‘बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने’

ललितपुर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाँसले हरित अर्थतन्त्रको प्रवर्द्धन र वातावरणमैत्री समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’को जानकारी दिन आज यहाँ आयोजित पूर्वतयारी कार्यक्रममा गभर्नर अधिकारीले आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्र महत्वपूर्ण हुने धारणा राख्दै सहर केन्द्रित सम्मेलनलाई बाँस सम्मेलनले चुनौती दिएको उल्लेख गर्नुभयो ।

उहाँले बाँससम्बन्धी विषयवस्तुमा आधारित रहेर खोटाङमा आयोजना हुने सम्मेलनले नयाँ अभ्यास गर्नुका साथै हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“दैनिक जीवन बाँस उपयोगी र दिगो हुन्छ, आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्न यसको भूमिका महत्वपूर्ण हुन्छ । स्वस्थ र वातावरणमैत्री हुनेगरी काम गर्न बाँस उपयोगी हुन्छ”, अधिकारीले भन्नुभयो ।

उहाँले बाँस सम्मेलनको सफलता, र उपयोग बढाउन, व्यावसायिक अभिवृद्धि, निर्यात प्रवर्द्धनलगायत क्षेत्रमा राष्ट्र बैंक र आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पूर्वमन्त्री गणेश शाहले खोटाङको दिक्तेलमा हुने सम्मेलनले बाँसमा आधारित उद्योग प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बाँस हाम्रो धर्म, संस्कृति, परम्परा, घरेलु तथा साना उद्यमलगायत जनजीविकासँग जोडिएकाले यो बहुउपयोगी वस्तु रहेको धारणा राख्नुभयो ।

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले बाँसलाई ‘हिमालयन बाम्बो ब्रान्ड’ बनाएर अन्तरराष्ट्रिय बजारमा निर्यात गर्न सकिने भएकाले सम्मेलन उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

एक बहुउपयोगी वनस्पति बाँसको मानव जीवन र जनजीविकासँग अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै उहाँले ग्रामीण क्षेत्रमा आवश्यकता र सहरी क्षेत्रमा सौखका रूपमा बाँसका सामग्रीको प्रयोग बढ्दै गएको उल्लेख गर्नुभयो ।

“नेपालमा २३ जातिका ८१ प्रजातिका बाँस पाइन्छन्, संसारमा पाइने बाँसमध्ये नेपालमा १९ प्रतिशत पाइन्छन्, तराईदेखि पहाड र हिमालमा पनि पाइने बाँसलाई गरिबको साथी मात्रै नभई धनीहरूको सौख पूरा गर्ने वस्तुका रूपमा प्रचारप्रसार गरी यसको प्रवर्द्धनमा जोड दिनुपर्छ”, डा केसीले भन्नुभयो ।
उहाँले आयात, निर्यात क्षेत्रमा बाँसको भूमिका महत्वपूर्ण छ भन्दै बाँसबाट बन्ने धेरै सामग्रीबाट प्रशस्त फाइदा लिन सक्नुपर्ने धारणा राख्नुभयो ।

ग्रीन बम्बो क्रियशन प्रालिका प्रतिनिधि प्रदीप दङ्गालले बाँस छिटो हुर्कने वनस्पति भएकाले बाँसलाई केन्द्रमा राखी आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।

“प्लास्टिकजन्य सामग्रीबाट वातावरण प्रदूषण हुनुका साथै स्वास्थ्यमा प्रतिकूल असर गर्दछ । समाजमा बाँसका सामग्रीको प्रयोग बढाएर दिगो प्रकृतिक वस्तुबाट प्रभाव पार्न सकिन्छ”, उहाँले भन्नुभयो, “नेपाली समाजमा जन्मदेखि मृत्युसम्म बाँसको उपयोग हुन्छ, रुखले भन्दा बढी अक्सिजन दिने र कार्वन उत्सर्जन गर्ने बाँसको बजार व्यवस्था फैलिन सकेको छैन ।”

दङ्गालले सम्मेलनका लागि करिब एक वर्ष आठ महिनादेखि प्रयास गरिरहेको बताउँदै नीति निर्माण तहमा प्रभाव पार्न तल्लो तहदेखि माथिल्लो तहसम्म पहुँच पुर्‍याउन निरन्तर प्रयास गरिरहेको जानकारी गराउनुभयो ।

फागुनमा आयोजना हुने तीन दिने बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवर्द्धन गर्दै स्वच्छ र वातावरणमैत्री समाज निर्माणमा योगदान पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनको उद्देश्य बाँससम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीको खोजी गर्ने, बाँसको खेतीलाई सुधार र विस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसखेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाको प्रदर्शनी गर्नेलगायत रहेको दिक्तेल नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

बाँसखेती गर्ने किसानको प्रवर्द्धन र प्रोत्साहनका लागि सरोकार भएकाहरूको ध्यानाकर्षण गर्दै आवास तथा सामग्री उत्पादनमा बाँसको उपयोगिता बढाउने सम्मेलनको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

नगरप्रमुख भट्टराईका अनुसार सम्मेलनमा एक सय सरकारी तथा गैरसरकारी निकाय, एक सय वन उपभोक्ता समूह, ५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्र, एक सय विद्यार्थी सहभागी भई प्रत्यक्ष अवलोकन गर्नेछन् ।

सम्मेलनमा बाँससँग सम्बन्धित सरकारी तथा वन वातावरणसम्बन्धी गैरसरकारी सङ्घसंस्था, शैक्षिक तथा अनुसन्धान निकाय, निजी क्षेत्र, बाँसमा आधारित उद्यमी र स्थानीय तहले सहभागिता जनाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सम्मेलनको मूल नारा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments