माघे संक्रान्तिमा प्रा.डा. राजेन्द्र कोजुको कोसेली : ‘मुटुको कथा’ लोकार्पण

काठमाडौँ / धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजुले लेख्नुभएको पुस्तक ‘मुटुको कथा’ माघे सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा मङ्गलबार अपराह्न भव्य समारोहवीच उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत, वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, धुलिखेल अस्पतालका संस्थापक डा रामकण्ठ माकजु, मुटुरोग विशेषज्ञ डा स्मृति शाक्य, हास्यकलाकार हरिबंश आचार्य र लेखक कोजुले पुस्तक लोकार्पण गर्नुभयो ।

कृतिबारे प्रा. डा. कोजुले भन्नु भयो ‘उहाँको कथा, यहाँको कथा, मेरो कथा, हाम्रो कथा (हामी सबैको मुटुको कथा)आफ्नै अनुभवसँगै आख्यानसहितको मुटु तथा स्वास्थ्य सम्बन्धी कथाहरूको सङ्गालो लिएर यहाँहरु सामु आएको छु । यहाँहरुको मायाको अपेक्षा गरेको छु। आशा छ उपयोगी पनि रहनेछ ।’

उहाँले जीवनको ४० वर्ष चिकित्सासम्बन्धी ज्ञान हासिल गर्ने सिलसिलामा २३ वर्ष मुटु स्वास्थ्यमै केन्द्रित भएर उपचारमा संलग्न हुँदा देखेका, भोगेका विषयबस्तुलाई सरल तरिकाले सर्वसाधारणसम्म पुर्याउन कथा, निबन्ध र स्मरण समेटेर पुस्तक प्रकाशन गरेको जानकारी दिनुभयो ।

Lahachhap

बुक हिलले प्रकाशन गरेको उक्त कृतिमा मुटुको कथा, बा छाति त दुखेको छैन नि ? हत्तेरिका औषधि नै छुट्यो, नूनको आत्मकथा, रक्सी समातेपछि र छाडेपछि, फेरिएको जीवनशैली, स्वस्थ जीवन र प्रार्थनासहित ४१ शीर्षकमा अनुभव, अनुभूति र घटनासम्बन्धी विषयबस्तु समेटिएका छन् । प्रा. डा. कोजुको व्यक्तिगत अनुभव, मुटुरोगसम्बन्धी ज्ञान र आख्यानको मिश्रणले भरिपूर्ण छ । यस पुस्तकले मुटु तथा स्वास्थ्यका विविध पक्षबारे जानकारी मात्र नभई स्वास्थ्यप्रति जनचेतना अभिवृद्धिमा योगदान पुर्याउने उद्देश्य राखेको बुक हिलका भुपेन्द्र खड्काले जानकारी दिनु भयो।

कार्यक्रममा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले तुलनात्मकरुपमा नेपालको स्वास्थ्य क्षेत्र राम्रो रहेको र त्यसमा चिकित्सकहरुले व्यावसायिक धर्म तथा बिरामीप्रति करुणा व्यक्त गर्न सकेमा अझ प्रभावकारी हुने धारणा राख्नुभयो ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले पुस्तकलाई आफूले सबैभन्दा नजिक सिरानीमा राख्ने साथीका रुपमा लिने गरेको हुँदा जन्मोत्सवलगायतका अवसरमा उपहारका रुपमा पुस्तक दिँदा उपयुक्त हुने धारणा राख्नुभयो ।

नेपालमा पहिलो पटक ओपन हार्ट सर्जरी प्रोगाम सुरु गर्ने शल्यचिकित्सक डा भगवान कोइरालाले समाज रुपान्तरणका लागि किताब लेखन र अध्ययनको प्रभाव लामोसमयसम्म रहने उल्लेख गर्दै हामीले व्यतित गरेको जीवनशैली र खानपीनमा सामान्य सुधार गर्न सके राम्रो स्वास्थ्यलाभ लिन सकिने अनुभव सुनाउनुभयो । “यस कार्यक्रमबाट गर्न नहुने धूमपान र गर्नै पर्ने व्यायाम सन्देश लिएर जान अनुरोध गर्दछु ।”

Lahachhap

डा रामकण्ठ माकजुले पुस्तक अध्ययनबाट धेरै ज्ञान प्राप्त हुने भएकाले मुटुको कथासम्बन्धी पुस्तकले अध्ययनका लागि थप प्रेरणा प्रदान गर्ने धारणा राख्नुभयो ।

डा. स्मृति शाक्यले किताबका लागि डा.कोजुलाई बधाई र शुभकामना दिनु भयो । ‘डाउन टु अर्थ’ स्वभावका र नम्र मुटुरोग विशेषज्ञ डा. कोजुले उपचारका क्रममा हासिल अनुभव किताबमा समावेश गर्नु भएको उल्लेख गर्नु भयो ।

लोकार्पण समारोहमा केयुका संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्मा, रजिस्ट्रार प्रा.डा. अच्युत वाग्ले, पूर्व रजिस्ट्रार प्रा. सुबोध शर्मा, धुलिखेल अस्पतालका अध्यक्ष एवं धुलिखेल नगरका पूर्व मेयर बेलप्रसाद श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, धुलिखेल अस्पताल र अन्य अस्पतालका विशेषज्ञ चिकित्सकहरू, धुलिखेलवासीहरु लगायत मुटुलाई माया गर्ने समुदायको उल्लेख्य सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments