श्रमदानबाट बन्यो ‘कल्भर्ट’

दाङ – यसअघिको वर्षात्ले तुलसीपुर उपमहानगरपालिका–४ स्थित सिर्सेखोलामा बनाइएको कल्भर्ट बगायो । कल्भर्ट बगाउँदा आवतजावतमा निकै समस्या भयो । त्यही बाटो विद्यार्थी हिँड्नुपर्ने हुँदा विद्यार्थीलाई निकै जोखिम थियो ।

त्यसैलाई मध्यनजर गरी सोही ठाउँमा श्रमदान गरेर स्थानीयले कल्भर्ट निर्माण गरेका छन् । पटक–पटक ह्युमपाइप बगाउने हुँदा त्यसलाई अड्याउनका लागि ग्याविन जाली हालिएको वडाध्यक्ष तुलसी थापाले बताए । “पटक–पटक हामीले त्यहाँ ह्युमपाइप राख्छौँ, तर अलिकति ठूलो खोला आउँदा बगाइदिने भएकाले यसपटक ग्याविन जाली हालेका छौँ”, उनले भने ।

वडाध्यक्ष थापाले सबैलाई श्रमदान गर्न आह्वान गरेपछि श्रमदान गरेर उक्त ह्युमपाइप अड्याउन ग्याविन जाली निर्माण गरिएको हो । त्यहीँ खोला हुँदै दीपेन्द्र आधारभूत विद्यालय घोरानेटीमा विद्यार्थी पढ्न जाने गर्छन् । स–साना विद्यार्थीलाई निकै जोखिम हुने भएकाले विद्यालयका शिक्षकले पनि श्रमदान गरेको वडाध्यक्ष थापाले बताए । त्यहाँ कलभर्ट राखेपछि आवतजावतमा सहज भएको छ । विद्यार्थी पनि सहजै आउन सक्ने भएको वडाध्यक्ष थापाको भनाइ छ ।

विकासका लागि मुख ताक्नेभन्दा पनि एकताबद्ध भएर समस्याको समाधान गर्नतर्फ स्थानीय पनि जागरुक हुनुपर्ने वडाध्यक्ष थापाको भनाइ छ । “विकासका लागि सरकारकै मुख ताक्नुपर्छ भन्ने छैन”, उनले भने , “केही–केही कुरा त स्थानीयको एकता भएमा आफैँ पनि गर्न सकिन्छ भन्ने उदाहरण दिन यो कार्य गरिएको हो ।” जनताको एकता पनि विकासको आधार रहेको अध्यक्ष थापा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments