मानवसेवा आश्रममा रहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि पठाइयो

मानवसेवा आश्रममा आश्रय लिदै आइरहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि भारत पठाइएको छ ।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका एएसओ मनोज मिश्र, मानवसेवा आश्रमका सचिव समुन बर्तौला, मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक हरि गौतम, सहसंयोजक प्रकाश थारुलगायतले बिदाइ गर्नुभएको थियो ।

मानवसेवा आश्रम वीरगञ्जमा एक कार्यक्रम गरी २७ जना भारतीय नागरिकलाई रेलमार्फत आआफ्नो घरमा पुनःमिलनको लागि पठाइएको हो ।

मानवसेवा आश्रमका सचिव बर्तौलाले विभिन्न सेवाकेन्द्रमा रहेका २७ जना भारतीय नागरिकलाई पारिवारिक पुनःमिलनका लागि पठाइएको जानकारी दिनुभयो । “भारतका आधा दर्जनभन्दा धेरै राज्य तथा प्रदेशका भारतीय नागरिकलाई स्वदेश फर्काउन लागेका हौँ”, उहाँले भन्नुभयो, “पारिवारिक पुनर्मिलन गराउन लागेकामध्ये २१ जना पुरुष र छ जना महिला छन् ।”

पारिवारिक पुनःमिलनका लागि पठाइएका भारतीय नागरिकको स्थायी ठेगाना भने विहार, उत्तरप्रदेश, आन्द्रप्रदेश, उडिसा, महाराष्ट्र, तेलगंना रहेको छ ।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका एएसओ मिश्रले मानवसेवा आश्रमले भारतीय नागरिकलाई आआफ्नो घरमा पुनर्मिलन गराउन लागेको कार्य निकै सराहनीय रहेको बताउनुभयो । “भारतीय नागरिकको उद्धार गरेर पारिवारिक मिलन गराउन लागेकामा मानवसेवा आश्रमलाई धन्यवाद व्यक्त गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक गौतमले भारतीय दूतावासबाट सडकमा आश्रित भारतीय नागरिकको लागि आवश्यक सहयोग र साथको आवश्यकता रहेको बताउनुभयो ।

“सडकमा आश्रित नेपाली नागरिकको लागि त हामीले काम गरिरहेका छौँ, भारतीय नागरिकका लागि दूतावासबाट आवश्यक व्यवस्थापनको काम भइदिए सहज हुने थियो”, उहाँको भनाइ थियो ।

मानव सेवा आश्रमले हालसम्म एक हजारभन्दा धेरै भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलन गराइसकेको त्यस अवसरमा जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments