बाढीपहिरोबाट रोशी गाउँपालिकामा मात्रै साढे ३ अर्बको क्षति, पूर्ववत् अवस्थामा फर्काउन अवरोधहरु धेरै

काभ्रे/ गत असोजको बाढीपहिरोबाट जिल्लामै सबैभन्दा बढी प्रभावित रोशी गाउँपालिकाले प्रारम्भिक हानि तथा क्षतिको मूल्याङ्कन सार्वजनिक गरेको छ ।

गाउँपालिकाको विशेष अधिवेशनमार्फत अध्यक्ष दिनेश लामाले बाढीपहिरोबाट साढे ३ अर्ब रुपैँया बराबरको क्षति भएको विवरण सार्वजनिक गरेका हुन् ।

भौतिक पूर्वाधार, निजी आवास, विद्यालय, अस्पताल, कृषि तथा पशुपन्छी र सिँचाइमा उक्त रकम बराबर आर्थिक क्षति भएको अनुमान गरिएको हो ।

अध्यक्ष लामाले बाढीपहिरोलगत्तै गाउँपालिकाका बासिन्दाहरुलाई राहत तथा उद्धारसँगै बिपी राजमार्गमा अलपत्र परेका यात्रुहरुको उद्धार र तिनका सवारी साधनको व्यवस्थापन गर्नु पनि थप कर्तव्य भएको बताए ।

‘५ हजारभन्दा बढी नागरिकको उद्धार गर्‍यौं । जसमा एक हजार जनालाई हेलिकप्टरबाट उद्धार, अलपत्र नागरिकहरुलाई खानेबस्ने व्यवस्था पालिकाकै निर्माणाधीन भवनमा गरेका थियौं’, पत्रकार सम्मेलनमा उनले थपे ।

बाढीपहिरोले जनधनको धेरै क्षति

गाउँपालिकाका अध्यक्ष लामाका अनुसार पालिकामा १२ जनाको मृत्यु, ५ सय ४ घर पूर्ण क्षति, ९ सय ११ घर आंशिक क्षति, २ हजार ५ सय ४४ जनाको खेतबारी र पशुपंक्षी बाढीपहिरोमा परेको, ४४ वटा विद्यालयमा क्षति, एउटा क्याम्पस, ४ वटा स्वास्थ्य संस्था तथा पक्की पुल एक, ४ झोलुङ्गे पुल बगाएको छ ।

साथै १० शैयाको अस्पताल, रोशीको जीवन्त संग्रहालय डम्फु पार्क तथा औद्योगिक ग्रामको प्रशासनिक भवन बाढीले बगाएको छ । त्यस्तै ४ हजार ५ सय बिघा खेत र ५ हजार ४ सय बिघा बारी बाढी र पहिरोमा क्षति भएको प्रारम्भिक विवरण संकलन भएको छ ।

बिपी राजमार्गको चौकीडाँडादेखि कालढुंगासम्मको १८ किलोमीटरमध्ये १२ किमी सडक नै क्षति भएको छ । ७३ वटा पसल व्यवसाय, ३ वटा फार्मेसी, ४ वटा सहकारी, २९ लाख बराबरको कोल्ड स्टोरमा क्षति पुगेको छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोशीलाई गहिरो क्षति पुगेको छ ।

बाढीपहिरोबाट १२ जना नागरिकको ज्यान गयो । दशैंअगावै २ लाख संघ सरकारबाट र पालिकाबाट ५० हजार प्रदान गर्‍यौं । यतिखेर प्रदेशबाट जिल्ला विपदमार्फत प्राप्त ९ लाख वितरण गर्न सकेका छैनौं । किनकी अझै ३ जना मृतकको परिवारलाई अपुग हुन्छ ।

तत्काल राहतमा सबैतिरबाट सहयोग

बाढीपहिरो प्रभावितहरुको तत्काल राहतका लागि खाद्यान्न लत्ता कपडा गाउँपालिकाकै स्रोतबाट किनेको पालिकालाई संघसंस्थाहरुले पनि यथाशक्य सहयोग गरेका छन् ।

सिआरएसमार्फत शान्ति जनआदर्श सेवा केन्द्रले अत्यन्तै प्रभावित १ सय ८ परिवारलाई नगद राहत वितरण गरिसकेको छ । केन्द्रले राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्वीकृतमिा नेपाल सरकारले प्रदान गर्नु पर्ने राहत रकम संस्थाको तर्फबाट वितरण गरेको हो ।

यसरी वितरित कूल १८ लाख ३० हजार रुपैंया ४२ परिवारलदाई २० हजार र ६६ परिवारलाई १५ का दरले हजार वितरण सम्पन्न भइसकेको छ । प्राधिकरणले ५ जनाको परिवारसम्मका लागि १५ हजार र सोभन्दा माथिका लागि २० हजार रुपैंया वितरण गर्ने नीति राखेको छ ।

उता, विश्व खाद्य कार्यक्रमले पनि प्राधिकरणकै स्वीकृतिमा १ हजार २ सय घरधुरीलाई प्रति परिवार १५ र २० हजार रुपैंया वितरण गर्ने भएको छ ।

शुक्रबारसम्ममा १ हजार ७७ घरधुरीको विवरणसहित र बैंक खाता नम्बर संकलन भएको छ । ‘दर्ता सकियो अब खातामै रकम जान्छ । ढिलोमा ५ दिनभित्र नगद उपलब्ध गराउने योजना छ’, लामाले भने ।

दोस्रो चरणमा अस्थायी आवाश र पुनर्वास

नेपाल सरकारले अस्थायी आवाशका लागि प्रदान गर्ने ५० हजार रुपैंयाका लागि प्रभावितहरुको विवरण गृहको पोर्टलमा अपडेट भइरहेको जानकारी दिइयो ।

यस्तै, वडा नं १ र २ मा सेभ द चिल्ड्रेन नेपालले ३० वटा अस्थायी सेल्टर बनाइदिने पालिकासँग सहमति गरेको छ ।

उता, वडा नं ११ मा २७ वटा र १० मा १३ वटा गरी ४० वटा अस्थायी आवासका लागि जस्तापाता र किलाकाँटा उपलब्ध गराउने क्याप्टिभ संघले सहमति गरेको छ ।

वडा नं ९ मा स्वीस संस्थाले १५ वटा ब्लक, सिमेन्ट र ट्रसको घर बनाइदिने सहमति गरेको छ भने अक्सफाम नेपालले खानेपानी र सिंचाईको लागि सहयोग गर्ने भएको छ ।


नगद राहत प्याकेज सकिएपछि घरविहीनहरुलाई घरभित्र लैजाने योजना राखेको रोशी गाउँपालिकाले विपद घटनाबाट मनोसामाजिक समस्या भएका नागरिकहरुलाई सिएमसी र टिपिओमार्फत वडास्तरमा मनोसामाजिक परामर्श दिइरहेका छ ।

आन्तरिक आय घट्दा योजनाहरु प्रभावित

उपप्रमुख मिमबहादुर वाइबा(ज्वाला) का अनुसार २०८१ असार १० मा सम्पन्न १५ औं गाउँ अधिवेशनबाट स्वीकृत विनियोजन ऐनलाई शुक्रबारको विशेष अधिवेशनबाट संशोधन स्वीकृत भएको छ । संशोधित प्रस्ताव अनुसार आर्थिक वर्ष २०८१/८२ को लागि स्वीकृत ६९ करोड २० लाख ९८ हजार रुपैंया बजेटमा ३ करोड ४३ लाख घटाइएको छ । संशोधित बजेट ६५ करोड ७७ लाख ९८ हजार रुपैँया भएको छ ।

वाइबा भन्छन्, ‘दहत्तरबहत्तरलगायतका नदीजन्य स्रोतबाट संकलन हुने रकम बाढीपहिरोकै कारण नउठ्ने भएकाले । आन्तरिक आय घट्ने भयो । यसैले संशोधन गर्नुपर्ने भएको हो । चालु आर्थिक वर्षका २ सय ६६ वटा योजनाहरुलाई संशोधन गरेका छौं’, उनले थपे ।

आगामी एक वर्ष खाद्य सुरक्षामा असर

बाढीपहिरोले भित्र्याउन ठिक्क भएको र पाक्दै गरेको बालीनालीमा प्रत्यक्ष क्षति गरेको छ । यसबाट आगामी एक वर्षलाई प्रत्यक्ष रुपमा खाद्य सुरक्षामा असर हुने आँकलन गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तना भन्छन्, ‘हामीले चरणमा पहिलो राहत तथा उद्धार गर्‍यौं । दोस्रो चरणमा अस्थायी पुनर्वास सुरु गर्नु पर्नेछ । राहत र उद्धारमा १५ दिन भनेका थियौं । अब कम्तीमा ३ महिना अस्थायी आवाश निर्माणमा लाग्छ । यसबाट पनि ६ महिनादेखि १ वर्षसम्म खाद्य असुरक्षा हुन सक्ने देखिन्छ । रोशीका ६ हजार ५ सय घरधुरीमध्ये २ हजार ५ सयमा खाद्य असुरक्षा हुन्छ’, उनले जानकारी दिए ।

२ करोड ८० लाखको विपद व्यवस्थापन कोष स्थापना

विपद पूर्व तयारीका लागि १५ औं गाउँ अधिवेशनबाट ५० लाख रुपैंया विनियोजन भएकोमा यसलाई २ करोड ८० लाख पुर्‍याइएको छ । सो कोषमा गत आ.व.को बाँकी एक लाख ३५ हजार रुपैँया, गाउँसभाको पन्ध्रौं अधिवेशनवाट विनियोजित ५० लाख रुपैँया, विपदपश्चात तहगत सरकार, व्यक्ति संघसंस्थाहरुबाट प्राप्त १ करोड ४८ लाख ५७ हजार रुपैँया रहेको छ ।

यसैगरी गाउँ सभाको विशेष अधिवेशनबाट विनियोजित ५० लाख रुपैँया थप भएको छ । रोशी गाउँपालिका अन्तर्गत सेवारत कर्मचारी, जनप्रतिनिधि र शिक्षक कर्मचारीहरु लगायतबाट संकलित (सेवा सुविधाबाट कट्टी हुने) रकम ३० लाख ८ हजार (अनुमानित) रुपैँया गरी २ करोड ८० लाख रुपैँयाको विपद व्यवस्थापन कोष स्थापना गरिएको हो ।

रोशीलाई पूर्ववत् अवस्थामा फर्काउन धेरै चुनौती

अध्यक्ष लामा भन्छन्, ‘स्थानीय तह ‘फ्रन्ट गभर्मेन्ट’ भएकोले स्रोत साधनमा कमी हुँदाहुँदै पनि जनअपेक्षा पुरा गर्न तम्तयार भइरहनु पर्छ । सीमित स्रोत साधनबाट विपदको सामना गर्न धेरै कठिनाई महसुस भयो । अझैसम्म प्रदेश सरकारको ठोस कार्यक्रम आएको छैन । संघ सरकारको पनि राहत रकमबाहेक अन्य कुनै योजनामा गहन छलफल भएको छैन । तर, पनि सबैको साथ सहयोगले रोशीलाई पूर्ववत अवस्थामा फर्काउन दिनरात प्रयासरत छौं’, उनले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments