स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाउनुभएको छ ।
आज समितिको वार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले समितिलाई तत्काल उत्पादन वृद्धि गर्न सुझाव दिँदै औषधि बिक्रीका लागि व्यवस्थित वातावरण बनाउन मन्त्रालय तयार रहेको बताउनुभयो । देशभरका सबै स्थानीय तहमा स्वदेशी आयुर्वेद औषधि बिक्री वितरणको व्यवस्थापन मिलाई विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न सकिने उहाँको धारणा थियो ।
“वैद्यखानाले आत्मनिर्भर मात्र नभई निर्यात गर्नसक्ने गरी क्षमता बढाउनुपर्छ । उत्पादन वृद्धि भयो भने आयात बन्द गर्ने काम हामी गर्छौं”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले समितिले आफैँ उत्पादन वृद्धि गरेर कमाउनुको विकल्प नभएको भन्दै आफ्नै आम्दानीको सुनिश्चितता भएमा समितिको आर्थिक स्थिति सहज हुँदै जाने उललेख गर्नुभयो ।
“समितिले उत्पादन बढाउँदै आर्थिक स्तार सुधारको पहल गरेमा सरकारले औषधि बिक्रीमा समन्वय र सहयोग गर्नेछ । यसबाट समितिको काम निरन्तर हुनुका साथै कर्मचारीलाई सेवासुविधा उपलब्ध गराउन पनि सरकारलाई सहज हुनेछ । सधैँ नोक्सानमा सञ्चालित संस्थालाई निरन्तरता दिन सरकारलाई पनि सहज नहुने भएकाले सबैको साथ र सहयोगीबाट समस्या समाधान गर्दै जानुको विकल्प छैन”, मन्त्री पौडेलले भन्नुभयो ।
मन्त्री पौडेलले मौलिकता, संस्कृति र पहिचानका लागि वैद्यखानाको विशेष महत्व रहेको उल्लेख गर्नुभयो । “वैद्यखाना नेपालको मौलिक विधिबाट सञ्चालित संस्था हो । यसमा हाम्रो मौलिकतासँगै आध्यात्मा र इतिहास जोडिएको छ । यो हाम्रो संस्कृति र परम्परा पनि हो । अहिले समितिको उत्पादन घट्दो छ, यो पनि बन्द हुने स्थिति भयो भने हाम्रो मौलिकता समाप्त हुन्छ”, उहाँले भन्नुभयो । मौलिकता र संस्कृति जर्गेना गर्न पनि उत्पादन वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा अर्थसमितिका सभापति सन्तोष चालिसेले वैद्यखानाको विकासका लागि आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्वगृहराज्यमन्त्री एवं नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले समितिबाट उत्पादन वृद्धि गर्न सरकारले वातावरण मिलाएमा आफूहरुले विदेशमा समेत निर्यात गर्नेगरी उत्पादन वृद्धि गर्दै जाने बताउनुभयो । उहाँले विदेश निर्यातका लागि बजार व्यवस्थापनका लागि सहयोग गर्न मन्त्रीसमक्ष प्रस्ताव राख्नुभयो ।
मन्त्रालयका सचिव डा रोशन पोखरेलले वैद्यखानाले आफ्नो कार्यक्षमताको समीक्षा गर्दै अघि बढ्न चाहेमा मन्त्रालय सकारात्मक रहेको जानकारी दिनुभयो । नेपाल आयुर्वेद चिकित्सा सङ्घ
का अध्यक्ष डा श्यामबाबु यादवले वैद्यखानामा दरबन्दी थप्न र कर्मचारीको वृद्धि विकासमा ध्यान दिन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
सिंहदरबार वैद्यखाना विकास समिति
का अध्यक्ष प्रा डा ठाकुरप्रसाद दुवाडीले वर्षिकोत्सवको शुभकामना आदानप्रदान गर्दै आर्थिक रुपले समितिलाई सशक्त बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
कार्यक्रममा चन्द्र निघण्टुको १०औँ भाग मन्त्री पौडेललगायत विशिष्ट अतिथिहरुद्वारा विमोचन गरिएको थियो । राजा प्रताप मल्लको पालामा हनुमानढोकामा स्थापना भएको वैद्यखाना त्यसपछि थापाथली दरबार हुँदै सिंहदरबारमा स्थानान्तरण भएर २०५२ सालदेखि विकास समितिअन्र्तगत सञ्चालित हुँदै आएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित