कलाँती(काभ्रेपलाञ्चोक)/ पशुबीमा गर्दै आएका निजी बीमा कम्पनीहरुले बाढीपहिरोमा क्षति भएका पशुधनको दावी भुक्तानीका लागि अनेकन कागजपत्रहरु माग गरेर किसानहरुलाई झुलाइरहेको भन्ने आरोप लागिरहेको अवस्था छ ।
तर, सहकारीबाट पशुधनको सुरक्षण गरेका किसानहरुले पशुबस्तु क्षति वापतको रकम धमाधम पाउन थालेका छन् । सहकारीले प्रदान गरेको पशु सुरक्षण क्षतिपूर्ति रकमले किसानलाई साविककै पशुपालनमार्फत जिविकोपार्जनमा फर्कनका लागि सहज हुन थालेको छ ।
यो दृष्टान्त हेर्नका लागि धेरै टाढा जानु पर्दैन । गत असोजको बाढीपहिरोबाट पनौती नगरपालिकामा सबैभन्दा बढी क्षति व्यहोरेको वडा नं १२ स्थित श्री कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेड
को पशु सुरक्षण कार्यक्रमलाई लिन सकिन्छ ।
सहकारीका अध्यक्ष वुद्धवीर तामाङका अनुसार सहकारीमै आवद्ध सदस्यहरुको २ सयभन्दा बढी पशुधन बाढीपहिरोको विपदमा क्षति भएका छन् । यीमध्ये सहकारीको पशु सुरक्षण कार्यक्रममा आवद्ध भएका २५ सदस्यलाई मात्रै पशुधन क्षति बापतको रकम प्रदान गरिएको हो ।
‘सुरक्षणमा रहेका ५० वटा पशुधनको क्षति वापतको रकम भुक्तानी गरिरहेका छौं । सदस्य किसानहरुलाई ४२ वटा गाई/भैंसी र ८ वटा बाख्राको क्षति बापत कूल रकम २६ लाख १० हजार रुपैंया पशु सुरक्षण क्षतिपूर्ति स्वरुप वितरण गरेका हौं’, उनले थपे । यसरी प्रदान भएको क्षतिपूर्ति रकम २१ हजार रुपैंयादेखि ४ लाख १८ हजार रुपैँयासम्म रहेको छ ।
५ वटा पशुहरुको क्षति बेहोरेकी सदस्य सुमित्रा थापाले सुरक्षण कार्यक्रममार्फत् ४ लाख १८ हजार रुपैँया क्षतिपूर्ति पाएकी छन् । उनी सबैभन्दा बढी संख्यामा पशुधन सुरक्षण गर्ने र विपदमा पनि क्षतिपूर्ति धेरै पाउने किसानमा गनिएकी छिन् ।
पशुधन सुरक्षण कार्यक्रममा आवद्ध हुनका लागि १ लाख मोल पर्ने पशुबस्तुको १ हजार २ सय रुपैँया शुल्क बुझाउनु पर्ने नियम बनाइएको छ । यस शुल्कमा पनि संघ सरकार र स्थानीय तहले समय समयअनुसार अनुदान दिँदै आएका छन् ।
उता, सहकारीले म्यादी जीवन सुरक्षण कार्यक्रममार्फत सदस्यहरुको परिवारलाई समेत राहत दिइरहेको छ । यस पटक बाढीपहिरोमा निधन भएका एक जना सदस्यको परिवारलाई ३ लाख रुपैँया पनि प्रदान गरेको छ ।
अध्यक्ष तामाङका अनुसार सहकारीमा आवद्ध सदस्यले एक पटक म्यादी जीवन सुरक्षण कार्यक्रमअन्तर्गत ८ हजार ५ सय रुपैंया शुल्क बुझाएपछि ५९ वर्षको उमेरभित्रमा निधन भएमा परिवारलाई ३ लाख रुपैँया प्रदान गर्दै आएको हो ।
यतिखेर श्री कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेडले मल्पी, कुशादेवी र रयालेसम्म सेवा क्षेत्र बिस्तार गरेको छ । हाल १ हजार १ सय १५ जना शेयर सदस्यहरु रहेका छन् । बाढीपहिरोबाट प्रभावित शेयर सदस्यहरु अन्यत्र बसोबासका लागि जाने क्रम बढेसँगै सदस्यलाई टिकाइराख्नका लागि सहकारीलाई चुनौतीसमेत थपिएको छ ।
‘पशुको पनि बीमा हुन्छ र?’ भनेर नपत्याउने माहौलमा २०५५ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापति कृष्णप्रसाद सापकोटाको अग्रसरतामा सामुदायिक पशु बीमा कार्यक्रम लागू भएको थियो । त्यतिखेर काभ्रेपलाञ्चोक जिल्लामा युएनडिपी/पिडिडिपी कार्यक्रम
अन्तर्गत यो अवधारणा ल्याइएको थियो ।
पिडिडिपी कार्यक्रम लागू भएका कलाँती भुमिडाँडा, कुशादेबी, रयाले, चण्डेनीमण्डन, महादेवस्थान मण्डन, मेथिनकोट, खनालथोकलगायतका तत्कालीन गाविसहरुमा पशुवस्तु मरेमा हुने सम्भावित नोक्सानीबाट किसानलाई बचाउन जिल्लामै पहिलो पटक नमूनाको रुपमा पशुवस्तुको बीमा कार्यक्रम सुरु भएको थियो ।
सुरुमा सामुदायिक पशु बीमा कार्यक्रमका रुपमा सुरु भएको यस कार्यक्रमलाई पछि बीमा सहकारी संस्थामा रुपान्तरण गरिएको पशुधन सुरक्षणका अभियानकर्मी दीपकप्रसाद पौडेलको भनाई छ ।
सहकारी विभागले ‘बीमा’ नाम र उद्देश्य भनेर सञ्चालनमा रहेका पशु बीमा समूहहरुलाई सहकारीमा दर्ता गर्न नदिएको अवस्थामा सहकारी र कृषक समूहले पशुधन सुरक्षणका कामहरु साना किसान कृषि सहकारीअन्तर्गत पशुधन सुरक्षण कार्यक्रमका रुपमा समाहित हुन थालेको हो ।
अहिले पनि पनौती नगरपालिकामा कलाँती भूमेडाँडा, कुशादेबी र रयालेमा यो मोडलको पशु बीमा कार्यक्रम प्रभावकारी भइरहेको छ । यस कार्यक्रमलाई पनौती नगरपालिकाले समेत सहयोग गरिरहेको पाइन्छ ।
सरकारले २०६९ सालमा कृषि बीमाको नीतिगत व्यवस्था गरेसँगै नेपालमा बाली तथा पशुपन्छीको बीमातर्फ निर्जिवन बीमा कम्पनीहरु आकर्षित हुन थालेका हुन् ।
नेपालमा बीमा व्यवसायको नियमनकारी निकाय तत्कालीन बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण
)ले जिल्ला तोकेर निर्जिवन बीमा कम्पनीलाई पशु बीमा गर्न निर्देश दिएको थियो । क्षतिपूर्ति दाबी भुक्तानीलगायतका प्रक्रियाहरु झण्झटिलो हुँदा किसानहरु सहकारीकै पशुधन सुरक्षण कार्यक्रममा आकर्षित देखिएका छन् ।
‘कलाँती भुमिडाँडामा २०५५ सालमा सामुदायिक पशु बीमा कार्यक्रम सुरु गराएका हौं । पशुबस्तुको मोलका १० प्रतिशतमै बीमा हुन्छ । केही गरि पशु बस्तु मरिहालेमा कीलोमै आएर ८० प्रतिशत क्षतिपूर्ति रकम गनिदिन्छौं भनेर सम्झाउँथ्यौं ।
तर, धेरैले विश्वास गरेका थिएनन् । क्षति भइहालेमा कहाँबाट दिन्छ भन्थे । धेरै वर्ष यसरी चलाइएको कार्यक्रम यतिखेर श्री कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेडले औपचारिक रुपमै सञ्चालन गरिरहेको छ ।
पशुधन सुरक्षण कोषलाई वृद्धि गर्दै लगिरहेका छौं । अहिले पनि १ करोड २० लाख रुपैंयाको कोष मौज्दात छ । किसानलाई जिविकोपार्जनमा पुनः फर्काउनका लागि तत्कालै क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउँछौ किनकी यो समुदायले नै सुरु गरेको पशुधन सुरक्षण कार्यक्रम हो ।
तर, यस्तो प्रभावकारी पशुधन सुरक्षण कार्यक्रमलाई यो वा त्यो बहानामा कुनै निकायले निजी कम्पनीमार्फत गराउन खोजिएकोमा हामी सहकारी सदस्यहरुको आपत्ति छ । सफल पशुधन सुरक्षण कार्यक्रमको प्रभावकारिता र कृषक सहभागिता हेर्नका लागि हाम्रै सहकारी र कुशादेवीको सहकारीमा गएर हेर्न अनुरोध गर्दछु ।’
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित