काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेटको उद्घाटन खेलमा सफलता हासिल गरेको जनकपुर बोट्ल्सका कप्तान अनिलकुमार साहले प्रतियोगितामा विजयी सुरूआत गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको एनपिएलको पहिलो खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई आठ विकेटले पछि पार्दै जित निकालेको थियो ।
कप्तान शाहले आफ्नो टोली प्रतियोगिताका लागि तयारी अवस्थामा रहेकाले पनि जित हासिल गर्न सहज भएको बताउनुभयो ।
उहाँले मुख्य प्रशिक्षक पुबुदु दासानायकेको योजनाअनुसार खेलाडीले खेलेकै कारण प्रतियोगितामा सुखद सुरूआत गर्न सफल भएको बताउनुभयो ।
त्यसैगरी, विराटनगर किङ्ग्सका ब्याटर मार्टिन गप्टिलले सुरूआतमा ब्याटिङ गर्न केही अफ्ठ्यारो भएको बताउँदै आगामी खेलमा विराटनगरले सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “पहिलो खेलमा राम्रो गर्न सकिएन आगामी खेलमा बलियो भएर आउनेछौँ ।
विराटनगरले दिएको एक सय २८ रनको लक्ष्यलाई जनकपुरले १५ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
त्यसअघि विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय २७ रनको योगफल बनाएको थियो ।
एनपिएलअन्तर्गत आइतबार कुनै पनि खेल हुने छैन । यही मङ्सिर १७ गते भने दुई खेल हुनेछ ।
बिहान ९:१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजको सामना गर्नेछ ।
त्यस्तै, दिउँसो १:१५ बजे हुने दोस्रो खेलमा जनकपुर बोट्ल्सले कर्णाली याक्ससँग खेल्नेछ ।
स्वदेशी तथा विदेशी खेलाडीको वर्चस्व रहेको एनपिएलमा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित