गण्डकी प्रदेश मङ्गलबारदेखि स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको छ । प्रदेशसभा स्थापना भएको दिनलाई नै यस वर्षदेखि प्रदेश स्थापना दिवसका रुपमा मनाउन सुरु गरिएको छ । विसं २०७४ माघ २२ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।
त्यसयता प्रदेशसभाको पहिलो कार्यकाल पूरा भई दोस्रो कार्याकालको पनि दुई वर्ष वितिसकेको छ । यस अवधिमा प्रदेशसभा सङ्घीयताको कानुनी र संरचनागत जग निर्माणमा केन्द्रित रह्यो । प्रदेश संरचनालाई सुदृृढ र संस्थागत गर्नेतर्फ प्रदेशसभाको सक्रियता रह्यो ।
प्रदेशसभाको पहिलो कार्यकालमा ५९ कानुन निर्माण भएभने दोस्रो कार्याकाल सुरु भएयता १३ वटा कानुन निर्माण र एउटा नियमावली पारित भएको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार यस अवधिमा दुईवटा अध्यादेश स्वीकृत भएका छन् ।
‘गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत–सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ’ ‘साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘जीवननाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ विषयगत समितिमा विचाराधीन छन् ।
यसैगरी, ‘औद्योगिक व्यवसायय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पनि प्रदेशसभामा पेस भएको छ । गत सोमबारदेखि सुरु भएको प्रदेशसभा अधिवेशनमा नयाँ विधेयक प्रस्तुत हुँदैछन् ।
विसं २०७९ मङ्सिर ४ गते प्रदेशसभाको निर्वाचन भई प्रदेशसभाको दोस्रो कार्यकाल विसं २०७९ पुस १८ गते सुरु भएको थियो । उक्त अवधिमा केही सङ्कल्प प्रस्ताव र सार्वजनिक महत्वका प्रस्ताव प्रदेशसभामा दर्ता भएका थिए ।
प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभालाई जिम्मेवार बनाइ सङ्घीयता अनुभूत हुनेगरी काम गर्न प्रदेशसभा प्रयत्नशील रहेको बताउनुहुन्छ ।
उहाँले सङ्घीय शासन प्रणालीलाई व्यवस्थित गर्न तीनवटै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुहुन्छ । नागरिकका भावनाअनुसार प्रदेशसभाले कानुन निर्माणलगायत संविधानले निर्देश गरेका काम गरिरहेको उहाँ बताउनुहुन्छ ।
प्रदेशसभा बैठक ‘युट्युब’बाट प्रत्यक्ष प्रसारण गर्ने गरिएको छ । अनलाइनका माध्यमबाट विधेयकबारे सुझाव सङ्कलन हुने गरेको छ । प्रदेशसभा सदस्यका जिज्ञासाका जवाफ मन्त्रीहरुले जवाफ दिने गरे पनि प्रश्नोत्तरको अभ्यास हालसम्म भएको छैन ।
प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक जना स्वतन्त्र सदस्यको हुनुहुन्छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित