जिल्ला प्रहरी कार्यालय दाङले अवैध लागू औषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख (एसपी) अर्जुनकुमार तिमल्सिनाका अनुसार मंगलबार अपराह्न घोराही उपमहानगरपालिका–१८ मसिनामा प्रहरीले ठूलो मात्रामा लागुऔषध अफिम र चरेशसहित ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले असोज २२ गते दिउँसो गोप्य सूचनाको आधारमा बाटोमा हिँडिरहेका सुविन्द्र पुन र चेतन बुढालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा अफिम बरामद भएको थियो ।
सोधपुछका क्रममा अफिम रुकुम पूर्वका बिनी पुनबाट खरिद गरेको खुल्न आएपछि प्रहरीले बिनी पुनको डेरामा छापा मारी थप चरेश र अफिम बरामद गरेको जानकारी दिएको छ । प्रहरीले ४२ वर्षीय बिनी पुनलाई समेत पक्रेको छ ।
प्रहरीले उनीहरूको साथबाट ३८ किलो ९७२ ग्राम चरेश र ११ किलो १८० ग्राम अफिमसहित लागू औषध तौल गर्ने डिजिटल तराजु, प्याकिङ गर्न प्रयोग गर्ने बिभिन्न साईजको प्लाष्टिक र प्याकिङमा प्रयोग गरिने पहेलो र खैरो रङको टेप समेत बरामद गरेको छ । पक्राउ परेकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित