पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले गत साता जिल्लाका विभिन्न स्थानमा आएको बाढीका कारण सात वटा पुल पूर्ण रूपमा क्षति भएको र ४८ वटा पक्की पुलमा क्षति पुगेको जनाएको छ।
‘बाढीले काभ्रेपलाञ्चोकमा रहेका ४८ वटा पक्की पुलमा क्षति पुर्याएको मध्ये सात वटा पुल पूर्ण रूपमा क्षति भएको छ’ पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर राजु श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार पूर्ण क्षति भएका पुलमध्ये तीन वटा पुल पूरै बगाएको र चार वटा पुलको आधा भागमा क्षति पुगेको छ। बाढीबाट नमोबुद्ध नगरपालिका-६ स्थित रोसीखोला पक्की पुल, सस्पेन्सन पुल कटुन्जे, पनौती नगरपालिका-४ स्थित बाँसडोल पुल र पनौती नगरपालिका-१२ जोरघट्टस्थित रोसीखोला पुल पूर्ण रूपमा क्षति भएको छ।
यसै गरी बाढीले पनौती नगरपालिका-१०, खोपासी जलिवद्युत केन्द्रस्थित सलान्दु खोला पुल, पनौती नगरपालिका-१२ स्थित रोसीखोला पुल र मल्पाी कलाँती जाने रोसीखोला पुलमा थप क्षतिसहित पुल हल्लिएर यातायात चालु हुन नसक्ने अवस्थामा रहेकाले यी पुल पनि पूर्ण क्षतिमा समावेश भएको सिडिई श्रेष्ठले बताउनुभयो ।
त्यसै गरी बाढीका कारण पनौती नगरपालिका-४ स्थित पनौती बाँस्डोल पुल (बनेपा सिमाना) रोसी गाउँपालिका-३ स्थित रोसीखोला पुल फलामेसाँघु, तेमाल गाउँपालिका-८ स्थित सुनकोशी नदी पुल खोलाले दिशा परिवर्तन गरी पुलको विङ्ग वाल, टेवा पर्खाल, एप्रोच, रिभर ट्रेनिङसमेत बगाएको साथै मर्मत सम्भारपछि यातायात सञ्चालन हुन सक्ने अवस्थामा रहेको बताउनुभयो।
उहाँले बाढीपहिरोका कारण ३८ वटा पुलमा सामान्य क्षति भएको बताउँदै उक्त पुलमा अहिले यातायात सञ्चालन भइरहे पनि मर्मतसम्भार गर्न आवश्यक रहेको बताउनुभयो ।
बाढीबाट पूर्ण र आंशिक रूपमा क्षति भएका पुल साबिकको जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत निर्माण भएका पुराना पुल हुन् भने सुनकोशी नदीको पुल स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को सहयोगमा निर्माण भएका हुन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित