नेपालका लागि बेलायती राजदूत रब फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् । पत्नी जुलिया फेनसँग धनुषाका विभिन्न क्षेत्रहरु घुम्न आउनु भएको राजदूत फेनले शनिबार आफ्नो वैवाहिक वर्षगाँठ जानकी मन्दिर परिसरमै मनाएका छन् ।
गत वर्ष काम विशेषले जनकपुरधाम आएको बेला उनले यहाँको संस्कृति र ईतिहासले आफू निकै नै प्रभावित भएको भन्दै आफ्नो वर्षगाँठ मिथिला शैलीमा यहीँ आएर मनाउने सोचेको बताए । उनले राम र सिताको प्रेमको चर्चा गर्दै यहाँ आएर फेरि आफ्नो श्रीमतीसँग विवाह गरेको जस्तै अनुभूति भएको बताए । उनले जनकपुरधाम विवाहको लागि उपयुक्त डेस्टिनेसन भएको धारणा राखे । उनले सम्पूर्ण बेलायतवासीलाई एक पटक जनकपुरधाम आउन आग्रह समेत गरे ।
मिथिलामा विवाहमा हुने स्वयंवरका बेला लगाइने फूलको वरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पाग लगाएर फेन दम्पतीले वैवाहिक वर्षगाँठ मनाएका हुन् । फेनकी धर्मपत्नी जुलियाले पनि मिथिलामा दुल्हनले सौभाग्यका लागि पहिरने रातो सारी र चुनरी (सल) पहिरिएकी थिइन् । बेहुला र बेहुलीले लगनगाँठो कसेझैँ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासलाई साक्षी राखेर उनीहरूले जानकी मन्दिरमा दर्शन पनि गरे ।
फेनले जुलियालाई अँगुठी पनि पहिराएका थिए । उनीहरूले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेसको परम्परागत भेष, भाषा, संस्कृति तथा रीतिरिवाज रमणीय र संसारकै उत्कृष्ट लागेको बताए ।
राजदुत फेनको वैवाहिक वर्षगाँठ कार्यक्रममा प्रदेशका सभामुख रामचन्द्र मण्डल, संस्कृति मन्त्री रानी शर्मा तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित