माघ ४ गतेको सिनेट बैठकमा विधिवत् प्रतिवेदन पेस गरिने

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको समस्या मिलाउन सहजीकरण समिति गठन

काठमाडौँ / काठमाडौँ विश्वविद्यालयको ९८ औँ सभाको आजको बैठकले सो विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन गरेको छ । 

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा भएको बैठकले थप गृहकार्य र सम्बन्धित पक्षसँग संवाद गरी आगामी माघ ४ गते बस्ने सिनेट बैठकमा विधिवत् प्रतिवेदन पेस गर्न समितिलाई अख्तियारी दिएको हो । 

समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. भोला थापा, स्कुल अफ मेडिकल साइन्सेसका डीन प्रा. डा. मनोज हुमागाईँ, स्कुल अफ लका डीन डा. ऋषिकेश वाग्ले तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठ, प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्य र अनुसन्धान निर्देशक प्रा. डा. राजीब श्रेष्ठ रहेका छन् । 

बि. सं. २०५९ चैत १९ गतेको आपसी सम्झौताका आधारमा सहकार्यमा रहेका ती संस्थाबीच बेमेल देखिएपछि गत साउन ३० गतेको ९७ औँ सभामा कुलपतिका एवं प्रधानमन्त्री ओलीले आपसी संवादबाट समाधान खोज्न गर्नुभएको प्रस्ताव पारित भएको थियो । 

यसबीचमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको संयोजनमा दुवै पक्षलाई संवाद र सहमतिको विन्दुमा ल्याउन भएका पहल र समाधानको विकल्पका विविध पक्षबारे आजको बैठकमा छलफल भएको थियो ।

आर्थिक र कर्मचारी नियमावलीसँग बाझिने गरी विश्वविद्यालयले एकपक्षीयरुपमा निर्णयहरू गरेको भन्दै अस्पतालले असन्तुष्टि जनाएपछि विवाद उत्पन्न भएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments