बाढीपहिरोले आन्तरिक स्रोत प्रभावित भएपछि पनौतीले नगर सभाबाट बजेट घटायो

पनौती/काभ्रेपलाञ्चोक जिल्लामै सबैभन्दा बढी आन्तरिक स्रोत भएको पनौती नगरपालिकाले गत असोजको बाढीपहिरोबाट आम्दानीको प्रमुख स्रोत नै सुकेपछि चालु वर्षको बजेटमा भारी कटौती गरेको छ ।

पनौती–१२ रोशीक्षेत्र र पनौती–२ बिहाबरक्षेत्रमा रहेका सबैजसो खानी र क्रसर जडित उद्योगक्षेत्र बाढीपहिरोले तहसनहस बनाएपछि नगरको आम्दानीको मुख्य स्रोत नै ठप्प भएको हो ।

आन्तरिक आम्दानी नै न्यून भएपछि र अन्यत्रबाट आउने बजेटसमेत कटौती भएपछि बिहीबार १६ औं नगरसभाको बैठक नै डाकेर नगरपालिकाले बजेट कटौतीको निर्णय गरेको हो ।

नगरसभामा उपप्रमुख गीता बन्जाराले प्रस्ताव पेश गर्दै भनिन्, ‘चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमा कटौती गर्न बाध्य भएका छौं । किनकी हाम्रो आन्तरिक आय मानिएका खानी रोयल्टी, निकासी कर र सम्पत्ति कर संकलनमा असोजको बाढीपहिरोले प्रत्यक्ष असर गरेको छ’, उनले थपिन् ।

पनौती नगरपालिकाले नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठकमा आर्थिक बर्ष २०८१/८२ को लागि १ अर्व ६० करोडको प्रस्तावित बजेट पारित गरेको थियो । यो नगर सभाबाट १ अर्ब १४ करोड रुपैयाँ बजेट कायम भएको छ ।

जसमा नगरपालिकाले आन्तरिक आयबाट ४२ करोड ३८ लाख ६८ हजार संकलन हुने प्रक्षेपण गरेको थियो । तर, यो आम्दानी अब साह्रै न्यून हुने भएको छ ।

विहीबारको नगर सभाले बाढीपहिरो प्रभावित वडा नं. १, २, ८, १०, ११ र १२ का निश्चित क्षेत्रमा सम्पत्तिकर शतप्रतिशत छुट दिने प्रस्ताव पारित गरेको छ ।

यस्तै, साधारण निर्माणमुखी रोडाढुंगा उद्योगहरुबाट प्रयोग भइरहेको जग्गामा सम्पत्तिकर ५० प्रतिशत छुट दिएको छ ।

यसैगरी, करका समसामयिक विषयमा निर्णय गर्न सभाले नगर कार्यपालिकालाई अधिकारसमेत प्रत्यायोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments