फलो अप-धुलिखेल खानेपानी प्रणाली

विशेष साधारण सभाको पूर्व सन्ध्यामा राजनीतिक दलहरुले किन धुलिखेल खानेपानीलाई सुझाव पत्र पेश गरे ?

धुलिखेल/असोजको बाढीपहिरोले धुलिखेल खानेपानी प्रणालीको मुहानक्षेत्र र प्रसारण लाइन गएका भुभागहरुमा ठुलो क्षति भयो । मुहान रहेको पनौती नगरपालिकासँग संवादको कमी भएको महसुस गरी धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र धुलिखेल नगरपालिकालाई जागरुक बनाउन धुलिखेलसिथत सबै राजनीतिक दलहरु र सारकारवालाहरुको अह्‌म भूमिका रह्यो ।

त्यसपछि विभिन्न चरणमा संवादहरु भए । अन्ततः खानेपानी प्रणालीलाई मर्मत सम्भार गर्दै सुचारु गर्नमा सबै पक्षहरु समहत पनि भए । धुलिखेलमा विकास निर्माणका कार्यमा हुने गरेका यस्ता साझा पहलहरुलाई उदाहरणीय मानिँदै आइएको छ ।

परिणामतः पुस ८ गतेबाट धुलिखेल खानेपानी प्रणालीको प्रशोधन केन्द्रमा खारखोलाको पानी खस्न थाल्यो । पानीको सास्ती भोगेका धुलिखेलवासीले त्यस दिन मज्जाले घर-घरमा पानी थाप्न पाए ।

पुस १० गते आयोजना गरिएको विशेष साधारणभाकै २ दिन अगाडिबाट लामो समय अवरुद्ध भएको खानेपानी प्रणाली सुचारु गर्न सकिएकोमा समितिका सचिव श्यामदर्शन गनेजु मख्ख थिए ।

उनी भन्छन्, ‘मुहानक्षेत्रका बासिन्दाको मनकारी सहयोग, पनौती-१२ वडा कार्यालय र पनौती नगरपालिकाले खानेपानी प्रणालीलाई सुचारुका लागि मद्दत गरेको छ । मर्मत सम्भार र प्रसारण पाइप जडानमा नेपाल प्रहरीका साथै पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं हेक्वा गण, समितिका प्राविधिक र पदाधिकारीहरुको सक्रिय सहयोग रह्यो । सिडियो साब, नगरपालिका, राजनीतिक दलहरु, सरोकारवालाहरु र पत्रकारहरुको साथ र सहयोग रह्यो । हामी सबैप्रति आभारी छौं’, उनले थपे ।

उता, अवरुद्ध खानेपानी प्रणालीलाई सुचारु गर्न क्रियाशील बनेका धुलिखेलका राजनीतिक दलहरु तथा सरोकारवालाहरुले दीगो खानेपानी प्रणालीका लागि चासो देखाएका छन् । धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बुधबार बस्ने विशेष साधारणसभा अगावै साझा सुझाव पत्र पेश गरेका छन् ।

धुलिखेलमा खानेपानीको प्रणालीको दीगो, सहज र सुलभ आपूर्तिका लागि यस्तो साझा सुझाव पत्र पेश गरिएको धुलिखेलवासी एवं नेपाल उद्योग वाणिजय महासंघका केन्द्रीय सदस्य मन्जुकुमार कोजुको भनाई छ ।

साझा सुझाव पत्रका बुँदाहरु

  • १. खानेपानीको महशुल वृद्धि गर्दा वैज्ञानिक र न्यायोचित रुपमा निर्धारण गरिनु पर्ने र हालको मूल्यमा अधिकतम २५ प्रतिशतसम्म शुल्क बृद्धि गर्न उपयुक्त हुने देखिन्छ ।
  • २. प्राकृतिक प्रकोप कोष खडा गरी थप १० प्रतिशत शुल्क उठाउने प्रस्तावलाई खारेज गरिनु पर्ने ।
  • ३. प्रत्येक उपभोक्ताबाट थप रु. ५,०००/- अग्रीम शुल्क लिने प्रस्ताव उपभोक्ताहरुको हित विपरित भएकाले खारेज गरी सोको वैकल्पिक बजेट व्यवस्थापनका लागि धुलिखेल नगरपालिकालाई अनुरोध गर्नु उपयुक्त देखिन्छ ।
  • ४. व्यवसायिक धारा र घरायसी धाराको वर्गीकरण गरी शुल्क निर्धारण गरिनु पर्ने ।
  • ५. खानेपानी उपभोक्ता समितिको बक्यौता रहेको रकम अविलम्ब असुलउपर गरिनु पर्ने ।
  • ६. हाल धुलिखेल नगरपालिकामा भौगोलिक रुपमा लामो दूरीको क्षेत्रबाट पानी आपूर्ति भइरहँदा हुन सक्ने प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै यस क्षेत्रभित्रका आन्तरिक खानेपानीका स्रोतहरुको सम्भाव्यता अध्ययन र पहिचान गर्दै वर्तमान मौजुदा रिजर्भ ट्याङ्कीको क्षमता वृद्धि गर्ने । धुलिखेल नगरपालिका ३, ४ र ५ वडामा डिप बोरिङको व्यवस्था गरिनु पर्ने र सोको बजेट व्यवस्थापनका लागि धु.न.पा.ले अपनत्व ग्रहण गरी अगाडी बढ्न सुझाव पेश गर्दछौं ।
  • ७. हालको खानेपानी आयोजनालाई स्थायी संरचना बनाइ पुनः निर्माण गर्नका लागि नपुग रकम प्रदेश र संघीय सरकारसँग सहयोग र अनुदानका लागि विशेष पहल गरिनु पर्ने ।
  • ८. पनौती नगरपालिकासँग भएको सम्झौताअनुसार खानेपानीको स्रोत बृद्धि गर्नका लागि आवश्यक योजना सहित पहल गर्ने ।
  • ९. खानेपानी वितरित सबै वडाहरुमा समानुपातिक रुपमा खानेपानी वितरण गरी आम उपभोक्ताहरुको खानेपानीप्रतिको विश्वसनीयतालाई अझै प्रगाढ तुल्याउन समय कार्यतालिका बनाई पानी वितरणको व्यवस्था गर्नु पर्ने ।
  • १०. धुलिखेल खानेपानी उपभोक्ता समिति एवम् पनौति नगरपालिका वडा नं. १२ बिच भएको सहमति र धुलिखेल खानेपानी उपभोक्ता समिति, पनौती नगरपालिका एवम् धुलिखेल नगरपालिकाविच जिल्ला प्रशासन कार्यालय, काभ्रेको समन्वयमा भएको सहमतिलाई हार्दिक स्वागत र सम्मान गर्दछौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments