बनेपा/ नेपाली काँग्रेस काभ्रेको बुधवार सम्पन्न जिल्ला कार्यसमिति बैठकले वार्षिक कार्ययोजनासहितको तालिका पारित गरेको छ । यस्तै, फागुन महिनाको नियमित बैठक खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा गर्ने निर्णय समेत गरेको छ ।
जिल्ला सचिव गुणराज मुक्तानका अनुसार काभ्रे काँग्रेसले चैत्र मसान्तभित्र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने, ‘सुख दुःखमा कांग्रेस’ अभियान चलाउने र अभिलेख व्यवस्थित गर्ने निर्णय गरिएको छ । कार्यतालिकामा पार्टीका संस्थापकहरुको स्मृति दिवसमा कार्यक्रम मनाउने पनि तय गरिएको छ ।
बैठकले माघ मसान्तसम्म पार्टीका सबै तहका कार्यसमितिलाई पूर्णता दिने, काभ्रे–काठमाडौं सम्पर्क समिति र स्थानीय तह सम्पर्क समिति गठन तथा पूर्णता दिने, फागुन मसान्तभित्र जनप्रतिनिधिसँग सम्वाद कार्यक्रम सञ्चालन गर्ने र सबै भातृ संस्थाको स्थानीय तहस्तरमा समिति गठन र पूर्णता दिने तय भएको सचिव मुक्तानले जानकारी दिनु भयो ।
बैठकलाई सम्बोधन गर्दै जिल्ला सभापति तीर्थ लामाले सबै नेता, कार्यकर्ता पार्टी विधान अनुसार सञ्चालन भए कुनै समस्या नहुनेमा जोड दिनुहुँदै पार्टीका गतिविधिमा समय र ध्यान दिन सबैलाई निर्देशन दिनु भयो ।
बैठककै अवसरमा नेपाली काँग्रेसले सञ्चालन गरेको सय दिने विशेष अभियान अन्तर्गत १३ वटै स्थानीय तहमा खटिएका जिल्लाका पदाधिकारी र नेताहरुले ती स्थानमा भएका गतिविधिबारे रिपोर्टिङ गरिएको थियो ।
सम्बोधनकै क्रममा सभापति लामाले भन्नुभयो, ‘सबै तहमा अभियान, क्रियाशिल सदस्यता वितरण र सम्मेलन सकेर चैत्र मसान्तभित्रमा जिल्ला सम्मेलन आयोजना गर्ने तय भएको छ ।’
बुधबारकै बैठकले रिक्त जिल्ला सदस्य पदमा पूर्व जिल्ला सदस्य इन्द्रबहादुर खड्का, पेमा नाम्गेल लामा, प्रल्हाद थापा र हेमा मानन्धरलाई मनोनित गरेको छ ।
सोही बैठकले नेपाली काँग्रेस काभ्रे–काठमाडौं सम्पर्क समितिको संयोजकको जिम्मेवारीमा बद्रिराज तिमल्सिनालाई तोकेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित