चालु आर्थिक वर्षमा बीमाका लागि २ अर्ब ६ करोड बजेट । गत वर्ष १ अर्ब ७३ करोड बीमाको भुक्तानीका लागि दावी
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ गर्नुभएको छ ।
मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा ललितपुरका गाईपालक कृषक गोविन्द घिमिरेलाई पहिलो बीमालेख जारी गरी बीमाको रियल टाइम सफ्टवेयरको शुभारम्भ गर्नुभएको हो ।
मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सहयोगमा बीमाको रियल टाइम सफ्टवेयरको सुरुआत गरेको हो । पशुधनबाट यसको सुरुआत गरिएको छ ।
बीमाको रियल टाइम सफ्टवेयरको शुभारम्भ गर्नुहुँदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा बीमाका लागि रु दुई अर्ब छ करोड बजेट रहेको उल्लेख गर्नुहुँदै बीमाको माग बढी भएमा मन्त्रालयको अन्य शीर्षकको बजेटबाट पनि व्यवस्थापन गरिने प्रतिबद्धता जनाउनुभयो । बीमा गर्न चाहने सबै किसानलाई यसमा आबद्ध हुन पनि उहाँले आह्वान गर्नुभएको छ ।
आफूले कार्यभार सम्हालेको सय दिनमा भएका उपलब्धिका बारेमा जानकारी गराउनुहुँदै मन्त्री अधिकारीले दूध किसानले जेठ मसान्तसम्मको दूधको भुक्तानी पाएको जानकारी दिनुभयो ।
बाँकी चार महिनाको भुक्तानी पनि छिटो दिने गरी पहल भइरहेको उहाँले सुनाउनुभयो । रासायनिक मलको समस्या कम गर्न सफल भएको, उखु किसानको भुक्तानी गरिएको जस्ता उपलब्धि यस अवधिमा मन्त्रालयले हासिल गरेको छ ।
कृषि अनुदान सार्वजनिक गरिने सरकारबाट किसानले पाएको अनुदानको विवरण सार्वजनिक गर्न पनि मन्त्रालय लागिपरेको उहाँले कार्यक्रममा जानकारी गराउनुभयो । यसका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ । यो समितिले किसानलाई दिएको अनुदानको अध्ययन गरेर पुस्तिका बनाई सार्वजनिक गर्ने तयारी गरिरहेको मन्त्री अधिकारीले बताउनुभयो ।
यसअघि प्रतिबद्धता गरिएको समयमा कृषि अनुदानको विवरण सार्वजनिक गर्न नसकिएको स्वीकार गर्नुहुँदै उहाँले यसबाट पछि हट्ने पक्षमा मन्त्रालय नरहेको मन्त्री अधिकारीको भनाइ थियो ।
आफू मन्त्री भएपछि नै बीउविजन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत गराएको उल्लेख गर्नुहुँदै उहाँले नफल्ने बीउविजनको बिक्री वितरण गर्नेलाई अब कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
आफ्नो खेत अधियामा दिएपछि खेत कमाउनेले ल्याएर रोपेको बीउमा बाला नलागेको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यस्तो बीउविजन बिक्री वितरण गर्नेलाई कारबाही गरिने बताउनुभयो ।
थाक्रे गाउँपालिकाले वितरण गरेको मकैको बीउबाट मकै नफलेकाले यस्तो बीउबिजन बिक्री गर्नेले अबै कारबाहीबाट बच्न नसक्ने उहाँको प्रतिबद्धता थियो ।
बाँदरबाट किसानले पाएको दुःखको समस्या समाधान गर्न कृषि र वन मन्त्रालयका कर्मचारीलाई तालिम विदेश पठाइएको उल्लेख गर्दै मन्त्री अधिकारीले बाँदरबाट कृषि क्षेत्रमा परेको प्रभाव अन्त्य गर्न पनि मन्त्रालय लागिपरेको जानकारी गराउनुभयो ।
मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले बीमाप्रति विश्वास बढेकाले डिजीटल प्रविधिबाट पनि आवेदन गर्न सकिने गरी आजदेखि शुभारम्भ गरिएको बताउनुभयो ।
गत वर्ष रु एक अर्ब ७३ करोड बीमाको भुक्तानीका लागि दावी भएको उहाँले सुनाउनुभयो ।
प्राधिकरणका निर्देशक निर्मल अधिकारीले कृषि बीमाका लागि सक्दो सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित