काभ्रे – हरेक वर्षझैैं, यस वर्ष पनि कृष्ण जन्माष्टमीको अवसरमा काभ्रेको प्राचिन सहर बनेपामा हजारौं कन्याहरु पुजिएका छन् । कृष्ण जन्माष्टमीको दिनमा वर्षौअघिदेखि बनेपामा सनातन कन्या पुजा प्रबन्ध समितिमार्फत कन्याको पूजा गर्दै आएको छ ।
सोमबार, बनेपामा कन्या पुजा प्रबन्ध समितिले आयोजना गरेको कन्या पूजामा करिब ७५ सय कन्या पुजिएको समितिका सचिव सुरकृष्ण वैद्यले बताए ।
उनका अनुसार, कन्याको पूजाका साथै उनीहरुलाई प्रसाद स्वरुप समितिले स्वारी र पुरी प्रदान गर्दछ भने अन्य व्यक्तिहरुले पैसा, छोकडा, काजु, चकलेट, बिस्कुट, चाउचाउ, फ्रुटी लगायतका खानेकुरा दिएर कन्याहरुको पूजा गर्ने प्रचनल रही आएको छ ।
बनेपमा हुने कन्या–पूजामा प्रति कन्या करिब ४ सय रुपैंया बराबरका सामाग्रीहरु उपलब्ध गराइएको समितिका सचिव वैद्यले बताए । उनका अनुसार, दाताको सहयोगबाहेक अन्य खर्च समितिका पदाधिकारीले नै व्यहोर्दै आएको छ ।
कन्याहरुको पूजा गर्दा उनीहरुमा सुख, शान्ति, समृद्धिका साथै निरोगी हुने जनविश्वासका साथै पूजा गर्ने व्यक्तिलाई समेत राम्रो हुने विश्वासले हरेक वर्ष कन्याको पूजा गर्ने प्रचलन रहेको उनले जानकारी दिए । बनेपामा कन्या पूजा गरिदै“ आएको १२२ वर्षे पुरानो इतिहास रही आएकोमा कोरोना सङ्क्रमणका कारण २०७७ र २०७८ सालमा दुई वर्ष कन्या पूजा रोकिएको समितिका सचिव बैद्यले बताए ।
उनका अनुसार, वि.सं. १९५९ देखि बनेपाका रजस्वला नभएका कन्याको पूजा गरिदैं आएको थियो । रजास्वला नभएका कन्याको पूजा गर्नाले सुख, शान्ति, समृद्धि छाउने जनविश्वास रही आएको छ ।
एक किंवदन्ती अनुसार, कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख पाएपछि आफ्नो घरको बुइँगलमा राखेर आफ्ना घरका रजस्वला नभएका कन्यालाई पूजा गरेपछि उनलाई सुख शान्ति मिलेको थियो ।
सोही समयदेखि प्रचलनस्वरुप नेवार समुदायले रजस्वला नभएका कन्याहरुको पूजा गर्दै आएको इतिहास रहि आएको छ । पहिले नेवार समुदायका कन्यालाई पूजिँदै आएपनि पछिल्लो समय भने सबै जातजातिका कन्यालाई समेत पूजामा सामेल गराइएको छ ।
बनेपाका कन्याहरुलाई चण्डेश्वरीको सन्तानको रुपमा मान्ने भएकाले कन्याहरुको पूजा गर्ने प्रचलन बसेको हो । सुरुमा बनेपाका नेवार समुदायका कन्याहरु पुजिने प्रचलन रहे पनि पछिल्लो समय बनेपाका साथै अन्य स्थान र जिल्लाका कन्यासमेत पुजिँदै आएको छ ।
बनेपाको भोलाखा टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या पूजा सुरु हुने गर्दछ । भोलाखा टोलबाट सुरु भएको पूजा चारदोबाटो हुदैं लायकु दरबारसम्म पुग्ने गर्दछ । बनेपाको भित्रीबजारदेखि चारदोबाटोसम्मको दायाँबायाँ सडकमा राखेर कन्याहरु पुजिने प्रचलन रहेको छ । बनेपाका नेवार समुदायले विभिन्नका झाँकी र बाजामार्फत कन्याहरुको स्वागत एवं सम्मान गर्ने गर्छन् ।
कृष्ण जन्माष्टमीको अवसरमा सोमबार बनेपाको साथ–साथै काभ्रेको बनेपाको बुडोल, भैंसेपाटी, धनेश्वर, धुलिखेल, दाप्चा, साँगा र खड्पु, पनौती लगायतका स्थानहरु पनि कन्याको पूजा गरिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित