काठमाडौं विश्वविद्यालयमा अङ्ग्रेजी तथा आमसञ्चार र पत्रकारितामा स्नातक तहको कार्यक्रम सुरु

काठमाडौं विश्वविद्यालयले अङ्ग्रेजी तथा आमसञ्चार र पत्रकारिता विषयमा स्नातक तहको कार्यक्रम (ब्याचलर इन इंग्लिस, मास कम्युनिकेसन एण्ड जर्नालिज्म) सुरु गरेको छ ।

स्कुल अफ आर्ट्स् अन्तर्गत भाषा तथा आमसञ्चार विभागले सञ्चालन गर्ने सो कार्यक्रमका कक्षा यही माघ महिनादेखि सुरु गरिने विश्वविद्यालयले जानकारी दिएको छ ।

चार वर्षे यो कार्यक्रम सेमेस्टर प्रणाली अन्तर्गत आठ सेमेस्टरमा पठनपाठन हुने र विद्यार्थीहरूले एउटै शैक्षिक उपाधिबाट अङ्ग्रेजी तथा आमसञ्चार र पत्रकारिता गरी दुईवटा विधाको विशिष्टिकृत ज्ञान तथा सिप हासिल गर्न पाउने विश्वविद्यालयको स्कुल अफ आर्ट्सकी डीन एक्कुमाया पुनले बताउनुभयो ।

“काठमाडौं विश्वविद्यालय नयाँ र मौलिक कार्यक्रमहरूमार्फत विद्यार्थीको पेसागत सिप एवं बौद्धिक क्षमता अभिवृद्धि गर्न र व्यावसायिक उत्कृष्टता कायम राख्न प्रतिबद्ध छ । आजका स्नातकहरू बहुविधामा निपुण हुनु पर्ने हुनाले हामीले पनि यस कार्यक्रमलाई बहुविधात्मक ढाँचामा तयार गरेका छौँ,” उहाँले भन्नुभयो ।

जम्मा १ सय २० क्रेडिटको यस कार्यक्रमले विद्यार्थीको भाषिक सक्षमता, समालोचनात्मक दृष्टिकोण, रचनात्मक लेखन र अन्तरविषयगत अध्ययनलाई प्राथमिकतामा राखेको छ ।

अङ्ग्रेजी भाषाको दक्षतालाई विशेष महत्त्व दिँदै साहित्यिक विधाहरू तथा बहुविधात्मक सांस्कृतिक अध्ययनका साथसाथै मिडिया अध्ययन, अनुसन्धान र सञ्चार रणनीतिहरू पनि पाठ्यक्रममा समेटिएको छ ।

सहभागितामुलक र रुपान्तरणमूखी पद्धतिका माध्यमबाट यो चार वर्षे कार्यक्रमले विद्यार्थीलाई अङ्ग्रेजी भाषा, साहित्य, आमसञ्चार तथा पत्रकारिता र सांस्कृतिक अध्ययनजस्ता विषयमा दक्ष बनाउँदै भविष्यका विविध शैक्षिक, व्यावसायिक तथा सांस्कृतिक भूमिकाको लागि तयार पार्दछ ।

“यस कार्यक्रमले स्नातकहरूलाई शिक्षा, पत्रकारिता, प्रकाशन, जनसम्पर्क, अनुसन्धान, गैर–सरकारी सङ्गठनहरू, कर्पोरेट सञ्चार र अन्य धेरै क्षेत्रमा प्रभावशाली काम गर्न सघाउँछ,” स्कुल अफ आर्ट्सकी डीन पुनले बताउनुभयो ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै प्राध्यापक डा. अभि सुवेदीले भाषा, साहित्य तथा आम सञ्चारलाई जोड्दै अध्ययनललाई वैश्विक रुपमा सान्दर्भिक बनाउने काठमाडौं विश्वविद्यालयको प्रयास सराहनीय भएको बताउनुभयो ।

“साहित्य र आम सञ्चारको काम नै स्थापित मान्यता र मानकहरुलाई भत्काउने हो, र त्यस कर्ममा यो कार्यक्रम सफल भएको छ,” उहाँले भन्नुभयो ।

कक्षा १२ वा सो सरह अध्ययन पूरा गरेका विद्यार्थीका लागि यो कार्यक्रम खुला रहेको जनाइएको छ ।

कार्यक्रममा जम्मा २० जना विद्यार्थी भर्ना लिइनेछ । कार्यक्रम अन्तर्गत कक्षाकोठा शिक्षण, इन्टर्नशिप, परियोजना कार्य, अनुसन्धान, लगायत आन्तरिक तथा बाह्य परीक्षण विधिमार्फत विद्यार्थीको सिकाइको अनुगमन तथा मूल्याङ्कन गरिन्छ ।

यस कार्यक्रमका स्नातकहरूबाट विभिन्न क्षेत्रमा योगदान दिने लक्ष्य विश्वविद्यालयले राखेको छ । जसमध्ये सरकारी सेवा, शैक्षिक क्षेत्र, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाहरू छन् ।

अङ्ग्रेजी भाषा, साहित्य र पत्रकारिता शिक्षण; प्रकाशन गृहहरूमा सम्पादकीय कार्य; अनुसन्धान र विकास; कर्पोरेट सञ्चार र जनसम्पर्क; सरकारी सेवा; अनुवाद र व्याख्या; सांस्कृतिक कूटनीति; फिल्म र विज्ञापन; साहित्यिक आलोचना; परामर्श र कपिराइटिङ, आदि विशिष्ट व्यावसायिक विकल्पका लागि विद्यार्थीहरूलाई यो शैक्षिक कार्यक्रमले योग्य तुल्याउने विश्वविद्यालयले विश्वास लिएको छ ।

भाषा तथा आमसञ्चार विभागले यसअघि मिडिया अध्ययनमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरूका साथै सञ्चार, अङ्ग्रेजी र नेपालीमा विद्यावारिधि कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

चलचित्र निर्माण, प्राज्ञिक लेखन तथा सञ्चार सिद्धान्तको विपश्चिमीकरण तथा मौलिक सिद्धान्तीकरण लगायतका विषयहरूमा अल्पकालीन शैक्षिक कार्यक्रम पनि विभागले सञ्चालन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments