बेथानचोक गाउँपालिका–४ पाटीखर्क निवासी सरस्वती लामाको चार कोठे पक्की घर शुक्रबार राती सलान्दु खोलामा आएको बाढीले सबै क्षति पुर्यायो । चार कोठे घर खोलाले क्षति गरेपनि उहाँको परिवारमा कुनै मानवीय क्षति भने भएन् ।
“सलान्दु खेला आएर हाम्रो घर पु¥यो, अलिअलि होला भनेर हतपत्त माटो, ढुङ्गाहरु पन्छाउन लाग्यौ, झनझन ठुलो बाढी आयो, अब खोला बढ्यो पन्छाउन सकिन्न भनेर घर छोडेर माथितिर भाग्यौँ” सरस्वतीले भन्नुभयो । उहाँले शुक्रबार राती घर छोडेर पाखातिर गएको हुनाले ज्यान जोगिएको बताउनुभयो ।
“खोला बढेपछि माथितिर भागेर ज्यान जोगायौँ, बिहान आएर हेर्दा त चार कोठाको घरको तीन वटा लगेर एउटा कोठा अलिअलि बाँकी रहेछ, बाढीले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा सबै लग्यो” सरस्वतीले थप्नुभयो । शुक्रबार राती आएको बाढीमा भागेर ज्यान जोगाउने सरस्वतीको परिवार भागेर ज्यान जोगाउन सफल एउटा उदाहरण मात्रै हुन् ।
घरमुनिको सलान्दु खोलामा आएको बाढी र घरमाथि बारीबाट पहिरो आएपछि स्थानीय लिलाबहादुर लामाले पनि भागेर आफ्नो परिवारलाई जोगाउन सफल हुनु भएको छ ।
“निरन्तर वर्षा भईरहेको थियो, रातको पौने १२ बजेको थियो, घरमुनीको सलान्दु खोला वारपार भएर कटान गर्दैथ्यो, वर्षाले घरमाथिबाट पहिरो आईरहेको थियो, बृद्ध बाआमा, अपाङ्ग छोरीलाई कसरी जोगाउने भन्ने लागेर पुल तरेर पारीपटि जाने वित्तिकै हामी तरेको पुल सुमेत बगायो, हामी गाउँका दाजुभाइ बसेको स्थानमा गएर ज्यान बचायौँ” लिलाबहादुरले भन्नुभयो ।
घरमाथिबाट आएको पहिरोले तयारी अवस्थामा रहेका परम्परागत डम्फु, खैँजडी, ढ्याङ्ग्रोलगायतको परम्परागत सांस्कृतिक सामग्री, ती सामग्री बनाउन प्रयोग हुने मेसिन, कच्चा सामाग्री क्षति भएको छ भने घरको दुई वटा सटर र घरको पछाडिपट्टीको भाग पुरिएको छ । उहाँले पहिरोका कारण करिब आठ लाख रुपैंयाको क्षति व्यहोर्नु परेको बताउनुभयो ।
स्थानीय सुरेन्द्र वाइवाले शुक्रबार राती करिब १२ बजे घरमाथिबाट आएको पहिरोमा भागेर ज्यान जोगाउन सफल भएको बताउनुहुन्छ ।
“राती टिप्परका चालकहरुलाई खाना खुवाउँदै थे, माथिबाट पहिरो आई गोठमा क्षति गरेछ, माथि गएर गोठमा जाने पानी रोक्नका लागि कुलो काट्दै थिए, माथिबाट ठुलो पहिरो आइ गोठ पुर्यो, दौडेर आइ अशक्त बुबा, आमा, श्रीमती र छोराछोरीलाई लिएर माथि छिमेकीकोमा गएर ज्यान जोगायौँ” सुरेन्द्रले भन्नुभयो ।
उहाँले पहिरोले गोठमा रहेका चार वटा भैँसी, दुई वटा खसी, दुई वटा माउ बाख्रा र १५ वटा कुखुरा लग्यो, बसोबास गरेको घरमा लेदो पसेर क्षति गर्यो भने जस्ताको टहरामा सञ्चालन गरेको होटलमा रहेको सबै सामान पुरेर क्षति गरेको बताउनुभयो ।
स्थानीय कृष्णकुमार लामा पनि घरमाथिबाट लेदोसहितको पहिरो आएर भान्छामा क्षति पुर्याएपछि अब बस्यो भने मरिन्छ भनेर भागेर ज्यान जोगाएको बताउनुहुन्छ ।
“पहिरोसँगै लेदो र पानी आयो, पानी कटाउँछु भनेर कुलेसो काट्दै थे, पल्लो घरबाट दाइले माथिबाट पहिरो आइ घर पुरिसक्यो भनेर भागौँ भन्नुभयो, हामी सपरिवार भागेर पारीपट्टी पुगेका मात्रै थियौँ, पुल बगायौँ, एकछिन मात्रै ढिला भएको थियो भने सबै मर्ने रहेछौँ, भागेर ज्यान जोगियो” कृष्णकुमारले थप्नुभयो ।
शुक्रबार सलान्दु खोलामा आएको बाढीले बेथानचोक गाउँपालिका–४ मा धेरै ठुलो जनधनको क्षति पु¥याएको छ । सालन्दु खोला आसपासमा बसोबास गर्ने थुप्रै घरपरिवार घरवारविहिन बनेका छन् । बाढीका कारण स्थानीयबासीसँग बस्नको लागि बास, खानको लागि खाद्यान्न, पानी, लत्ताकपडाको समस्या देखिएको छ ।
बाढीले विस्थापित गराएपछि स्थानीय पिडितहरु बासका लागि पनौती र खोपासीमा कोठा खोजेर र कतिपय स्थानीयबासी आफन्तको घरमा शरण लिएर बसेका छन् । बाढी,पहिरोबाट आफ्नो क्षेत्रमा थुप्रै क्षति भएपनि कुनैपनि निकायले नहेरेको उनीहरुको गुनासो रहेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित