काठमाडौं / गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका माथिल्लो तामाकोशी जलविद्युत केन्द्रकाे आंशिक मर्मत सम्भार गरी ८८ दिनपछि मङ्गलबार बेलुका ७.४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु भएको छ । उत्पादित बिद्युत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रुपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।
अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्याएको थियो ।
पहिरोले क्षति पुर्याएको डिस्याण्डर आंशिक मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीका रुपमा सञ्चालनमा ल्याइएको हो । केन्द्रलाई पुसभित्रमा पिक समयमा चलाउन सक्ने गरी मर्मतसम्भार भइरहेको छ ।
जलविद्युत केन्द्रको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले मङ्सिर १८ मा स्थलगत अनुमगन गरी पुस १० भित्रमा मर्मतसम्भार सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरेको थियो ।
कार्यकारी निर्देशक घिसिङले कम्पनी सञ्चालक समिति, व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीको निरन्तर प्रयास र रातदिनको खटाईबाट माथिल्लो तामाकोसीको मर्मत सम्भार सम्पन्न भई तालिकाभन्दा एक दिन अघि नै विद्युत् उत्पादन सुरु गर्न सफल भएको बताउनुभयो ।
जलविद्युत केन्द्रका सम्पूर्ण संरचनाको बीमा गरिएकाले क्षति पुगेको संरचनाको मर्मतसम्भार खर्च बीमाबाट प्राप्त रकमबाट बेहोरिने छ । कम्पनीले पहिरोले पुर्याएको क्षतिको १ अर्ब ७८ करोड रुपैयाँको प्रारम्भिक बीमा दावी गरेको थियो ।
कम्पनी र विमक राष्ट्रिय बीमा कम्पनीबाट संयुक्त रुपमा हाल क्षतिको यकिन मूल्याङ्कन भइरहेको छ । उक्त काम सम्पन्न भएपछि बीमाको रकम भुक्तानी प्राप्त हुनेछ । यसैगरी, विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीको तीन महिनाको बीमा गरिएको छ । बीमा सम्झौतामा उल्लिखित सर्तवमोजिम कम्पनीले दुई महिनाको आम्दानीको भुक्तानी पाउने छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित