त्रि.वि., विश्वविद्यालय क्याम्पस, किर्तिपुरकी काेषाध्यक्ष पद्मा भुसाल
काठमाडौं/त्रिभुवन विश्वविद्यालयमा भएका डीन र २४ वटा आंगिक क्याम्पसमा प्रमुखहरूको नियुक्ति गर्यो । हाल त्रिविका ६४ वटा आङ्गिक क्याम्पस सञ्चालनमा छन्, जसमध्ये २४ वटामा क्याम्पस प्रमुख नियुक्ति गरिएको हो ।
तर पछिल्लो समय भएको डीनको नियुक्ति र हालैको क्याम्पस प्रमुख नियुक्तिमा समेत विभेद भएको भन्दै त्रि.वि., विश्वविद्यालय क्याम्पस, किर्तिपुरकी काेषाध्यक्ष पद्मा भुसालले आपत्ति जनाएकी छिन् ।
खुला प्रतिस्पर्धाबाट चयन भएका भनिएका त्रिवि पदाधिकारीहरूले समेत पुरानै भागवण्डाको प्रवृत्ति दोहोर्याएको र नाम मात्रैको मेरिट बेस बनाइएको आरोप भुसालको छ ।
को को बनाइए क्याम्पस प्रमुख
शंकरदेव क्याम्पसको प्रमुखमा सहप्रा कपिल खनाल, रत्नराज्य लक्ष्मी क्याम्पस-सहप्रा पदमकुमार अधिकारी, नेपाल कमर्श क्याम्पस-सहप्रा जितेन्द्रप्रसाद उपाध्याय, भैरवहा क्याम्पस-लक्कीप्रसाद जोशी, ललितकला क्याम्प-उपप्रा यामप्रसाद शर्मा, सानोठिमी क्याम्पस-उपप्रा माधवप्रसाद श्रेष्ठ, महेन्द्र बहुमुखी क्याम्पस-सहप्रा लालमणि आचार्य, सुर्खेत बहुमुखी क्याम्पस-सहप्रा माधवप्रसाद खनाल, विश्वभाषा क्याम्पस-उपप्रा महेन्द्रकुमार बुढाथोकी, पाटन संयुक्त क्याम्पस-सहप्रा रघुवीर विष्ट, बुटवल बहुमुखी क्याम्पस-उपप्रा अरुणकुमार क्षेत्री, रामस्वरुप रामसागर क्याम्पस-प्राध्यापक बसन्तकुमार कर्ण, भोजपुर बहुमुखी-सहप्रा पर्वतकुमार राई, पृथ्वीनारायण क्याम्पस-प्राध्यापक हरिप्रसाद पाठक, सूर्यनारायण सत्यनारायण क्याम्पस-सहप्रा राजेश्वरप्रसाद यादव, डोटी बहुमुखी क्याम्पस-सह दिलानन्द जोशी, त्रिभुवन बहुमुखी क्याम्पस-उपप्रा टंकप्रसाद पन्थ, जुम्ला बहुमुखी क्याम्पस-उपप्रा प्रकाशचन्द्र खत्री, वनविज्ञान अध्ययन संस्थान पोखरा-सहप्रा नारायणप्रसाद गौतम, कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ-उपप्राध्यापक रामकुमार श्रेष्ठ, पक्लिहवा क्याम्पस-सहप्राध्यापक जन्मजय गैरे, मेची बहुमुखी क्याम्पस-सहप्राध्यापक देवीप्रसाद आचार्य, केन्द्रीय प्रविधि क्याम्पस धरान-प्राध्यापक बसन्तकुमार राई र धौलागिरि बहुमुखी क्याम्पसको प्रमुखमा सहप्रा सुदर्शन सिलवाल नियुक्त भएका छन् ।
साथै, महिला प्राध्यापकहरूलाई अवसरबाट वञ्चित गरिएको भन्दै उनले लैंगिक विभेद भएको आरोपसमेत लगाएकी छिन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै भुसालले नियुक्ति प्रक्रियामा भागबन्डा गरिएको र समावेशीताको सिद्धान्तको पालना नगरेको भन्दै त्रिवि पदाधिकारीको ध्यानाकर्षण गराएकी हुन् ।
‘के महिला हुनु नै अयोग्यता हो ?,’ विज्ञप्तिमा उल्लेख छ, ‘सक्षम महिला प्राध्यापकहरू प्रतिस्पर्धामा नआउनुका पछाडि विगतमा उनीहरूमाथि भएका अपमानजनक व्यवहार पनि हुन् । यदि आगामी दिनमा पनि यस्तै अवस्था दोहोरिएमा कडा कदम चाल्न बाध्य हुनेछौँ ।’