काठमाडौँ / चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस ११ देखि १५ सम्म ‘१८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव’ आयोजना गरिने भएको छ ।
सफारी पर्यटन प्रवर्द्धनका साथै चितवनलाई महत्वपूर्ण पर्यटन गन्तव्य स्थलका रूपमा चिनाउने अभिप्रायले महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
क्षेत्रीय होटल सङ्घ चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लि र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह आयोजनामा सौराहामा महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवलाई विगतभन्दा पृथक र भव्य बनाइने क्षेत्रीय होटल सङ्घ चितवन
का अध्यक्ष गङ्गा गिरीले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकलाई प्रवर्द्धनमा महोत्सव उपयोगी हुने उहाँले उल्लेख गर्नुभयो ।
गिरीका अनुसार महोत्सवका कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकको आगमनमा वृद्धि हुने गरेको छ ।
महोत्सवअन्तर्गत हुने विभिन्न गतिविधिमा निजीस्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका गरी ८० वटा हात्ती सहभागी हुनेछन् । महोत्सवका लागि करिब रु एक करोड ३५ लाख खर्च हुने जनाइएको छ ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड
का वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले हात्ती महोत्सव पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको र यसलाई बजारीकरण गर्न बोर्डलगायत सरोकारवालाले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले वाइल्ड लाईफ सफारीका लागि प्रसिद्ध चितवनको समग्र पर्यटन विकासमा महोत्सव उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सौराह पर्यटन प्रवर्द्धन समितिका संयोजक भेषराज दुवाडीले सौराहाको पर्यटनलाई अन्तर्राष्ट्रिय जगत्मा पहिचान गराउन महोत्सव सान्दर्भिक हुने बताउनुभयो ।
हात्ती महोत्सवलाई सफल बनाउन तीनै तहका सरकारसहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड र चितवन राष्ट्रिय निकुञ्जको सहयोग रहेको छ ।
विस २०५५ देखि महोत्सव निरन्तर भइरहेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित