नेपालले संविधान, जलस्रोत संरक्षण ऐन–२०४९, स्थानीय सरकार सञ्चालन ऐन–२०७४, वातावरण संरक्षण ऐन–२०७६, जलचर संरक्षण ऐन–२०१७, राष्ट्रिय सिमसार नीति–२०६९ एवं आवधिक योजनाहरू तथा राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजना (सन् २०१८–२४)लगायत नीति र कानुनमार्फत सिमसारको संरक्षण, संवर्द्धन र व्यवस्थापनमा प्रतिबद्धता गरेको”
काठमाडौँ/विश्वमा प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नाराले सिमसार क्षेत्र र मानव जीवनबीच भविष्यको अन्तरसम्बन्धमा जोड दिएको छ ।
सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । ताल, तलैया, पोखरी, नदी, खोला, झरना, धानखेत आदि सिमसार क्षेत्रअन्तर्गत पर्छन् । जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ ।
सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने हेतुले यो दिवस मनाइने गरेको छ । यद्यपि नेपालमा पछिल्लोपटक जलवायु परिवर्तनका असरले मौसममा देखिएको परिवर्तन र मानवीय गतिविधिको अतिक्रमणले सिमसार क्षेत्र सीमित हुँदै गएको देखिन्छ । तिनको क्षेत्रफल र गुणस्तर दिनानुदिन घट्दै गइरहेको छ । केही स्थानका सिमसार लोपसमेत भइसकेका छन् ।
यसबाहेक सिमसार क्षेत्रमा बढ्दो जनसङ्ख्या र बसाइँसराइ, नदीखोला तथा आसपासमा फोहरमैला विसर्जन, गरिबी र बेरोजगारी, परम्परागत कृषि प्रणालीमा भएको रूपान्तरण, सिमसारजन्य स्रोतको अधिक दोहन, बाह्य मिचाहा प्रजातिको अतिक्रमण, रासायनिक मल र विषादीको मिसावट, जथाभावी पूर्वाधार निर्माणलगायत चुनौती थपिएका छन् ।
जनचेतनाको कमी र सूचनाको अभावका कारण मानवीय गतिविधिले सिमसारको अतिक्रमण बढ्दो छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसका अवसरमा वन परिसर प्रवेशद्वारमा रहेको होर्डिङ बोर्डमा नारा अङ्कित ब्यानर अनावरण गर्ने गरेको छ ।
यसबाहेक प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले आ–आफ्नो स्तरमा दिवसका विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिएको विभागका उपमहानिर्देशक वेदकुमार ढकालले राससलाई जानकारी दिनुभयो ।
विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि) सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो ।
“जलवायुको असरका कारण वर्षा पनि कम हुँदै गएको छ । सिमसार क्षेत्रमा पछिल्लो समय पानीका स्रोत घट्दै गएका छन् । नदीको उपयोगमा सबैको जोड छ तर संरक्षणको दायित्व कसको भन्नेमा द्विविधा देखिन्छ”, उपमहानिर्देशक ढकालले भन्नुभयो, “कतिपय पालिकाका नदी खोलामै डम्पिङ छन्, यसमा तीनै तहका सरकारको ध्यान जान आवश्यक छ । सिमसार जोगाउनका लागि ‘वाटर हार्बेस्टिङ’मा लगानी गर्नु आवश्यक छ ।” सिमसार संरक्षणका लागि विभागले विद्यमान पोखरीको संरक्षण र नयाँ पोखरीसमेत निर्माण गरिरहेको उहाँले जानकारी गराउनुभयो ।
रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या एक सय ७२ पुगेको छ ।
साथै दुई हजार चार सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १९८७ डिसेम्बर १७ मा कोशीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर नेपाल सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको पक्ष राष्ट्र बनेको हो ।
रामसार सूचीमा हाल नेपालका कोशीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, राराताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत छन् ।
यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार पाँच सय ६१ हेक्टर छ । सिमसार संसारको सबैभन्दा जैविक विविधता भएको बासस्थानमध्ये एक हो र धेरै लोपोन्मुख प्रजातिको बासस्थान पनि हो । विश्वको ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा बस्छन् वा प्रजनन गर्छन् ।
सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्त्वपूर्ण बासस्थान हो । यस्तै नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् ।
नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये सिमसारमा एक सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै दुई सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।
विश्वमा पछिल्लो समय जलवायुका असर तीव्र रूपमा देखापरेका छन् । अझ नेपालजस्ता संवदेनशील भूबनोट र पर्वतीय मुलुकमा त जलवायुको असर झन् प्रत्यक्ष र विकराल बन्दै गएको छ ।
विगत केही समय यतादेखि जलवायु परिवर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रूपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यान क्षेत्रमा व्यापक परिवर्तन आएको छ ।
समग्रतामा वर्षाको मात्रामा देखिएको कमीले सुक्खा क्षेत्र वृद्धि हुनु, मिचाहा प्रजातिका वनस्पतिको वृद्धिलगायत कारण पनि सिमसार क्षेत्र सङ्कुचन भएको वा गुणस्तरमा कमी आएको यस क्षेत्रका जानकारहरूको भनाइ छ ।
मन्त्रालयको वातावरण विभागका उपसचिव मधु घिमिरेका अनुसार जलवायुको असरका साथै प्राकृतिक स्रोतको अधिकतम् दोहनले गर्दा सिमसार क्षेत्रमा पानीको कमी भएर सुक्खा क्षेत्रको वृद्धिले चुनौती थपिएको छ ।
“सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदूषण, जथाभावी पूर्वाधार निर्माण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहुँदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको छ”, उहाँले भन्नुभयो ।
विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् ।
विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा एक सय ६३ सिमसार तराईमा छन्भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।
सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्दछ ।
पछिल्लो समय पर्यापर्यटनको गन्तव्य बन्दै गएको सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव पनि यसले उपलब्ध गराएको छ ।
वन मन्त्रालयले सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको वन तथा भू–संरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले जानकारी दिनुभयो । सिमसारमा जल र जमिनको क्रिया र प्रतिक्रियाबाट जल परिचालन र शुद्धीकरणको प्रक्रिया चलिरहने हुनाले सिमसारलाई प्रकृतिको मिर्गाैला पनि भन्ने गरिन्छ ।
“सिमसारले वस्तु र सेवा प्रदान गर्नुका साथै पानीका स्रोत संरक्षण गर्छ । पानीको गुणस्तर कायम राख्न, जलचक्र र जलवायुलाई नियमित गर्न तथा तापमानलाई सन्तुलन गर्न पनि सिमसारको महत्व छ । तसर्थ यसको संरक्षणमा सबैको हातेमालो आवश्यक छ”, महानिर्देशक ढुङ्गानाले भन्नुभयो ।
सरकारले सिमसार क्षेत्रको संरक्षणका लागि विभिन्न कानुनी र नीतिगत व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।
नेपालले संविधान, जलस्रोत संरक्षण ऐन–२०४९, स्थानीय सरकार सञ्चालन ऐन–२०७४, वातावरण संरक्षण ऐन–२०७६, जलचर संरक्षण ऐन–२०१७, राष्ट्रिय सिमसार नीति–२०६९ एवं आवधिक योजनाहरू तथा राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजना (सन् २०१८–२४)लगायत नीति र कानुनमार्फत सिमसारको संरक्षण, संवर्द्धन र व्यवस्थापनमा वन मन्त्रालयले प्रतिबद्धता जनाउँदै आएको जनाएको छ ।