काठमाडौँ/स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने बताउनुभएको छ ।
इप्पानको आज यहाँ आयोजित रजत जयन्ती समारोहमा उहाँले विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्नेमा रु ४० खर्ब स्वदेशमा रहने प्रक्षेपण गरिएको जानकारी दिनुभयो ।
ऊर्जा क्षेत्रबाट वार्षिक सात लाख रोजगारी सृजना हुने जनाउँदै कार्कीले यसले मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।
उहाँका अनुसार नेपालको कुल विद्युत् उत्पादन क्षमता तीन हजार पाँच सय मेगावाट पुग्दा निजी क्षेत्रबाट मात्रै २५ वर्षको अवधिमा दुई हजार सात सय ४० मेगावाट विद्युत् उत्पादन भइसकेको छ ।
कार्यक्रममा दिइएको जानकारी अनुसार कुल उत्पादनमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशतभन्दा बढी रहेको छ ।
चार हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहँदा चार हजार तीन सय मेगावाट क्षमताका आयोजना खरिद बिक्री सम्झौता (पिपीए) सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा छन् भने १२ हजार नौ सय ६५ मेगावाट क्षमताका आयोजना अध्ययन सकेर पिपीएको पर्खाइमा रहेका इप्पानले जनाएको छ । यीमध्ये पनि ८० प्रतिशतभन्दा बढी आयोजना निजी क्षेत्रले विकास गरिरहेका छन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ ले २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र मार्गचित्रमा १३ हजार पाँच सय मेगावाट विद्युत् नेपालमा खपत गर्ने लक्ष्य राखिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । त्यसबाहेक बढी भएको विद्युत् मात्र छिमेकी मुलुकमा निर्यात गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गरिब तथा विपन्न वर्गलाई ऊर्जाको विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) नेपालको २५औँ रजतजयन्ती उद्घाटन सत्रमा आज उहाँले जलविद्युत् केन्द्रको शेयर बिनाधितो प्रभावित क्षेत्रका गरिब तथा विपन्न वर्गलाई दिने प्रबन्ध मिलाउन लागिएको बताउनुभयो ।
“अहिले हुनेखाने वर्गले मात्र जलविद्युत् केन्द्रमा शेयर हालिरहेको अवस्था छ, सरकारले प्रभावित क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी बिनाधितो शेयरको व्यवस्था गर्न लागेको छ”, मन्त्री खड्काले भन्नुभयो ।
उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई उहाँले आग्रह गर्नुभयो । मन्त्री खड्काले पहिले जलविद्युत् क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा धेरै समय लाग्ने गरे पनि हाल अधिकांश जलविद्युत् केन्द्रमा मोटरबाटोको पहुँच पुगेकाले काम गर्न थप सहज भएको बताउनुभयो ।
उहाँले हालैको मन्त्रिपरिषद् बैठकले ऊर्जा विकास मार्गचित्र २०८१ पारित गरिसकेकाले उक्त मार्गचित्र कार्यान्वयनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
“सरकारले निजी क्षेत्रका समस्या राम्रोसँग बुझेको छ । ऊर्जा उत्पादनका क्रममा देखिएका नीतिगत समस्या समाधान गर्दै सरकार अगाडि बढ्छ । यसअघि ऊर्जा उत्पादनको जिम्मामात्र निजी क्षेत्रलाई दिए पनि हाल प्रसारण लाइनसमेत निजी क्षेत्रले बनाउन पाउने व्यवस्था गरिएको छ । यसको लाभ लिन निजी क्षेत्रलाई आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।
इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा विकास मार्गचित्र ऐतिहासिक हुने धारणा राख्नुभयो । ऊर्जा क्षेत्रको विकासमा देखिने समस्यालाई सरकारले समाधान गरेमा सरकारले राखेको लक्ष्य पूरा गर्न कुनै कठिनाइ नहुने उहाँको भनाइ थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित