काठमाडौं उपत्यकाबाट नजिक अवस्थित मुलुकको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटसम्म पुग्ने सडकको दूरावस्थाका कारण ‘नगरकोट भ्रमण वर्ष २०८२’ प्रभावित हुनेमा चिन्ता व्यक्त गर्दै चाँगुनारायण नगरपालिका
का जनप्रतिनिधिले समाजका सबै वर्गको सक्रिय सहयोग रहनुपर्नेमा जोड दिएका छन् ।
जनप्रतिनिधिको पहिलो बैठकले विसं २०८२ मा नगरकोट भ्रमण वर्ष मनाउने निर्णय गरेको छ । तर त्यहाँसम्म पुग्ने सडक राम्रो नहुँदा भ्रमण वर्ष प्रभावित हुनेमा आफूहरु चिन्तित रहेको नगर प्रमुख जीवन खत्रीले बताउनुभयो ।
“निर्वाचित भएपछिको पहिलो बैठकबाट नगरकोट भ्रमण वर्ष २०८२ भव्यताका साथ मनाउने निर्णय गरिएको थियो”, राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको ‘चाँगुको विकास निर्माण र सम्भावना’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो, “भ्रमण वर्षको तयारी तीव्र पारिएको छ, तर नगरकोटसम्म पुग्ने सडकको अवस्थाका कारण प्रभावित हुने हो कि भन्ने चिन्ता पनि छ ।”
भक्तपुरको कमलबिनायकस्थित भत्केकोपाटीदेखि नगरकोट
सम्मको करिब १५ किलोमिटर सडकको अधिकांश क्षेत्रमा खाल्डाखुल्डी छन् । बर्खामा उक्त सडक हिलो तथा हिउँदमा धुलाम्मे रहँदै आएको छ । उक्त सडकखण्ड चाँगुनारायण नगरपालिकाको वडा नं ५, ६, ७ र ८ मा पर्छ ।
भ्रमण वर्ष लक्षित गरेर धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको मर्मतसम्भार, स्तरोन्नतिका लागि योजना बनाइरहेको नगर प्रमुख खत्रीको भनाइ छ । तर, सङ्घीय सरकारको कार्यक्षेत्र अन्तर्गतको नगरकोट–कमलविनायक सडकखण्ड समयमै मर्मत नहुँदा पर्यटक आगमनमा असहजता हुनसक्ने उहाँको भनाइ छ ।
आर्थिक वर्ष २०७०/७१ मा उक्त सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । स्थानीयले सङ्घर्ष समिति गठन गरेरै उक्त सडक छिटो निर्माण गर्न ठेकेदार तथा सरकारलाई बारम्बार दबाब दिँदै आए पनि अझै सम्पन्न हुन सकेको छैन ।
नगरप्रमुख खत्रीले यसवर्षको दसैँतिहारमा सडक निर्माण सम्पन्न हुने भनिए पनि त्यसो नभएको बताउनुभयो । “दसैँमा सम्पन्न गर्ने भनिएको थियो, तर तिहार सकिन लागि सक्यो, सडक बन्ने छाँटकाँट छैन”, उहाँले भन्नुभयो ।
समयमै सडक स्तरोन्नति नहुँदा अनावश्यक सास्ती व्यहोरेपछि चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षणसमेत गराएका छन् ।
केही दिनअघि नगरप्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भेट गरी उक्त सडकको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीबाट सो सडक निर्माण सम्पन्न गर्न सहयोग गर्ने आश्वासन पाएको भेटमा सहभागी चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी बताउनुहुन्छ ।
उक्त सडकका कारण पर्यटक र नगरवासीले सास्ती खेप्नु परेको जनाउँदै उहाँले सङ्घीय सरकारले नसक्ने भए आफूहरुलाई निर्माणको जिम्मा दिन उहाँको आग्रह छ । “सङ्घीय सरकारले ठेक्का रद्द गर्दियोस्, हामी नगरको बजेटबाट सडकको स्तरोन्नति सम्पन्न गर्छौं”, उहाँले भन्नुभयो ।
चाँगुनारायण नगरपालिका–६ का अध्यक्ष धनबहादुर लामाले पर्यटकीय आकर्षणको केन्द्र नगरकोट पुग्ने सडकको दूरावस्था कारण पर्यटकको आगमनमा कमी आएको बताउनुहुन्छ । भूकम्पका कारण थलिएको अर्थतन्त्र र त्यसपछिको कोरोना महामारीका कारणले भएको आर्थिक मन्दिका कारण पनि नगरकोटमा पर्यटक घट्दै गएका अवस्थामा सडकका कारण पर्यटन व्यवसाय झन् प्रभावित बनेको उहाँको भनाइ छ ।
वडाध्यक्ष लामाले नगरकोटलाई सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्ने ठाउँका रुपमा मात्र नहेरी ऐतिहासिक र धार्मिक महत्वको स्थानका रुपमा ‘रि–ब्राण्डिङ’ गर्न आवश्यक रहेको बताउनुभयो । तामाङ समुदायको बाहुल्यता रहेको यस वडामा पर्यटकीय क्षेत्र नगरकोट पर्छ ।
चाँगुनारायण–७ का अध्यक्ष श्याम नायजु श्रेष्ठले पछिल्लो समय धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण, फल्चा निर्माण, मन्दिर पुनःनिर्माण लगायतका कार्य समेत गरिएको जानकारी दिनुभयो । वडा नं २ अध्यक्ष सोम प्रधान वडाबासीलाई घर–घरमै स्वास्थ्य सेवा दिनका लागि ‘वडाध्यक्ष जनता स्वास्थ्य कार्यक्रम’ लागू गराउने क्रममा आफूहरु रहेको बताउनुहुन्छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित