काठमाडौँ महानगरपालिकाद्वारा कमलपोखरीमा छठ पर्वको तयारी

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा गरेको छ ।

पोखरीको चारैतिर पेटीमा बर्तालुलाई बस्ने र सूर्यलाई अघ्र्य दिन घाटलाई व्यवस्थित गरिएको हो । करिब पाँच सय बर्तालुलाई पूजाआजा गर्न कुपन वितरण गरिएको छ भने पूजा सामग्रीको सुरक्षाको समेत व्यवस्था गरिएको छ । पोखरी तथा त्यस आसपास क्षेत्रका फोहर व्यवस्थापन गरी झिलीमिली बत्तीहरु सजाइएको छ ।

काठमाडौँ महानगरपालिका–१ मा पर्ने उक्त पोखरीमा स्वचालित रूपमा पानीको फोहोराको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिका–१ को समन्वयमा गरिने पूजाआजाका कार्यक्रममा बर्तालुको भीड व्यवस्थापन साथै सहजीकरणका लागि ठूलो सङ्ख्यामा नगर प्रहरी खटाइएको छ ।

काठमाडौँ महानगरपालिका–१ का वडासदस्य रोशन श्रेष्ठले छठ पर्वको मौलिकता एवं महत्त्वलाई संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न पोखरीलाई व्यवस्थित गरिएको जानकारी दिनुभयो ।

भजनकीर्तन तथा धार्मिक गतिविधिको प्रबन्ध गरिएको समारोहस्थलमा सामान्य दर्शन तथा घुमघामका लागि करिब एक लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।

उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत विभिन्न दलका नेतागण, महानगर प्रमुख अति विशिष्ट व्यक्तित्वलाई पूजामा सहभागिताका लागि यही कात्तिक २२ गते साँझ निमन्त्रणा गरिएको छ ।

स्थानीय सङ्घ संस्थाको समन्वय तथा हिमालयन अस्पतालको सहकार्यमा स्वास्थ्य परीक्षणका शिविरसमेत सञ्चालनको व्यवस्था गरिएको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठीका दिन बर्तालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिने उक्त पर्वमा सप्तमीको बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रत समापन गरिन्छ । समापनपछि प्रसाद वितरणसमेत गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments