बाढीपहिरोले काभ्रेपलाञ्चोकका तीन हजार तीन सय निजी आवासमा क्षति

काभ्रेपलाञ्चोक/ भीषण बाढीपहिरो गएको करिब तीन महिनापछि जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयले जिल्लामा भएका निजी आवासको क्षति विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरणअनुसार जिल्लाका तीन हजार तीन सय ३८ निजी आवासमा क्षति पुगको छ ।

कूल क्षति पुगेको निजी आवासमध्ये दुई हजार पाँच सय ७७ घर पूर्णरुपमा क्षति भएका छन् । सात सय ५१ घरमा आंशिक क्षति पुगेको छ ।

त्यसैगरि ६८ घरपरिवार स्थानान्तरणका लागि सिफारिस भएका छन् । कार्यालय प्रमुख भूमिनन्द ढकालका अनुसार १२ सरकारी भवनमा पूर्णरुपमा क्षति पुगेको छ भने एक सय ३५ वटामा आंशिक क्षति पुगेको छ ।

आठ सार्वजनिक भवन पूर्णक्षति भएका छन् भने एक सय ३४ वटामा आंशिक क्षति पुगेको जनाइएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये पनौती नगरपालिका तथा रोशी र बेथानचोक गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएका छन् ।

घर पूर्णरुपमा क्षति भएकामध्ये बेथानचोक गाउँपालिकामा छ सय २९, नमोबुद्ध नगरमा चार सय ८९, रोशीमा तीन सय ५० र तेमालमा चार सय ३९ घर छन् ।

त्यसैगरी चौरीदेउराली गाउँपालिकामा एक सय ३४, भुम्लुमा एक सय २२, धुलिखेल नगरमा ८०, पाँचखाल नगरमा ७६, पनौती नगरमा ५९, बनेपा नगरमा ४७, मण्डनदेउपुर नगरपालिकामा ८४ तथा खानीखोला गाउँपालिकामा ४५ र महाभारतमा २३ घर पूर्णरुपमा क्षति भएको कार्यालयले जनाएको छ ।

जिल्लामा स्थानान्तरण गर्नुपर्ने घरपरिवारमध्ये चौरीदेउरालीमा २३, मण्डनदेउपुरमा १३, पाँचखालमा १३, रोशीमा नौ, खानिखोलामा र बेथान्चोकमा ५/५ घरपरिवार छन् ।

बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ७९ जनाको मृत्यु भएको थियो भने ७८ घाइते तथा छ जना बेपत्ता छन् ।
जिल्लाका स्थानीय तहबाट प्राप्त क्षतिको विविरण अनुसार पुनःनिर्माण तथा पुनःस्थापनाका लागि बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहितको विवरण पठाइएको कार्यालय प्रमुख ढकालले बताउनुभयो ।

उहाँका अनुसार २० वटा सरकारी तथा सार्वजनिक भवन पुनःनिर्माण गर्नुपर्ने देखिएको छ ।

“केही स्थानमा बस्ती तहसनहस भएकाले सुरक्षित क्षेत्रमा एकीकृत बस्ती विकास गर्नुपर्ने देखिएको छ, सरोकारवाला निकायलाई यसैअनुसार सुझाव प्रस्तुत गरेका छौँ”, ढकालले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments