नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई रचनात्मक सुझाव दिएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न जय नेपाल फाउण्डेसनलाई आग्रह गरेका छन् ।
गणतन्त्र संस्थागत गर्न जय नेपाल फाउण्डेसन जस्ता संस्थाहरुको भूमिका महत्वपूर्ण रहने बताउँदै सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बुधवार जय नेपाल फाउण्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले उक्त आग्रह गरेका हुन् ।
जय नेपाल फाउण्डेसनले चेतनाको वाहक बन्दै लोकतान्त्रिक विधि र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जन अधिकारको रक्षाका निम्ति सशक्त आवाज उठाउन उल्लेख्य भुमिका निर्वाह गर्ने विश्वास समेत सभापति देउवाले व्यक्त गरे ।
नेपालमा मात्र नभइ विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकतावद्ध गर्दै जय नेपाल अन्तराष्ट्रिय फाउण्डेसन समेत स्थापना भएकोमा देउवाले खुसी समेत व्यक्त गरे। उक्त अवसरमा सभापति देउवाले नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए।
स्मारिका सार्वजनिक कार्यक्रममा फाउण्डेसनका अध्यक्ष बद्री अर्यालले संस्थाका गतिविधि, उद्धेश्य र अभियानबारे सभापति देउवालाई जानकारी गराएका थिए ।
जय नेपाल सन्देशका प्रधान सम्पादक प्रा.डा. धनेश्वर नेपाल र फाउण्डेसनका संस्थापक सदस्य सचिव एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख विजयराज अधिकारीले स्मारिकामा समेटिएका बिषयवस्तु र बिचारहरुबारे सभापति देउवालाई संक्षिप्त जानकारी गराएका थिए ।
स्मारिका सार्वजनिक कार्यक्रममा जय नेपाल फाउण्डेसनका संस्थापक सदस्यहरु योगेन्द्र राई, राम बहादुर रोकाय, प्रकाश रावल र शान्ता तामाङ लगायतको सहभागिता थियो ।
जय नेपाल फाउण्डेसन नेपालभित्र रहेका तथा विश्वभर छरिएका नेपाली युवावीच सहकार्य, सहयोग र सद्भाव वढाउने उद्धेश्यले स्थापना भएको गैरनाफामुलक संस्था रहेको आयोजकले जनाएका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित