आजबाट संघीय संसद्को हिउँदे अधिवेशन सुरु, प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ / संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक भवन नयाँबानेश्वरमा बस्ने छ ।

हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम  छ । 

सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने,  राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसद्हरुको मनोनयन गर्ने कार्यसूचीमा उल्लेख छ । 

त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा माननीय सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्नेछन् । 

आजको बैठकमा ६ वटा अध्यादेश समेत पेश हुने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् ।

Lahachhap

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् ।

मन्त्रिपरिषद्को सिफारिसमा गत १४ पुसमा राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए । त्यसपछि २९ पुसमा थप चार वटा अध्यादेश जारी भएका थिए । २ माघमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि जारी भएको थियो । विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेशको विरोध गर्ने निर्णय गरेका छन् ।

बैठकमा सभामुखले विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

यसैगरी राष्ट्रिय सभाको बैठकमा उल्लेखित कार्यसूची बाहेक मिडिया काउन्सिल विधेयक, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

दुवै सदनमा विभिन्न विधेयक विचाराधीन हुनुका साथै थप नयाँ विधेयकसमेत दर्ता गरिएका छन् । संसदमा संघीयता कार्यान्वयनसँग जोडिएका संघीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्त्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन छन् । ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments