बिशेषतः महादेव मन्दिरमा सोमबार तथा शिवरात्रीमा पुजा अर्चना र जाग्राम बस्ने परम्परा पाइन्छ । तर, काभ्रेपलाञ्चोकको पनौती-११, बल्थली
को लड्केश्वर मन्दिर (रोशी र लड्कु खोलाको दोभान सन्निकट) मा हरिबोधनी एकादशीका दिन ठुलो मेला लाग्दै आएको छ ।
यसरी हरिबोधनी एकादशीकै दिनमा मेला लाग्दै आएको पुस्तौं भइसकेको छ । पछिल्लो समयमा विश्वकै अग्लो त्रिशुल रहेको स्थान र यसै स्थानमा कोटीहोम महायज्ञ सम्पन्न भएपछि यो तीर्थस्थलको महत्त्व झनै बढेको पाइन्छ । लड्केश्वर मन्दिर द्वापरकाल देखि नै रहेको भनाई छ ।
समुद्र सतहबाट १४५० मिटरको उचाईमा बिराजमान महादेव मन्दिर चुन ढुङ्गाको गुफा जस्तो स्थानमा रहेको छ । करीब डेढ फिटको जलहरीसहित तीनवटा शिवलिङ्ग भुइँमा रहेको छ, गोरुबाहन दक्षिणाभिमुख रहेका छन । जहाँ शिवजीको लिङ्गमा अहोरात्र माथि पहराबाट अभिषेक सहित जलधारा बहिरहेको देखिन्छ ।
जसमा गौमुख, गौमाताका थुनहरु, शिवजीको आकृतिलगायत भक्तले भगवानका स्वरुपमा देख्न सक्नुहुनेछ । यो मन्दिरको समीपमा पाप र धर्म गुफा, शिवजीले स्नान गर्नुभएको जल देख्न, स्पर्श गर्न र साक्षात्कार गर्न सकिन्छ । यो मन्दिरको वरपर थुप्रै गुफाहरु रहनुले पनि यो मन्दिर पौराणिक र पुरातात्त्विक भएको अनुमान गर्न सकिन्छ ।
यसको ज्वलन्त उदाहरणका रुपमा यस मन्दिरमा सोमबार, हरिबोधनी एकादशी र मकर सक्रान्तिका अवसर भगवान यहाँ बास गर्नुहुन्छ भन्ने बिश्वास समेत गरिएको पाइन्छ । पछिल्लो समय कालाग्नि रुद्ररूप
को दर्शन, आकाश गङ्गालगायतका अदभूत दर्शनले समेत भक्तहरु भगवानको लीलाबाट अहोभाब अनुभूत गरिरहेका भेटिन्छन ।
मल्लकालीन सभ्यतासँगै बिकसित भएको प्राचीन भक्तपुर शहरलगायत आसपासमा धर्म र संस्कृतिको संरक्षणको प्रयास भएको उदाहरणका रुपमा लड्केश्वर मन्दिरलाई लिन सकिन्छ ।
बिक्रम संवत् १७७६ (नेपाल संवत् ८३१) मकर संक्रान्तिका दिन तत्कालिन भक्तपुरका राजा भुपतिन्द्र मल्ल काभ्रेपलाञ्चोक जिल्लाको लड्कुको र रोशी खोलाको दोभानमा स्नान गरी लड्केश्वर महादेवको दर्शन, पुजा अर्चना गरेका र यस कार्य गर्दा लागेको खर्च विवरणसहितको बही नेपाल सरकार, राष्ट्रिय अभिलेखालय
मा प्रथम संख्या २१०९ बिषय संख्या २२५ मा रहेको छ ।
यसलाई नेपाल जर्मनी पाण्डुलिपि संरक्षण ए१२२१/४ मा मे ५, १९८७ का दिन माइक्रोफिल्म गरेको थियो । ३३ पत्र भएको १९.१८×८ सेन्टिमिटरको कागजमा नेपाल लिपिमा लेखिएको छ । यो सँगै यही माइक्रोफिल्ममा ने.स. ८३२ माघ कृष्ण दशमीमा भुपतिन्द्र मल्ल बल(बल्थली) भन्ने ठाउँमा नुहाउन गएको १८ पत्रको अलग्गै विवरण पनि छ ।
सो माइक्रोफिल्ममा राजा भुपतिन्द्र मल्ल हालको यज्ञ चौरमा दुइ रात बसेको ब्यहोरा पनि उल्लेख गरिएको छ । यसै गरी २०५१ साल पौष ३० गते शनिबारको कान्तिपुरको ४ पृष्ठमा राजाको स्वागतमा स्थानीयबासीले ल्याएको सौगातको हिसाब रहेको चेतनाथ शर्माले मकर संक्रान्ति र कृत्य निर्देशन शीर्षकको लेखमार्फत उल्लेख गर्नु भएबाट पनि लडकेश्वर महादेवको महिमा प्रष्ट हुन्छ ।
हरिबोधनी एकादशीको अघिल्लो रात बल्थली गाउँमा रहेको नारायण मन्दिरमा सत्यनारायणको पुजाआराधना सहित अखण्ड दीप प्रज्वलन गरी रातृमा जाग्राम बस्ने प्रचलन छ । यसका साथै ब्यक्तितगत रुपमा कतिपयले घर-घरमा मादि बाल्ने गर्दछन ।
हरिबोधनी एकादशीका दिन बत्ती सेलाएर स्नान गर्ने र भगवानको दर्शन गर्ने परम्परा छ भने दिनभर फलाहार मात्र गर्ने मान्यता रहँदै आएको छ । यस दिन विशेष गरी सक्खरखण्ड, पिँडालु आदि कन्दमुल र फलफूललाई ब्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्छन् ।
लेखक पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष एवं बल्थलीबासी धर्मानुगत हुन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित