आयोजनाको परीक्षण सफल

दुई अर्ब ६३ करोडको लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न

ताप्लेजुङ / ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ ।

काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो ।

परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी शनिबारसम्ममा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ ।

उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सब–स्टेसन (१३२ केभीए क्षमता) मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

सिरिजङ्घा –८ याम्फुदिनको राते खोलामा अवस्थित विद्युतगृहबाट अमरपुर सब–स्टेसनसम्मको करिब ३१ किलोमिटर दूरीमा रहेका प्रसारण लाइनको परीक्षण पनि सफल भएको छ ।

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना स्नो रिभर्स लिमिटेडले निर्माण गरेको हो ।

विसं २०७९ मङ्सिर अन्तिम साताबाट सुरु भएको आयोजना छोटो अवधिमै सम्पन्न भएको जनाइएको छ । करिब रु दुई अर्ब ६३ करोड २९ लाखको लागतमा निर्माण सम्पन्न भएको यो आयोजना क्षेत्रीय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

सोही क्षेत्रमा काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले २१ दशमलव १३ मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ, यसले स्थानीय र राष्ट्रिय ऊर्जा उत्पादनलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments