चितवन हात्ती महोत्सव सुरु

चितवन/ चितवनको पर्यटकीय क्षेत्र सौराहामा आजदेखि १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ ।

क्षेत्रीय होटेल सङ्घ नेपाल चितवनको आयोजनामा सुरु भएको महोत्सवको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री सिंहले महोत्सवलाई वन्यजन्तुमैत्री बनाउँदै पर्यटन प्रवर्द्धन बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालको सफारी पर्यटनलाई धानेको सौराहामा गरिएको हात्ती महोत्सवको विरोध गर्नुको कुनै तुक नरहेको बताउनुभयो । महोत्सव उद्घाटन अघि बृहत् झाँकीसहितको र्याली निकालिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज प्रवेशद्वार टिकट काउन्टरदेखि सुरु भएको शोभा यात्रा महोत्सवस्थल बाघमारा चौर पुगेर समापन भएको थियो ।

झाँकीमा विभिन्न जातजातिका भेषभूषामा सजिएका महिलाको उपस्थिति थियो भने शोभा यात्रामा हात्ती समावेश थियो । महोत्सवको पहिलो दिन आज मैत्रीपूर्ण हात्तीको फुटबल पेनाल्टी सुट आउट खेलाइएको थियो ।

पुस १५ गतेसम्म चल्ने महोत्सवमा हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी सुट आउट प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुङ्गा दौड प्रतियोगिता, ‘चितवनमा पर्यटनको सम्भावना हिजो र आज’ विषयक अन्तरक्रिया, स्थानीय भेषभुषा तथा कला संस्कृति सहित झाँकी प्रदर्शन, महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवर्द्धन र राष्ट्रिय तथा स्थानीय कलाकारको संस्कृति प्रस्तुति रहने महोत्सव संयोजक रामकुमार अर्यालले जानकारी दिनुभयो ।

व्यवसायीले महोत्सव अवधिमा सौराहा घुम्न आउने पर्यटकहरूलाई पुस १० देखि १६ गतेसम्म होटेल तथा रेस्टुरेन्टमा खाना तथा आवासमा १० प्रतिशत छुट घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments