सहभागिता रहने फेस्टिभलका लागि २० करोड रुपैंया खर्च हुने प्रारम्भिक अनुमान रहेको छ ।
चार दिने फेस्टिभलकै अवधिमा रनवेमा १५ देशका मोडलहरुले परम्परागत पोशाकमा क्याटवाक र ३० देशका कलाकार (गायक र मोडेल–हलिउड/बलिउड)को बेजोड प्रस्तुति रहनेछ । साथै कन्सर्ट र ‘कम्युनिटी टुर’ हरुको आयोजना हुनेछन् । उनका अनुसार, नेपालमा युवाहरूको यस स्तरको अन्तर्राष्ट्रिय महोत्सव पहिलो पटक आयोजना हुन लागेको हो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित